विजयपुर । कुनै पनि समस्या लिएर आएका नागरिकलाई आफ्नो अधिकार क्षेत्रभित्र पर्ने सेवा दिनु र समस्या समाधानको पहल गर्नु स्थानीय सरकारको दायित्व हो । धरान उपमहानगरपालिकामा भने यस्ता समस्या लिएर जाने सेवाग्राहीमाथि धरपकड हुने गरेको छ ।

वराह बचत तथा ऋण सहकारी संस्थाले बचतकर्ताको निक्षेप रकम अपचलन गरेपछि निक्षेपकर्ताहरू समस्यामा परे । वराह सहकारी पीडितहरू साउन १५ गते न्यायको माग गर्दै धरान उपमहानगरको कार्यालय पुगेका थिए । संविधानअनुसार स्थानीय तहलाई सहकारी नियमन गर्ने अधिकार छ । पीडितहरू न्याय माग्दै पटक–पटक निवेदन लिएर उपमहानगरपालिका पुगेका थिए । धरानका नगरप्रमुख हर्कराज राई (हर्क साम्पाङ) ले ११ बजे समय दिएका थिए । तर, पीडितहरूले ३ बजेसम्म पर्खिनुप¥यो । आफूलाई पर्खेर बसेका पीडितहरूलाई प्रमुख राईले ‘मलाई सोधेर वराहमा पैसा राखेको थियौ र ?’ भनेपछि भीड भड्किँदा उनको कार्यकक्षको झ्यालको सिसा फुट्न पुग्यो । उक्त घटनामा नगरप्रमुख राईले वराह पीडित समूहका दुई जनालाई मुद्दा लगाएर पक्राउ नै गरे । उनीहरू करिब दुई हप्ता हिरासतमा बसेर तारेखमा छुटे ।

photo-of-wada

यस्तै करिब दुई महिनाअघि धरान–८ स्थित निर्माणाधीन बसपार्कका जग्गाको विषयमा कुरा राख्न सेवाग्राही नगरप्रमुख राईको कार्यकक्षमा पुगेका थिए । ती सेवा लिन पुगेका सेवाग्राहीलाई आफ्ना कुरा राख्दा नै प्रमुख राईले प्रहरी बोलाई पक्राउ गर्न आदेश गरे । बसपार्क प्रकरणमा पनि आफ्ना समस्या नगरप्रमुख समक्ष राख्नका लागि मात्रै गएका थिए । तर, नगरप्रमुख राईले पक्राउ गर्न आदेश गरे ।

शुक्रबार सम्पर्क तथा भू–आर्जन कार्यालय, कोसी परियोजना विराटनगरका पूर्वप्रमुख सन्तोष लिम्बू एउटा सिफारिस लिन नगरमा पुगेका थिए । तेस्रो पटकसम्म सिफारिस लिन प्रतिनिधि पठाउँदा पनि नगरप्रमुख राईले आधिकारिक व्यक्ति माग गरेपछि लिम्बू आफै पुगेका थिए । लिम्बूले प्रदेश सरकार अन्तर्गत सिंचाइ डिभिजन कार्यालय सुनसरीको बजेटबाट सर्दु खोलामा तारजाली लगाउने कार्यका लागि सिफारिस लिन गएको बताए । उनले भने, ‘तेस्रो दिन प्रतिनिधि पठाउँदा कसको हो ? कुन पार्टीको झोले हो सम्म भनिएछ । त्यसपछि म आफै गएँ । आधाघण्टा बस्नू भन्नुभो । म बसेँ । मेरो पालो आएपछि बोलाइयो । म गएर जनताको मेयर भन्नुहुन्छ, एउटा सिफारिसमा तोक लगाउन तीन दिन लगाइदिनुभो, सच्चिनु पर्यो मेयरसा’प भन्दा मलाई तपाईं को हो ? भनेर प्रश्न गर्नुभो ? म धरान–११ को नागरिक हुँ भनेँ ।  नगर प्रहरीले मलाई बाहिर निकाल्यो ।’ उनका अनुसार नगरप्रमुख राईका स्वकीय सचिव सुदर्शन लिम्बू र नगर प्रहरीसँग सामान्य वादविवाद भएको थियो । उनले भने, ‘बाहिर निस्कँदा नेपाल प्रहरी मलाई खोज्दै आइरहेको रहेछ । त्यति कुरामा पक्राउनु भनेको केटाकेटी खेलेजस्तो हो ।’ आफूलाई राणा शासनमा जस्तै बोल्नै नपाइने, कुरा राख्नै नपाइने व्यवहार गरिएको उनले बताए ।

