भद्रपुर । झापामा ६ सय ७० वटा सवारी दुर्घटना भएका छन् । चालु आर्थिक वर्ष २०७९/०८० को दशमहिनामा विभिन्न स्थानमा भएका सवारी दुर्घटनापछि प्रहरीले गरेको अध्ययन अनुसन्धानबाट यस्तो देखिएको हो  । त्यसमा ९ सय ८५ वटा सवारी साधन संलग्न छन् । कुल दुर्घटना सङ्ख्यामध्ये ६० प्रतिशत दुर्घटना चालकले तीव्ररूपमा सवारी चलाएकै कारण भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी ६ जना बालबालिकासहित ९८ जनाको ज्यान गएको छ । ७१ जना पुरुष, २१ जना महिला, २ जना बालक र ४ जना बालिकाको ज्यान गएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।

जिल्लामा हुने अधिकांश सवारी दुर्घटना तीव्र गतिमा सवारी चलाएकै कारण हुने गरेका छन् । अधिकांश चालकले तीव्ररूपमा सवारी चलाउँदा दुर्घटना हुने र धनजनको क्षति हुने प्रहरीको निष्कर्ष छ ।

प्रहरी कार्यालय झापाका अनुसार चालु आर्थिक वर्ष २०७९/०८० को साउनदेखि वैशाखमहिनासम्मको तथ्याङ्कले यस्तो देखाएको छ  । कुल दुर्घटना सङ्ख्यामध्ये ६० प्रतिशत दुर्घटना चालकले तीव्ररूपमा सवारी चलाएकै कारण भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख तथा प्रहरी निरीक्षक प्रविन जोशी ज्ञावलीको भनाइ छ । तीव्ररूपमा सवारी चलाउँदा कुनै समस्या आए समयमै  सवारी साधन नियन्त्रणमा लिन नसकेका कारण दुर्घटना हुने उनले बताए ।

सवारी दुर्घटनामा यात्रुको पनि गल्ती देखिएको उनको भनाइ छ । जिल्लामा पैदल यात्रु र सवारी साधनमा यात्रारत यात्रुका कारण १५ प्रतिशत दुर्घटना भएको अभिलेख कार्यालयसँग छ । त्यसपछि मादक पदार्थ सेवन गरेर, सडकमा जताभावी चौपाया छाडेका कारण ५–५ प्रतिशत घटना भएका छन् । सवारी साधन एक–अर्कामा प्रतिस्पर्धा गर्दा, यान्त्रिक गडबडी, सडकको अवस्था पनि सवारी दुर्घटनाका कारण रहेको उनले बताए ।

प्रहरीले झापाको मेचीनगर–६ पालिया पुल, १३ नम्बर वडाको कालीझोडा, कनकाई नगरपालिका –३ जुके कल्भर्ट, शिवसताक्षी नगरपालिका–१० को माईधार, २ नम्बर वडाको धरमपुर, कमल गाउँपालिका–३ को सानो केर्खा, ५ नम्बर वडाको पाडाजुङ्गी, दमक नगरपालिकाको क्याम्पस मोडसहित आठवटा स्थानलाई बढी दुर्घटना हुने स्थानका रूपमा राखेको छ । यसबाहेक अन्य भित्री मार्गमा समेत दुर्घटना हुने गरेको भए पनि त्यसक्षेत्रमा न्यून सङ्ख्यामा दुर्घटना हुने गरेको ज्ञावलीको भनाइ छ । अधिकांश सवारी दुर्घटना बिहान ६ देखि मध्यान्ह १२, र अपरान्ह ३ देखि मध्यरातको समयमा हुने गरेको बताइएको छ ।

प्रहरीको अभिलेखलाई आधारमान्दा सबैभन्दा बढी असोज महिनामा १६ जनाले ज्यान गुमाएका छन् । असोजमा दशैंलगायतका चाडपर्व परेका कारण पनि सङ्ख्या बढी देखिएको हो । चाडपर्वमा ओहोर–दोहोर गर्ने मानिसको चाप बढेका कारण र त्यसबेला सवारी दुर्घटना पनि बढी हुने गरेको छ ।

