पञ्चायतकालीन सङ्गीन घडीमा आफूले खाई नखाई भूमिगत नेताहरूका लागि गाँस र बासमात्रै होइन, उनीहरूको सुरक्षा प्रबन्धका लागि समेत पूर्ण समर्पित हाम्रो घरपरिवारले कहिल्यै पनि लाभ र हानिको विषयमा सोचेन । त्यही घरमा पार्टी गतिविधि चलाउने मूलपात्र डम्बर सुब्बा चार दशकभन्दा बढी बामपन्थी झण्डा उचालेरै कडा रोगसँग मुकाविला गर्न नसकी २०७७ सालको अनुहार देख्नै नपाई असामयिक रूपमा समाधिस्त भए ।

मेरा उनै दाइको सम्पर्कमा विभिन्न भूमिगत नेताहरू हाम्रो घरमा आउँथे । २०३७ देखि २०३९ सालसम्म हाम्रो घरमा भूमिगत माले पार्टीको सेल्टर थियो । त्यहाँ आश्रय लिन आउने नेताहरूमा मदन भण्डारी, अशोक राई, चित्र निरौला, राजेश बान्तवा तथा रमेश खनालहरू थिए । कहिलेकाहीँ खुनारायण श्रेष्ठ पनि टुप्लुक्क आइपुग्थे । भूमिगत समयमा फलामे अनुशासन थियो । तर, आज पार्टीमा तलदेखि माथिसम्मका कतिपय कमरेडहरूकै असली सांस्कृतिक चरित्रको पर्दा च्यातिएर उदाङ्गो भइरहेछ । यस्तो दृश्य हाम्रा आँखाले अझै कति देख्नुपर्ने हो, थाहा छैन । यो क्रम रोकिने छाँटकाँट पनि देखिँदैन । भूमिगत समयमा कार्यकर्ताहरू कति कडा अनुशासनमा थिए भने विवाह त के प्रेमसम्बन्ध कायम गर्न पनि पार्टीको स्वीकृति लिनुपथ्र्यो । वर्तमान भर्चुअल दुनियाँका कमरेडहरूलाई यस्तो घटना सुन्दा एकादेशको दन्त्यकथाजस्तै लाग्छ । तर, त्यही दन्त्यकथाजस्तो लाग्ने तत्कालीन एक जना नेता र नेतृको प्रेम र विवाहको इतिहासबारे यहाँ प्रकाश पारिएको छ ।

बामपन्थी चहल–पहल हुने ठाउँको नाममा धरान उसबेलैदेखि चर्चित थियो । सुनसरीमा पार्टीको अर्को गतिविधि हुने ठाउँ थियो, मधेली । धरानपछिको पार्टीको आधारस्थल मधेली थियो । कोसी अञ्चल क्षेत्रीय कमिटीको बैठक मधेलीमा थियो । २०३६ को असोज महिनाको कुरो । त्यसबेला क्षेत्रीय कमिटीको सचिव जीवन (मदन भण्डारी) र उपसचिव चाहिँ राजेश (राजेश बान्तवा) । तीमध्ये जीवन क्षेत्रीय कमिटीको नेतृत्व गर्दै मोरङको जिम्मेवार थिए भने राजेश चाहिँ सुनसरीको । पार्टीको बैठकका एजेण्डामध्ये एक थियो, दुईजना कमरेडबीच प्रेम सम्बन्ध । यसलाई अनुमोदनका लागि प्रस्ताव गरियो । कमरेडहरूले ताली बजाएर यो प्रस्तावमा स्वीकृति प्रदान गरे । प्रेमजोडी थिए, कमरेड निलकण्ठ र सिर्जना अर्थात् अशोक राई र सुशीला श्रेष्ठ । अशोक त्यतिखेर हात्तीसार क्याम्पस, धरानमा आईएस्सी पढ्दै थिए । उनी एकजना विद्यार्थी थिए । तर, राजेश बान्तवा चाहिँ पार्टीको सम्पर्कबाट एक क्रान्तिकारी कमरेड भइसकेका थिए । उनी बेलाबेलामा पार्टीको दस्तावेजहरू पु¥याउन अशोककहाँ जान्थे ।

