आज विश्व पानी दिवस । १९९३ मार्च २२ तारिखदेखि संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्व पानी दिवस मनाउन थालिएको हो । विश्वका मानिसहरूलाई स्वच्छ पानी उपलब्ध गराउन र पानीका स्रोतहरूको दिगो  संरक्षणको विषयमा जनचेतना फैलाउने मुख्य उद्धेश्यका साथ यो दिवस मनाउन थालिएको हो । ‘तपाईंले संसारमा हेर्न चाहनुभएको परिवर्तनकारी बन्नुहोस्’ भन्ने यो वर्षको नारा रहेको छ ।

संयक्त राष्ट्रसङ्घको नारामा जे भए पनि मैले यो लेखको शीर्षक चाहिँ ‘विश्व पानी दिवस र हर्क साम्पाङ’ राख्दा सान्दर्भिक नै ठानेको छु । किनभने धरानमा उत्पन्न वर्षौंदेखिको पानीको समस्यालाई समाधान गर्न भनी एक सूत्रीय योजना लिएर मेयर बन्नुभएका धरानका नगरप्रमुख हर्कराज राई (साम्पाङ) ले गर्दै आउनुभएका प्रयास र कमी कमजोरीका बारेमा समीक्षा गर्ने यो लेखको मूल उद्देश्य रहेको छ ।

धरानको मेयर भएको १० महिनाको अवधिमा मेयर साम्पाङले धरानका पाँच जलाधार क्षेत्र सर्दु, खर्दु, सेउती, कोकाहा र पकुवा खोलाबाट धमाधम नयाँ ट्याङ्कीहरू निर्माण गरी धरान–१३ मा रहेको मूल ट्याङ्कीमा पानी खसाउने काम भइरहेको छ । यसअघि सर्दु र खर्दु खोलाबाट खानेपानी संस्थानले नै ल्याएर खुवाइरहेको थियो । तर, तिनै मुहानबाट चुहिएका पानीलाई सङ्कलन गरी वर्षाको बेला थप पानीको जोहो गर्ने मेयरले प्रयास गरेका हुन् । यसैगरी सेउती र पकुवा अनि कोकाहा खोलाबाट पाइप विस्तार गरी नयाँ ट्याङ्की थपेर पानी ल्याउने काम भइरहेको छ, जो यसअघिका परियोजनाले ल्याउन सकेको थिएन । यी नयाँ मुहानहरूबाट ल्याइएको पानी वर्षायाममा प्रतिदिन ५० लाख लिटर र हिउँदमा २० लाख लिटर थप हुने कुरा विज्ञहरू बताउँछन् । सर्दु खोलामा पानीको मुहानलाई संरक्षण गर्न ब्रिटिस गोर्खा वेल्फेयरले ३ वटा पोखरी र ट्याङ्की बनाइदिने भएको छ । अन्य मुहानबाट पानी ल्याउन पाइप विस्तार, ट्याङ्की निर्माण गर्न देश विदेशमा रहेका जनताहरूले आर्थिक तथा श्रमदान गरिरहेका छन् । यो नै यो परियोजनाको सुन्दर पक्ष रहेको छ । जलाधार क्षेत्रको अस्थायी सरसफाइमा राम्रो काम भएका छन् ।

यस कामको लागि रातदिन नगरप्रमुख आफै खटिनुले आज वहाँ विश्वभरिका नेपालीहरूबीच चर्चा र प्रशंसाको पात्र बन्न पुगेका छन् । वहाँसँगैै धरानको नाम पनि सर्वत्र फैलिएको कुरा सत्य हो । एक जना जनप्रतिनिधिले चाह्यो भने के हुन सक्दैन । र उनले आह्वान गरेको खण्डमा सारा नेपालीहरूले सहयोग गर्दो रहेछ भन्ने उदाहरण बनेका छन् मेयर साम्पाङ । हक्की स्वभाव र घूस नखाने मेयरको रूपमा पनि चर्चामा आएका छन् उनी । काम सम्पन्न नहुन्जेलसम्म विश्राम नलिने, काम आफैले गर्नुपर्ने स्वभावले पनि उनी प्रशंसाका पात्र बनेका छन् र श्रम संस्कृतिलाई व्यवहारमा उतार्न वहाँ सफल हुँदै पनि गएका छन् । तर, यति हुँदाहँुदै पनि वहाँ घरिघरी विवादमा आउने क्रम पनि नरोकिनु वहाँकै लागि मननीय विषय हो ।