सरकार नागरिकप्रति उत्तरदायी हुनुपर्दछ । सामान्य सेवाग्राहीले आफ्नो कुरा राख्दैमा पक्राउ गर्नुलाई बुद्धिजीवी डा. राजेन्द्र शर्माले ‘नगरप्रमुख राईमा म नै राष्ट्र हो’ भन्ने दम्भ भएको बताए । उनले भने, ‘फ्रान्सेली नेता नेपोलियन बोनापार्ट जतिको राम्रो नेता अरू कोही थिएन । तर, उनी म नै राष्ट्र हुँ भन्थे, नगरप्रमुख राईमा पनि त्यस्तै दम्भ छ ।’

उनले साबुन फ्याक्ट्रीमा बल प्रयोग गर्नु, वनको जग्गाका सूचना टाँस्नु र नागरिकलाई पक्राउ गर्नुले नगरप्रमुखमा तानाशाह प्रवृत्ति देखिएको बताए । उनले भने, ‘अभियानका हर्क साम्पाङ मेयर हुँदा पनि परिवर्तन हुन सक्नुभएन ।’

धरान नगरप्रमुख राईले आफ्नै विगतलाई भुलेर मनपरी गरिरहेका छन् । उनी कानूनविपरीतका काम गर्न निर्देशन गर्न चाहन्छन् । त्यसकै उदाहरण हो, स्वकीय सचिवमार्फत् वडाध्यक्षहरूलाई पत्राचार गरिनु । पत्रकै विषयमा नगरप्रमुख राईले उनीजस्तै निर्वाचित जनप्रतिनिधिले कार्यपालिकाको बैठकमा आफ्नो अभिमत राखेकै आधारमा  स्पष्टीकरण सोधेका छन् । प्रमुख राईले धरान–१० का वडाध्यक्ष विवेक राईलाई कार्यपालिकामा अभद्र व्यवहार गरेको भन्दै स्पष्टीकरण सोधेका छन् ।

अध्यक्ष विवेक राईले ब्लाष्टसँगको फोन सम्पर्कमा भने, ‘कार्यपालिका बैठकमा गरेको अभद्र व्यवहारका विषयमा चित्तबुझ्दो स्पष्टीकरण नआएमा कानूनी कारबाही गर्ने भन्ने पत्र आएको छ ।’ वडाध्यक्ष वा कार्यपालिका सदस्यहरूले अभिमत व्यक्त गरेकै आधारमा स्पष्टीकरण सोध्ने र कानूनी कारबाही गर्न सकिन्छ त भन्ने जिज्ञासामा वरिष्ठ अधिवक्ता सुमनचन्द्र कार्कीले वडाध्यक्षहरूलाई स्पष्टीकरण सोध्ने कानूनी व्यवस्था नभएको बताए । उनले भने, ‘कार्यकारिणी बैठकमा जो कोही पदाधिकारीहरूले राजनीतिक वा कानूनी प्रश्नको बारेमा छलफल गर्दा स्पष्टीकरण सोध्ने कानूनी व्यवस्था छैन ।’ कार्यपालिका नीति नियम निर्माण गर्ने थलो हो, त्यसैले अभिमत राख्दा वादविवादसमेत हुने गरेको छ ।

नगरप्रमुख राई आफैले पनि विगतमा आन्दोलनको क्रममा सरकारी संरचनाहरू तोडफोड गरेका थिए । अभियानको नाममा नगरप्रमुख राईले धरान उपमहानगरको गेट तोडफोड गरेका थिए भने खानेपानीको पाइप नै काटेका थिए । त्यति मात्रै होइन, वर्दीवाला नेपाल प्रहरीलाई हातपातसमेत गरेका थिए ।