आईएस्सी पास गरिसकेपछि अशोक अध्ययन अगाडि बढाउन काठमाडौं हानिए । त्यहीबेला उनले खानी विभागमा जागिर पनि पाए । यता पार्टीको कार्यकर्ता भनेर पहिचान पाउँदै गएका राजेश बान्तवालाई भने अध्ययनको सिलसिलामा दुःखको भुक्तमान खेप्दै जान प¥यो । उनलाई महेन्द्र बहुमुखी क्याम्पसमा टिकिखान दिइएन । त्यसपछि पढ्नका लागि उनी विराटनगर पुगे । त्यहाँ पनि सास्ती दिइयो । त्यसपछि उनी भारतको विहारस्थित बथनाहा भन्ने ठाउँको देवघर कलेजमा पुग्नु प¥यो पढ्नलाई ।

खानी विभागमा जागिर गर्दै गर्दा तत्कालीन को–अर्डिनेशन कमिटीका नेताहरू श्याम (अमृतकुमार बोहरा) सँग अशोकको सम्पर्क भयो । त्यतिखेरै ताप्लेजुङबाट सुशीला बि.एड.पढ्न काठमाडौं आएकी थिइन् । दुवै पार्टीमा आबद्ध भई बेलाबेलाको भेटघाटपछि यी दुईमा प्रेम अङ्कुरण भएछ । माओ जयन्तीको साइत पारेर २०३५ साल पुस ११ गते मोरङमा एक गोप्य सम्मेलनबाट को–अर्डिनेसन कमिटी, मुक्ति मोर्चा, सन्देश समूहलगायतका बामपन्थी दलहरूको एकता हुँदै तत्कालीन नेकपा (माले) गठन भयो । सीपी मैनाली महासचिव चयन भए । मुक्ति मोर्चाबाट मदन भण्डारी, जीवराज आश्रितहरू र सन्देश समूहबाट बामदेव गौतमहरू मालेमा एकिकृत भए । चित्र निरौला, गोपाल गुरागाईंहरू रातो झण्डा समूहबाट त्यहाँ मिसिए ।

त्यसपछि अशोकको काँधमा पार्टी नेतृत्वको जिम्मेवारी आयो । उनलाई विराटनगर हुँदै भोजपुर पठाइयो, जिल्ला पार्टी सचिवको जिम्मेवारीमा । त्यसबेला इलाम जिल्लाको पार्टी सचिव हुँदै मेची अञ्चललाई पनि रेखदेख गर्नुपर्ने जिम्मेवारी रत्नकुमार बान्तवाको काँधमा थियो । उनी पार्टीको केन्द्रीय कमिटीका सदस्य पनि थिए । उनले पार्टी केन्द्रमा एउटा प्रस्ताव राखे, ‘हामीकहाँ महिला फाँटमा काम गर्ने एक कमरेडको खाँचो छ ।’ त्यसपछि सुशीलालाई मेची अञ्चलको पहाडी क्षेत्रको महिला फाँट सम्हाल्ने जिम्मेवारी दिएर पार्टीले रत्नको साथ पठाउने निर्णय ग¥यो । पार्टीले खटाएको क्षेत्रतिर सुशीला रमाना भई पार्टीको सम्पर्कमा आइन् ।

त्यो दिन उनीहरू पार्टी कामकै सिलसिलामा ताप्लेजुङ जाँदै थिए । यात्रामा रत्नका साथै सुशीला र स्थानीय कार्यकर्ता राममाया राई थिइन् । उनीहरूलाई बाटैमा हतियारधारी प्रहरीले घेरिहाल्यो । प्रहरीबाट मूलरूपमा लक्षित गरिएको सिकारका रूपमा रत्नकुमार बान्तवालाई समातिहाल्यो । उनीसँग खुकुरी त थियो । यदि मर्नै परे अन्तिम समयमा सकेको दुई–चारजनालाई छप्काएर उनी मर्ने थिए होलान् । तर, उनले खुकुरी दापबाट झिक्ने अवसर नै पाएनन् । रत्नले प्रहरीको पञ्जाबाट आफूलाई सक्दो फुत्काउने प्रयास त गरे । त्यसैबीच सुशीला र राममायाले रत्नलाई प्रहरीको पञ्जाबाट फुत्काउन आ–आफ्नो साथमा भएको लौरोले प्रहरीमाथि प्रहार गरे । त्यसैबेला राममायालाई थला बस्ने गरी प्रहरीबाट प्रहार भयो । उनी केही नलाग्ने रहेछ भनेर ज्यान बचाउन त्यहाँबाट भागिन् । किनकि उनी स्थानीय भएकोले उनलाई लोकेसन थाहा भएकोले उनलाई भाग्न पनि सजिलै थियो । उनलाई निशाना बनाएर प्रहरीबाट प्रहार भएको गोली लागेर उल्टै एक प्रहरी घाइते भयो । अर्को प्रहार रत्नको छातीमा बज्रिन पुग्यो । यसरी रत्नले २०३५ साल चैत २७ गते इलाम जिल्लाको इभाङमा सहादत प्राप्त गरे । सुशीला प्रहरी पञ्जामा परिन् ।