धरानमा पानीको समस्या
झण्डै डेढलाख जनसङ्ख्या भएको धरानमा ३५ हजार घरपरिवार रहेका छन् । तीमध्ये हाल २८ हजार घरपरिवारले धरान खानेपानी व्यवस्थापन बोर्डको ग्राहक भई बोर्डद्वारा वितरित पानी उपभोग गरिरहेका छन् । बाँकी जनताले भने आफ्नै घर–टोलनजिकका खोलाखोल्सीको पानी सङ्कलन गरी खाइरहेका छन् । बीपी प्रतिष्ठान, नेपाली सेना, नेपाल प्रहरी, भारतीय पेन्सन क्याम्प, ब्रिटिश वेल्फेयर सेन्टरजस्ता धरानमा रहेका ठूला संस्थाहरूले पनि आफैले पानीको स्रोत जोहो गरेर खाइरहेका छन् । हालै धरान एकीकृत खानेपानी योजना अन्तर्गत एशियाली विकास बैङ्कको आर्थिक अनुदान तथा ऋण सहयोगमा झण्डै ३ अर्ब रुपैयाँ खर्च गरी नयाँ पानीका भौतिक संरचना, स्रोतहरू थपिएका छन् । यसरी एकीकृत सहरी विकास परियोजना अन्तर्गत बनेको नयाँ योजनाले सन् २०३० सम्म धरानका १७ हजार घरपरिवारलाई शुद्ध पिउने पानी प्रतिदिन १६ घण्टा उपलब्ध गराउने लक्ष लिएको थियो । अझ सो पानी ७ मिटरसम्म विना मिटर चढ्न सक्ने डिजाइन गरिएको थियो । तर, हाल सो परियोजना सम्पन्न भई परीक्षणकाल सकिएर ठेकेदार कम्पनी र परामर्शदाता कम्पनीले पनि धरान छाडिसकेका छन् । झण्डै ३५ वर्ष पानीको व्यवस्थापन गर्दै आएको नेपाल खानेपानी संस्थानलाई पनि बिदा दिएर धरान खानेपानी व्यवस्थापन बोर्र्डले एकलौटी पानी व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी लिइसकेको अवस्था छ र, सो बोर्डको अध्यक्षमा हालका मेयर स्वयम् छन् । तर, दुर्भाग्य नयाँ परियोजनाले मनग्य पानी खान दिने भयो भनी आशा गरी बसेका नगरवासीको घरमा नयाँ परियोजनाले पनि मनग्य पानी दिन सकेको छैन । अहिले हिउँदमा दुई दिनमा एक घण्टा पनि राम्ररी पानी थाप्न नपाउँदा अधिकांश नगरवासी निराश र रुष्ट बन्न पुगेका छन् । पानीको परिमाणमा खासै वृद्धि भएको छैन भने चुहावटको कारण कतै वालछ्याल छ भने कतै थोपै आउँदैन । आखिर कहाँ चुक्यो नयाँ परियोजना ? के नयाँ योजना फेल खाएकै हो त ? धराने जनता यतिबेला अवाक् र अन्यौलमा छन् ?

