सुनसरी । सुनसरी ३ मा नेपाली काङ्ग्रेसका विजयकुमार गच्छदारको लामो समयदेखिको विरासत नेकपा (एमाले)की भगवती चौधरीले भत्काउन सफल भएकी छन् ।

२०७४ मा पनि झिनो मतान्तरले पराजित भएकी चौधरीले यसपटक पनि गच्छदारसँग प्रतिस्पर्धा गरेकी थिइन् । एमाले नेतृ चौधरीले ५ हजार ७ सय ८८ मतान्तरले गच्छदारलाई पराजित गरिन् । चौधरीले ४० हजार ७ सय ८८ र गच्छदारले ३५ हजार ६ सय मत प्राप्त गरे ।

२०४८ यता विभिन्न दलबाट उम्मेदवार दिँदै आएका गच्छदारले जित्दै आएका थिए । २०७० र २०७४ मा झिनो मतान्तरले पराजित भएपछि चौधरीले फेरि पनि त्यही क्षेत्रलाई रोजिन् । राष्ट्रिय राजनीतिका प्रभावशाली मानिएका गच्छदारलाई ५१ वर्षीया नेतृले जितेकी हुन् ।

विराटनगरको महेन्द्र मोरङ बहुमुखी क्याम्पसमा पढ्दापढ्दै २०४८ सालयता निरन्तर राजनीतिमा सक्रिय रहेकी भगवती अहिले नेकपा (एमाले) पार्टीको केन्द्रीय सदस्यसमेत हुन् । राजनीतिका साथसाथै उनले सामाजिक सेवामा समेत अहम् योगदान दिँदै आएकी छन् ।

दुहबी नगरपालिका–३ की स्थायीवासी उनले २०५१ सालमा फरवार्ड नामक गैरसरकारी संस्था स्थापना गर्दै विभिन्न शैक्षिक तथा सामाजिक काम गर्दै आएकी छन् । सोही फरवार्डलाई २०५९ सालदेखि लघुवित्तमा रूपान्तरण गर्दै उनी सक्रिय राजनीतिमा आएकी हुन् । २०६४ सालको पहिलो संविधानसभामा समानुपातिकतर्फबाट सांसद्बन्दै भगवती वन राज्यमन्त्री भइसकेकी छन् ।

२०७० सालको संविधानसभा निर्वाचनमा तत्कालीन फोरम लोकतान्त्रिकबाट चुनाव लडेका गच्छदारले भगवतीलाई ३ सय ६२ मत हराउँदै निर्वाचित भएका थिए भने गत प्रतिनिधिसभा निर्वाचनमा काङ्ग्रेसको टिकटबाट उठेका गच्छदार ३८ हजार ९ सय ६२ ल्याएर निर्वाचित भएका थिए भने चौधरीले ३८ हजार ६ सय ५१ मत प्राप्त गरेकी थिइन् । २०७० र २०७४  सालको निर्वाचनमा लगातार दुईपटक गच्छदारसँग झिनो मतले पराजित भएकी चौधरी सुनसरी ३ मा यसपटक उनै गच्छदारलाई पाँच हजार मतान्तरले पराजित गर्न सफल भएकी हुन् ।

नेपाली काङ्ग्रेसको १४ औँ महाधिवेशनमा उपसभापतिमा पराजित भएका गच्छदार बालुवाटार जग्गा प्रकरणमा मुछिएका कारण उनको लोकप्रियता घटेको थियो । २०४८ सालयता निरन्तर सत्ता र शक्तिमा रहँदै आएका गच्छदार नेपाली काङ्ग्रेसबाट २०४८ सालमा सांसद् हुँदै सञ्चार राज्यमन्त्री भएका थिए भने हालसम्म उनी १२ पटक विभिन्न मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका छन् ।

पटक–पटक भौतिक योजना तथा निर्माणका साथै पाँचपटक उपप्रधानमन्त्री भएका गच्छदारको कार्यशैलीप्रति मतदाता असन्तुष्ट बनेका थिए । उनी सुनसरीबाट २०४८, ०५१ र २०५६ को संसदीय चुनाव, २०६४ र ०७० सालको संविधानसभा र २०७४ सालमा प्रतिनिधिसभा सांसद्मा विजयी भएका थिए ।

यसपटकको निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ मा ११ स्वतन्त्रसहित २२ जनाले प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दिएका थिए भने मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा १ लाख २५ हजार ४ सय ३२ मतदातामध्ये ९२ हजार पाँचसय ९५ जनाले मतदान गरेका थिए ।