पाँचथर  । पाँचथरको फालेलुङ गाउँपालिका—५ का बिष्णुराज थाम्सुहाङ उमेर ७० वर्ष नाघे । उमेल ढल्दै जान थालेपछि उनले आँखा देख्न छाडे । अन्ततः उनको साहारा लौरो र परिवारको सहयोग बन्यो । नजिक र टाढाको छुटउन धौ—धौ भएको सुनाउने उनि आज भोली खुसी देखिन्छ् । आँखाको अप्रेशनपछि गुमेको ज्योति फर्किएसंगै उनको खुसी पनि फर्किएको हो । गाउँपालिका—३ को स्वास्थ्य चौकीमा संचालन भएको निशुल्क आँखा शिविरबाट उनि जस्तै अन्य ६६ जनाको ज्योति फर्किएको छ । 

फागुन ३० देखि चैत ३ गतेसम्म सञ्चालन भएको शल्यकृया सहितको आँखा शिविरमा विद्यालयका विद्यार्थी सहित ८ सय जना नागरिकले सेवा लिएका थिए । शिविरमा ६६ जनाको आँखाको शल्यकृयापछि दृष्टि फर्किएको छ । शिविरमा निशुल्क मोतियाबिन्दु र आँखामा मासु पलाएका ६६ जना बिरामीको शल्यक्रिया गरिएको थियो । गाउँमै आँखाको अप्रेशनपछि फालेलुङ—३ का ललित बहादुर थाम्सुहाङ पनि खुसी देखिन्थे । हर्सित मुद्रामा खुसी साट्दै भने् “यहाँबाट सदरमुकाम गाडीमा जान एक दिन लाग्छ । अनि सदरमुकामबाट तराईको आँखा अस्पताल जान दुई दिन लाग्छ । त्यो समयसम्ममा धेरै पैसा सकिन्थ्यो । तर गाउँमै निशुल्क सरकारले बुढापाकाको उपचार गरेकोमा खुसी लागेको उनले बताए ।

जिल्लाको फालेलुङ गाउँपालिका भारतको पश्चिम बंगाल र सिक्किमसँग सिमाना जोडिएको गाउँपालिका हो । दुर्गम स्थान र आर्थिक रुपमा बिपन्न नागरिकको बसोबास भएकाले पनि गाउँपालिकावासी स्वास्थ्यको पहुँच बाहिर छन । यस्तै समस्या झेल्दै आएका नागरिकलाई गाउँपालिकाले गाउँमै स्वास्थ्य शिविर संचालन गरी सेवा दिएको जनाएको छ । 

तीन दिनसम्म संचालन भएको शिविरमा आँखा जाँच, औषधि र चस्मा वितरण गरिएको थियो । गाउँपालिकाको आर्थिक सहयोग र मेची आँखा अस्पताल झापाको प्राविधिक सहयोगमा जनसेवा समाज पाँचथरले शिविरको आयोजना गरेको हो । शिविरमा नेपाली सेनाको फिदिमस्थित रणशेर गणका सेनाको टोलीले समेत सहयोग गरेको जनसेवा समाजका अध्यक्ष राजेन्द्र अधिकारीले बताए । शिविर सञ्चालन अवधिभर बिरामीलाई खाने बस्ने र यातायतको सबै व्यवस्थापन गरिएको अधिकारीको भनाइ छ ।

आँखाका बिरामीहरुले समयमै उपचार नपाउने र उपचारको लागि सुविधा सम्पन्न अस्पताल पुग्दा धेरै खर्च हुने गरेको गाउँपालिकाले जनाएको । आँखाको समस्या भएका बिरामीको संख्या बढेकै गएका कारण नागरिकको माग र आवश्यकताको आधारमा बजेट व्यवस्थापन गरी शिविर सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष वीरबिक्रम थाम्सुहाङले बताए । “यो गाउँपालिका भौगोलिक रुपमा बिकट र दुर्गममा पर्छ । यहाँका नागरिकको आर्थिक आयस्तर कमजोर छ । टाढा गएर उपचार गर्ने अवस्था छैन् अध्यक्ष थाम्सुहाङ भने् । यो पीडा नजिकबाट नियालेका हामीलाई राम्रैसंग थाहा थियो । त्यसैले शिविर संचालन गरेका हौ । आगामी दिनमा पनि यस्तै अन्य शिविर संचालन गरी नागरिकलाई सेवा दिन्छौ उनले भने ।