नयाँ परियोजना चुक्नुको मुख्य कारणहरू
हाल धरानमा प्रतिदिन ३ करोड लिटर पानीको आवश्यकता पर्दछ । तर, हालको नयाँ परियोजनाले पनि सबै स्रोतबाट वर्षामा २ करोड लिटर पानी मात्र सङ्कलन गर्न सकेको छ । त्यसमा पनि ४० प्रतिशत चुहावट हुँदा मुस्किलले डेढ करोड लिटर पानी आपूर्ति गरिरहेको छ । धरानमा भएका स्रोतहरूमध्ये सर्दु खोलाको पानीबाट ५० प्रतिशत र भूमिगत पानीको कुवाबाट ५० प्रतिशत धानिरहेको छ । चारकोसे जङ्गलका ८ स्थानबाट बोरिङ गरेर पानी ल्याइएको छ । बिजुलीबाट बोरिङ गर्नुपर्दा त्यहाँ धेरै प्राविधिक कमजोरी भइरहेको कारण पानी भनेजस्तो आपूर्ति हुनसकेको छैन । विगतका मेयरहरूले विना प्रतिस्पर्धा नियुक्ति गरेका कमजोर र सिकारु कर्मचारी, प्राविधिकका कारण पनि विगत एक वर्षदेखि नयाँ परियोजनामा ठूलो असर परिरहेको बताइन्छ । यसैगरी पानीको चुहावट कम गर्न व्यवस्थापन बोर्डले खासै पहल गरेको पाइएको छैन । खानेपानी बोर्डको नियमित बैठक नबस्नु र हिसाब किताब पारदर्शी नहुनु पनि नयाँ परियोजना कमजोर हुनुका मुख्य कारण रहेका छन् ।

अबका मेयरले के के काम गर्नु
आवश्यक छ ?

धरानको खानेपानी र जलाधार संरक्षणमा विगत २० वर्षदेखि वातावरण तथा पर्यटन विकास केन्द्र नामको संस्था नै स्थापना गरी काम गर्दै आएको यस पङ्क्तिकारले धरान खानेपानी व्यवस्थापन बोर्डले पानीको समस्या समाधान गर्न तत्कालै निम्न कामहरू अघि सार्न सुझाव दिन चाहन्छः

१) यो नयाँ परियोजनाको सञ्चालनको लागि भनी एक स्वतन्त्र खानेपानी व्यवस्थापन बोर्डको गठन गरिएको छ । सो बोर्डमा अध्यक्षदेखि निर्देशक, लेखापाल, योजना अधिकृतहरू प्रतिस्पर्धा तथा चुनावद्वारा छनौट गर्नुपर्ने प्रावधान छ । तर, हाल सो बोर्डको अध्यक्ष, निर्देशक, लेखापाल, योजना अधिकृतहरू सबै नगरपालिकाका मेयर तथा कर्मचारीहरू नै रहेका छन् । नगरप्रमुख हर्क साम्पाङ्ज्यूले खानेपानी बोर्डको कर्मचारी कार्यविधिमा स्पष्ट उल्लेख भएअनुसार तत्कालै लोकसेवा आयोगबाट वा आफैले स्वतन्त्र प्रतिस्पर्धाबाट एक जना महाप्रबन्धक नियुक्त गर्नु पर्दछ । तिनै महाप्रबन्धकलाई अन्य कर्मचारीहरू नियुक्तिको व्यवस्था मिलाउन निर्देशन दिन आवश्यक छ ।

२) वर्तमान खानेपानी बोर्डका सदस्यहरू सबै राजनीतिक तरिकाले छनौट भएको देखिन्छ । तर, बोर्डको नियम र मर्मअनुसार निष्पक्षरूपमा खुल्ला प्रतिस्पर्धाको आधारमा नियुक्ति गर्न वर्तमान बोर्डका अध्यक्ष अग्रसर हुनु बाञ्छनीय छ । 

३) परियोजनाले भनेजस्तो ७ मिटर माथि पानी चढ्ने, १६ घण्टा पानी आउने, शुद्ध पानी खुवाउने यो कुरा कहिलेदेखि लागू हुन्छ ? प्रोजेक्ट सकिएपछि आउनु पर्ने होइन र ? यसको अनुगमन गर्न तुरुन्त एक छानबिन समिति गठन गर्नुपर्छ । 