रत्नको शवलाई तत्कालीन कानूनी र कागजी प्रक्रिया पूरा गर्न सदरमुकाम लैजाँदै गर्दा सुशीलालाई एक बन्धकका रूपमा प्रहरीसँगै त्यसतर्फ जाँदै थिए । देउमाई खोला तरेर प्रहरी टोली बारुङ भन्ने ठाउँमा खानपिनका लागि अडियो । खाना खाइसकेपछि सुशीलाले आफूलाई शौच आएको बताइन् । प्रहरी कमाण्डरले एक जना सिपाहीलाई उनको पछि लागेर जान आदेश दिँदा सुशीलाले भनिन्, ‘तपाईंहरूले दिसा खाने गर्नुभएको छ कि क्या हो र मेरो पछि कसैलाई लगाउँदै हुुनुहुन्छ ?’ त्यसपछि कमाण्डरले उनलाई एक्लै शौच गर्न एकान्तमा जान दिए । महिला हुन्, भागिजाने आँट के गर्दिहुन् वा भागे पनि कहाँ पो पुग्लिन् र ? भन्ठाने होलान्, प्रहरी कमाण्डरले । तर, उनले शौच जाने निहुँमा त्यहाँबाट जङ्गलै जङ्गल कुलेलम ठोकिन् । यता प्रहरी टोलीमा हल्लीखल्ली मच्चिने नै भयो । प्रहरीले ठूलो माछाको सिकार गरिसकेकै थियो, जालमा परिसकेको अलि सानो माछा चाहिँ फुत्केको अवस्था थियो ।

उनलाई सकेसम्म जिउँदै समात्न, नसके त्यहीँ सिध्याउन उनी भागी लुकेको आशङ्का गरिएको जङ्गलमा आगो लगाइयो । तर, त्यो आगोको लप्काले सुशीलालाई छुन सकेन । कष्टकर जङ्गल यात्रा १२–१५ घण्टामा पूरा गरेर उनी भोक र थकाइले आक्रान्त भई एउटा गाउँमा पुगिन् ।  रत्नलाई मारिएको र दुई महिला कार्यकर्ता प्रहरी पञ्जाबाट उम्कन सफल भएको खबर नेता तथा कार्यकर्तामा पुगिसकेको थियो । सुशीलाको पार्टीसँग सम्पर्क भएपछि २०३६ वैशाख १ गते पार्टीको बैठक बस्यो, त्यहाँ पनि प्रहरीले घेरा हाल्यो । उनीहरू प्रहरी घेरा तोडेर भाग्न सफल भए । यो घटनापछि मेची अञ्चलको पहाडी जिल्लामा काम गर्ने उद्देश्यले त्यसतर्फ खटिएकी सुशीलालाई त्यहाँ असुरक्षा भएपछि भोजपुर खटाइयो । उनलाई त्यहाँ पूरै भोजपुर र आधा सङ्खुवासभा हेर्ने गरी खटाइएको थियो । भोजपुरमा पार्टी सचिवका रूपमा अशोक खटिइरहेका थिए । त्यहाँ भएको उनीहरूको भेट र पार्टी कामका बीच उनीहरूबीच काठमाडौंमा अङ्कुराएको प्रेम झन् प्रगाढ भयो र त्यही प्रेमलाई उनीहरूले सुनसरीको मधेलीमा भएको क्षेत्रीय कमिटीको बैठकमा सर्वसम्मत रूपमा अनुमोदन गराए ।

