विराटनगर । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचन आचारसंहिता उल्लंघनको घटनामा स्पष्टीकरणले तरङ्गित भएको बताएका छन् । 

निर्वाचन आयोगले विराटनगरमा शुक्रबार आयोजना गरेको प्रदेशस्तरीय सञ्चारमाध्यम सम्बन्धी अन्तरक्रियामा बोल्दै उनले यस्तो बताएका हुन् । उनले  निर्वाचन आचारसंहिता उल्लंघन गर्नेलाई आयोगले कारबाहीको दायरामा ल्याउने बताए । 

उनले निर्वाचन आचारसंहिता उल्लंघनको घटनामा स्पष्टीकरणले तरङ्गित भएको अवस्थामा एक हप्तापछि  आयोगको निर्णयले ठुलो भूकम्प नै ल्याउन सक्ने बताए । ‘स्पष्टीकरण सोध्नु कारबाही होइन, कारबाही प्रक्रियाको सुरुवात मात्रै हो,’ आयुक्त थपलियाले भने, ‘निर्वाचन आचारसंहिता उल्लंघन गर्नेलाई कारबाही गर्नेमा आयोग दृढ छ, कारबाही गर्नबाट पछि हट्दैन ।’

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई सोधिएको स्पष्टीकरणले अहिले तरङ्ग उत्पन्न भएको छ । निर्वाचन आचारसंहिता कसुर ऐनको दफा २० ले कुनै पनि प्रलोभन दिन नहुने भनिएकोले आचारसंहिता उल्लंघनभन्दा ठुलो कसुर भएकाले कारबाहीका लागि सिफारिस गरिएको थपलियाले बताए ।

दलहरू आफैँले बनाएको कानुन कार्यान्वयन आयोगले गराउने काम मात्र गरेकाले कानुन कार्यान्वयन गर्न उनले सबैलाई आग्रह गरेका छन् । ‘आगामी मंसिर ४ गते हुने निर्वाचनमा निर्वाचन खर्चको सीमा र आचारसंहिता कार्यान्वयन गर्ने कुरा मुख्य चुनौती देखिएको छ,’ उनले भने, ‘दलहरूले आफैँले आचारसंहिता पालना गर्ने प्रतिबद्धता जनाउने तर उल्लंघन गर्न नहिचकिचाउने अवस्थामा आयोग टुलुटुलु हेरेर बस्न सक्दैन ।’

उनले स्थानीय तहको निर्वाचनमा अनुभूत गरेका समस्या यो निर्वाचनमा दोहोरिन नदिने बताए । सामाजिक सञ्जाल नियमनको अवस्था आएकाले त्यसका लागि विज्ञ टोली खटाएर अनुगमनको व्यवस्था गरिएकाले सबैलाई सचेत भएर सामाजिक सञ्जालको उपयोग गर्न थपलियाले आग्रह गरे ।

उनले पछिल्लो समयका केही समाचारले महिला उम्मेदवारलाई सञ्चारमाध्यमबाट होच्याउने काम भएको प्रति ध्यानाकर्षण भएकाले यसप्रति सञ्चारमाध्यमहरूलाई गम्भीर भएर समाचार सम्प्रेषण गरिदिन आग्रह गरे । महिला उम्मेदवार भएको क्षेत्रमा ‘हेबीवेटसँग महिला प्रतिस्पर्धा’ लगायतका शीर्षकको समाचारले महिलालाई होच्याउने काम भएको उनले सुनाए । त्यसैले सूचना सम्प्रेषण गर्दा सबैलाई समान अवसर दिन उनले ध्यानाकर्षण गराए । 

प्रमुख निर्वाचन आयुक्त थपलियाले सञ्चारमाध्यमहरूलाई स्वनियमन र स्वअनुगमन गरेर मात्रै सूचना सम्प्रेषण गरिदिन आग्रह गरेका छन् ।

मोरङका मुख्य निर्वाचन अधिकृत दुर्गाप्रसाद ढुङ्गेलले आचारसंहिता गुणात्मक र गुणस्तरीय परिचालन भएको बताए । जिल्लामा समानुपातिक मतपत्र प्राप्त भएकाले त्यसको व्यवस्थाको काम भइरहेको उनले बताए । 

मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले मोरङमा ७ हजार ५ सय सुरक्षाकर्मी परिचालन गरेर भयरहित र निष्पक्ष निर्वाचनका लागि प्रतिबद्ध रहेको बताए ।  उनले स्थानीय तहको निर्वाचनमा जस्तै संघ र प्रदेशसभाको निर्वाचन पनि भयरहित र निष्पक्ष निर्वाचन गराउन लागि पर्ने बताए ।