विराटनगर । जीवित शिशुलाई मृत घोषणा गरेको घटनाको छानविन गर्न गठन भएको समितिले छानविन प्रतिवेदन अस्पताल प्रशासनलाई बुझाएको छ । 

अस्पतालका बालरोग विशेषज्ञ डा. प्रवीण झाको संयोजकत्वमा, डा. सूर्यकान्त चौधरी र अस्पतालका सूचना अधिकारी रामप्रसाद नेपालसहितको छानविन समितले बिहीबार अस्पतालका मेसु डा. लक्ष्मीनारयण यादवलाई प्रतिवेदन बुझाएको हो । 

श्वास प्रश्वासमा समस्या भएपछि मोरङको जहदा गाउँपालिका–३ भातिगन्जकी खुसी मुखियालाई जीवितै रहेको अवस्थामा अस्पतालको आकस्मिक कक्षमा कार्यरत मेडिकल अफिसर डा. आकाश यादवसहित अस्पतालका पारामेडिकल अफिसर टीका अधिकारी र लक्ष्मण माझीले गत बिहीबार विहान मृत घोषणा गरिदिएका थिए । जीवित शिशुलाई मृत घोषणा गरेर गम्भीर लापरबाही गरेको भन्दै आफन्तले उपचारमा संलग्न चिकित्सकमाथि हातपातसमेत गरेका थिए । घटनालगत्तै डा. प्रवीण झाको संयोजकत्वमा तीन सदस्य समिति गठन भएको थियो । 

सो समितिले जीवित शिशुलाई मृत घोषणा गर्ने चिकित्सक र स्वास्थ्यकर्मीहरूलाई प्रतिवदेन नआउन्जेलसम्मका लागि काम–काजमा रोक लगाएको थियो । अस्पतालका पारामेडिकल अफिसर टीका अधिकारी र लक्ष्मण माझी तथा चिकित्सक आकाश यादवलाई २४ घण्टे स्पष्टीकरण माग गर्दै काममा रोक लगाइएको थियो ।

आफूहरूले पूर्ण रूपमा प्रतिवेदनको काम सकेर अस्पताललाई बुझाइसकेको सूचना अधिकारी नेपालले बताए । प्रतिवेदन बुझेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पढाएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. लक्ष्मीनारायण यादवले बताए । मन्त्रालयले प्रतिवेदन हेरेपछि थप प्रक्रिया त्यहाँको निर्देशनअनुसार अगाडी बढने उनले बताए ।

केछ छानवीन प्रतिवेदनमा ?

अस्पताल प्रशासनलाई छानवीन समितिले बुझाएको प्रतिवेदनमा चिकित्सक र स्वास्थ्यकर्मीहरुको गम्भीर दोषी नदेखिएको समितिको निष्कर्ष छ । चिकित्सक यादव र पारामेकिकल अफिसर अधिकारी र माझीको लापबारी नदेखिएपछि शुक्रबारदेखि कामकाजमा खटिने अस्पतालका सूचना अधिकारी नेपालले बताए ।

‘शिशुलाई इमरजेन्सी वार्डमा देखाउँदा अक्सिजनको लेभल एकदमै न्युन रहेका कारण बच्चीको मुटुको चाल अन्त्यन्त कमजोर भएको उपचार संलग्न चिकित्सकले भनेको रहेछन् । चिकित्सकले बच्चाको चाल नभएको बताएपछि आफन्तले तत्कालै दाहसंस्कारका लागि घर लगेका रहेछन् । चिकित्सकले बच्चाको मृत्यु भयो भनेर भनेका रहेनछन्, यो कुरा शिशुका बुबाले पनि स्वीकार गरिसकेका छन् । अत्तालिएका आफन्तले बच्चा मरेको ठानेर तत्काल लिएर गएछन्,’ छानविन प्रतिवेदनमा उल्लेखछ । 

प्रतिवेदन बनाउँदा पीडित, चिकित्सक र स्वास्थ्यकर्मीलगायत  सबै पक्षको भनाई समिटएको छ । शिशुका बुबाले चिकित्सकको केही दोष नभएको पनि बताएको छानविन समितिमा सदस्य तथा अस्पतालका सूचना अधिकारी नेपालले बताए । 

चिकित्सकले बच्चाको चाल नभएको भनेपछि उनीहरूले दाहसंस्कार गर्ने उद्देश्यका साथ घर पु¥याएका थिए । घर पुगेको पाँच मिनेटपछि शिशुको पेट चल्न थालेको र लगत्तै गोल्डेन अस्पताल लगिएको प्रतिवेदनमा उल्लेख छ । 

तर, खुसीको एक सातापछि मंगलबार बिहान साढे १० बजे मृत्यु भएको थियो । मृत्युपछि उपचार खर्च बुझाएर आफन्तले सद्गदसमेत गरिसकेका छन् । छानबिन समितिले प्रतिवेदन बनाउँदा गोल्डेनका बालरोग विशेषज्ञ डा.सतिश यादवको भनाइ पनि समावेश गरेको कोसी अस्पतालका सूचना अधिकारीसमेत रहेका नेपालको भनाइ छ ।

‘हामीले गोल्डेनका चिकित्सकको धारणा पनि समेट्यौं, जसक्रममा उहाँले नाजुक अवस्थाकी शिशुको धुकधुकीमात्र बाँकी रहेको सुनाउनुभयो,’ उनले भने, ‘यसैले पनि उपचारमा संलग्न कोसीका चिकित्सकको दोष गम्भीर नदेखिएको स्पष्ट हुन्छ ।’

शिशुमा सेतो तथा रातो रगतको कमी, निमोनिया, मृगौलाले काम नगरेको तथा इन्फेक्सन बढेकोलगायतका समस्या देखिएको थियो । आगामी दिनमा भने चिकित्सकले स्वास्थ्यजस्तो संवेदनशील विषयमा सचेत भई गम्भीर रूपमा काम गर्नुपर्ने सुझाब पनि प्रतिवेदनमा समेटिएको छ ।