अशोक र सुशीलाको प्रेम प्रगाढ अनि परिपक्व भएपछि उनीहरूले विवाहको लागि अनुमति मागे । त्यसबेलाको परम्पराअनुसार जनवादी विवाह हुन्थ्यो, कमरेडहरूको । भोजपुरको याङ्टाङमा भूमिगतरूपमा विवाह समारोहको आयोजना गरिएको थियो । यो विवाह २०३८ साल साउन ३० गते सम्पन्न भएको थियो । विवाह समारोह छिनामखुस्थित कमल राईको घरमा सम्पन्न भएको थियो । विवाहमा पारिवारिक अभिभावकका रूपमा अशोक राईकी दिदी मीना राई (पार्टीको भूमिगत नाम विना दिदी)को विशेष उपस्थिति थियो । विवाह समारोहमा कोसी र मेची अञ्चलका जिम्मेवार नेताहरू सहभागी थिए । क्षेत्रीय कमिटीको उपसचिवको हैसियतले राजेश बान्तवा सबैभन्दा ठूला नेता थिए, सहभागीमध्ये । उनी विवाह समारोहका प्रमुख अतिथि । विवाहमा झापाबाट डिल्ली मैनाली, सुनसरीबाट राजेशका साथ चित्र निरौला र विराटनगरबाट विद्या पाण्डे (हालः राष्ट्रपति विद्यादेवी भण्डारी) सहभागी थिए । समारोहमा दिङ्ला, साम्पाङ, होम्ताङबाट पनि सहभागिता थियो । विवाह समारोहमा १५–१६ जना सहभागी थिए । स्थानीयस्तरबाट सौभाग्य राई (भोजपुरका पूर्व जिविस सभापति शशीभूषण किरातकी जीवनसाथी)बाट नवदम्पतीलाई बधाई तथा शुभकामना प्राप्त भएको थियो । दुलाहालाई फूलको माला दुलहीको तर्फबाट पहिराइयो । दुवैले स्काफ लगाएका थिए । यस्तो स्काफ त्यो बेला पार्टीको सदस्यताको प्रतीक थियो । यस्ता स्काफ राजेश बान्तवाकी जीवन साथी शारदा श्रेष्ठले धरानमा उत्पादन गर्नुहुन्थ्यो । स्काफको रङ निलोे हुन्थ्यो । २०३९ भदौ–असोजतिर अशोक र सुशीलाको विवाह भएको हो । एक जना राईको घरमा यो समारोह भएको थियो । ती व्यक्ति ओभरसियर थिए । उनी सरकारी जागिरमा थिए । त्यसैले उनी पार्टी गतिविधिमा देखा पर्दैनथे । उनकी जीवनसङ्गिनीले आश्रयदाताको हैसियतले सहयोग पु¥याएकी थिइन् । विवाह भोजमा सुँगुरको मासु, आलु, बोडीको तरकारी, तामाको अचार र भातको व्यवस्था गरिएको थियो ।

त्यसबेला विवाह समारोहमा कमरेडहरू केही साङ्केतिक शब्दहरूमा बोल्थे । ती शब्द थिए, ‘रिमझिम’ र अर्को ‘झिलिक मिलिक’ । अघिल्लो शब्दको अर्थ थियो, सीमित सुरापान पनि गर्ने कि ! दोस्रो शब्दको अर्थ थियो, फोटो पनि खिच्ने कि ! अशोक र सुशीलाको विवाहमा रिमझिम चलाइएन, झिलिकमिलिक मात्र चलाइयो । त्यसबेला चित्र निरौलासँग निजी क्यामेरा थियो । उनी पण्डित लाहुरेका छोरा हुन् । विवाह समारोहमा पार्टीका तर्फबाट चित्र निरौलाबाट ओजिलो मन्तव्य व्यक्त भएको थियो । प्रमुख अतिथि राजेश बान्तवाबाट विवाहको मूलपुरोहितको हैसियतले जनवादी पुरेत्याइँमार्फत् विवाह समारोह समापन भएको थियो । हिजोको कठिन अवस्थामा पार्टीको जीवन बचाउने र पार्टीलाई यस अवस्थासम्म ल्याउन ज्यानको बाजी थाप्ने उनै अशोक, सुशीला, राजेश र चित्र चारै जना आज पुरानो पार्टीमा छैनन् ।

(पुराना बामपन्थी नेता राजेश बान्तवा र वृत्तचित्र ‘सेक्रिफाइस नेभर डाइड’ का निर्देशक जसकुमार राईसँगको वार्तामा आधारित ।)