सबैभन्दा कम भदौ महिनामा ५ जनाको मृत्यु भएको छ । साउनमा १२, कात्तिकमा ९, मङ्सिरमा १४, पुसमा १२, माघमा ७, फागुनमा १०, चैतमा ७  र वैशाखमा ६ जनाले सवारी दुर्घटनामा परेर ज्यान गुमाएको ट्राफिक असइ यमकुमार खड्काले जानकारी दिए ।

मोटरसाइकल दुर्घटनामा परी ज्यान गुमाउनेको सङ्ख्या अन्य सवारी साधनका तुलनामा झण्डै ७० प्रतिशत छ । मोटरसाइकल दुर्घटनामा परी ज्यान गुमाउनेपनि कलिलै उमेरका बढी रहेको कार्यालयले जनाएको छ । क्षमताभन्दा बढी चढ्ने अनि तीव्र गतिमा चलाउने गरेका कारण दुर्घटना हुने गरेको ट्राफिक प्रहरीको भनाइ छ । अझ हेल्मेट नलगाई मोटरसाइकल चलाउँदा यात्रा झन् जोखिम हुने गरेको छ । मोटरसाइकल चलाउँदा अनिवार्य हेल्मेट लगाउनु पर्ने भए पनि अधिकांशले हेल्मेट प्रयोग गर्दैनन् ।

अझ प्रहरीको अनुपस्थिति हुने क्षेत्रमा पूरै लापरबाही हुने गरेको छ । यस्तो समस्या ग्रामीणक्षेत्रका सडकमा धेरै रहेको प्रहरीको भनाई छ । सवारी चालक अनुमति पत्र विना सवारी चलाउन नपाइने नियम भए पनि अनुमति पत्र विना सवारी साधन चलाएका घटना पनि प्रशस्त रहेका छन् । उनीहरू कारबाहीमा पर्ने गरेको प्रहरीको भनाइ छ ।

झापाका सवारी दुर्घट्नामा परेर १ सय १९ पुरुष, २४ महिला, ४ बालक र ५ बालिका गरी कुल १ सय ५२ जना सख्त घाइते भएका छन् भने ९ सय २९ जना सामान्य घाइते भएका छन् । कार्यालयका अनुसार ६ सय ८४ पुरुष, १ सय ८६ महिला, २७ बालक र ३२ बालिका सामान्य घाइते भएका हुन् ।

दशमहिनामा कार्यालयले सवारी नियम उल्लङ्घन गर्ने ४३ हजार ७ सय ५० वटा सवारी साधनलाई कारबाही गरेको छ । कारबाही स्वरूप ३ करोड ३१ लाख ५ सय रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

जिल्लामा सवारी नियम उल्लङ्घन गर्नेमा पनि सबैभन्दा बढी मोटरसाइकल नै रहेका छन् । चालु आर्थिक वर्ष २०७९÷०८० को पहिलो दशमहिनामा जिल्लामा १४ हजार १ सय ५२ वटा मोटरसाइकलले सवारी नियम उल्लङ्घन गरेको तथ्याङ्क जिल्ला ट्राफिक प्रहरी कार्यालय झापासँग छ । मोटरसाइकललाई कारबाही गरेर ९१ लाख ७३ हजार ५ सय रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

सवारी साधनका आवश्यक कागजात नबोक्ने, क्षमताभन्दा बढी यात्रु बोक्ने, जथाभावी पार्किङ गर्ने, हेल्मेट नलगाउने, डिजिटल हर्न बजाउने, मादक पदार्थ सेवन गरी सवारी चलाउने कारबाहीमा परेका हुन् । सवारी चालकले गर्ने गल्तीको प्रकृतिअनुसार जरिबाना गरिने कार्यालयले जनाएको छ । सवारी दुर्घटनामा कमी ल्याउन कार्यालयले बेलाबखत जिल्लाका अलग–अलग स्थानमा छड्के चेकजाँच गर्दै आइरहेको छ ।