विराटनगर । प्रदेश १ मा डेङ्गु सङ्क्रमण बढ्दै गएको छ । १४ जिल्ला रहेको प्रदेशको तराईसँगै पहाडी र हिमाली जिल्लाहरूमा यसको सङ्क्रमण बढ्दै गएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

पछिल्लो तीन महिना साउनदेखि असोज २९ गतेसम्म १ हजार ३ सय ७२ जनामा डेङ्गु सङ्क्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका निर्देशक ज्ञानबहादुर बस्नेतले जानकारी दिए । डेङ्गु सङ्क्रमण तराईका जिल्लाका तुलनामा पहाडी र हिमाली जिल्लामा बढ्दै गएको छ ।

स्वास्थ्य निर्देशक बस्नेतका अनुसार प्रदेशमा सबैभन्दा बढी सुनसरी जिल्लामा २ सय ८० जनामा सङ्क्रमण देखिएको छ । सबैभन्दा कम इलाममा दुई जनामा सङ्क्रमण देखिएको छ । हालसम्म प्रदेश १ मा डेङ्गु सङ्क्रमणबाट कसैको मृत्यु भने भएको छैन ।

हालसम्म मोरङमा १ सय ३६, झापामा ९३ र उदयपुरमा ५७ जनामा डेङ्गु सङ्क्रमण देखिएको छ । प्रदेशका पहाडी जिल्लामध्ये तेह्रथुममा सबैभन्दा बढी १ सय ६४ जनामा डेङ्गु देखिएको छ । त्यस्तै सङ्खुवासभामा १ सय ४४, धनकुटामा १ सय १६, ओखलढुङ्गामा ५५ तथा पाँचथर ४०, भोजपुरमा १२, सोलुखुम्बुमा १८, खोटाङमा १ सय ५७ जनामा डेङ्गु सङ्क्रमण पाइएको निर्देशक बस्नेतले जानकारी दिए ।

सङ्क्रमण देखिएकोमध्ये सबैभन्दा बढी युवा उमेर समूहमा डेङ्गु सङ्क्रमण देखिएको स्वास्थ्यकर्मीहरूले बताएका छन् । अहिले डेङ्गु सङ्क्रमण १६ देखि ३५ वर्ष उमेर समूहका युवाहरूमा बढी देखिएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका असिष्टेन्ट प्रोफेसर डा. सुरेन्द्रकुमार उराँवले बताए ।

१६ देखि ३५ वर्ष उमेर समूहका युवाहरू बढी चहल–पहलमा जाने भएको कारणले उनीहरूमा सङ्क्रमण देखिएको डा. उराँवले बताए । डेङ्गु दुई वर्षसम्मका बालबालिकाहरूमा पनि देखापरेको उनले बताए । ६० वर्षभन्दा माथि उमेर समूहमा सङ्क्रमण कम हुने गरेको उनले बताए । डेङ्गु ७७ वटै जिल्लामा फैलिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ भने हालसम्म डेङ्गुबाट ४७ जनाको ज्यान गइसकेको छ ।

विराटनगरमा ‘डेङ्गु खोजी र नष्ट’ अभियान सुरु
विराटनगर । प्रदेश १ को राजधानी रहेको सहर विराटनगरमा डेङ्गु सङ्क्रमण बढ्न थालेपछि महानगरपालिकाले अभियान सुरु गरेको छ ।

विराटनगर महानगरपालिकाले डेङ्गु खोज र नष्ट अभियान सुरु गरेको आइतबार एक कार्यक्रम आयोजना गरी जानकारी गराएको हो । यो अभियान प्रत्येक आइतबार  विराटनगरका १९ वटै वडामा सुरु गरिएको विराटनगर महानगरपालिका स्वास्थ्य महाशाखा शाखाका हैदर अलीले जानकारी दिए ।

‘डेङ्गु खोज र नष्ट अभियान चार हप्तासम्म निरन्तर रूपमा संचालन हुनेछ’ अलीले भने, ‘यो अभियानमा सबैको साथ सहयोगको खाँचो रहेको छ । सबैको सहयोगले मात्र डेङ्गु रोकथाम र नियन्त्रण गर्न सकिनेछ ।’ यो अभियान विराटनगरका स्कुलदेखि सामाजिक सङ्घ–संस्थाहरूबाट महानगरको हरेक घरहरूमा पु¥याउने उनले बताए ।

विराटनगरमा ९० जनामा डेङ्गु सङ्क्रमण देखिएको उनले बताए । जसमा ५६ जना महिला र ३४ पुरुष रहेका छन् । यो तथ्याङ्क सरकारी स्वास्थ्य संस्थमा परीक्षण गरेको अभिलेख हो । अहिले निजी हस्पिटल र क्लिनिकहरूमा पनि डेङ्गु परीक्षण हुने गर्दछ ।

त्यसको अभिलेखीकरण गराउने संयन्त्रको विकास स्थानीय र प्रदेश सरकारले गरेको छैन । डेङ्गु सङ्क्रमण रोक्न महानगरपालिकाले विराटनगरको १९ वटै वडामा स्प्रेलगायतको विभिन्न कामहरू गरेको अलीले बताए ।