४) हालको पानीको समस्या समाधान गर्न नगरप्रमुखले खोलाको पानी सङ्कलन गर्नु हुँदैछ तर, हिउँदमा सो स्रोतहरू सुक्ने भएकोले तत्कालै चारकोसे जङ्गलबाट ४ वटा बोरिङ थपेर पानी निकाल्न आवश्यक छ ।

५) पानीको नयाँ योजना थप्न, वितरण प्रणाली दुरुस्त गर्न र आर्थिक पारदर्शिता कायम गर्दै सुशासनको लागि पनि बोर्ड बैठकलाई नियमित गर्न जरुरी छ । तर, हालका मेयरसा’वले पनि पहिलेका मेयरहरूजस्तै आफू आएदेखि बोर्ड बैठक नबोलाएकोमा ठूलो आलोचना भइरहेको छ ।

६) पानीका मुहानहरूको संरक्षण गर्न धरान एकीकृत जलाधार संरक्षण समिति बनाएर काम गर्न अति आवश्यक छ । जुन समितिमा पानीसम्बन्धी विशेषज्ञ र पानीमा काम गरिरहेका सामाजिक सङ्घ–संस्थाका अभियन्ताहरू समावेश गर्न आवश्यक छ ।

७) सर्दु जलाधार क्षेत्रको सीमाङ्कन हुन नसक्दा जलाधार क्षेत्र सुरक्षित छैन भने जमिन सम्बन्धी विवादले गर्दा जनताले अनावश्यक दुःख पाइरहेका छन् ।

८) परियोजनामा व्यापक  आर्थिक अनियमितता भएकोमा छानबिन गरी खानेपानी संस्थानलाई बोर्डमा गाभ्न सकिने माग राख्दै हालका धरान नगरप्रमुख तथा खानेपानी बोर्डका अध्यक्षज्यूले विगतका मेयरहरूसमक्ष माग राख्दै आउनुभएको थियो । अहिले आफै बोर्डको अध्यक्ष भएको अवस्थामा अनियमितताको छानबिन भयो कि भएन ? भयो भने के कस्ता त्रुटि भेटियो ? यसबारे श्वेतपत्र जारी गरी सर्वसाधारणलाई जानकारी दिन ढिलाइ गर्नु हुँदैन ।

कहिलेकाहीँ राम्रो काम गर्दागर्दै पनि भाँती नपुग्दा विवादमा परिने गर्दछ । हाल पानीको समस्या समाधान गर्ने सन्दर्भमा नयाँ मेयरका लागि थुप्रै चुनौतीहरू तेर्सिएका छन् । ती चुनौतीहरूको पहिचान गरी पानीको समस्या समाधान गर्न हालका मेयर धेरै कुरामा चुक्नुभएको पनि देखिन्छ । वहाँले हाल चलाउनुभएको नयाँ पानीका स्रोत थप्ने काम सह्रानीय छ । तर, यसका साथै भएको पानीलाई व्यवस्थापन गर्ने कुरामा वहाँ पनि पहिलेका जनप्रतिनिधिहरूजस्तै कमजोर देखिनुभएको छ । 

संयुक्त राष्ट्रसङ्घले आह्वान गरेको विश्व पानी दिवसको अवसरहरूमा आफूले गरेका राम्रा कामको सार्वजनीकरण र समस्याहरू जनतालाई बताउनु हर्क साम्पाङ जस्तो कर्मशील स्वतन्त्र व्यक्तिको लागि एउटा राम्रो अवसरको दिन पनि हो ।
(लेखकः धरान खानेपानी व्यवस्थापन बोर्डका पूर्व सदस्य र पत्रकार महासङ्घ सुनसरीका पूर्व सभापति पनि हुन् ।)