महिलाहरुले संस्कृत पढ्नु हुन्न भन्ने पुरानो मान्यतालाई चुनौती दिँदै छ वर्षअघि वरिष्ठ साहित्यकार स्व रोहिणीविलास लुइँटेलले ग्रार्गी वाङ्मय प्रतिष्ठान नै स्थापना गरेर महिलालाई पढाउनु सुरु गरेका थिए । हाल आर्थिक अभावका कारण प्रतिष्ठानले पढाइलाई पनि निरन्तरता दिन नसकेको जनाएको छ ।

अर्जुनधारा नगरपालिका–९ मा स्थानीय दाता मेघनाथ लुइँटेलले दिएको एक कठ्ठा जमिनमा विसं २०७४ मा भवन नै बनाएर उनले गाउँभरिका महिला र बालबालिकालाई गीतापाठ तथा स्वस्तिक बाचन गर्न निःशुल्क सिकाउथे । त्यसका कारण हाल पनि सो क्षेत्रका २०  महिलाले फररर गीता पाठ र स्वस्तिक बाचन गर्न सक्ने भएका प्रतिष्ठानका अध्यक्ष नरेन्द्र अधिकारी बताउछन् ।

शनिश्चरे माध्यमिक विद्यालयका पूर्वशिक्षकसमेत रहेका लुइँटेलले हप्ताको प्रत्येक शनिबार बालबालिकालाई र दैनिक दुईदेखि तीन घण्टासम्म महिलालाई संस्कृतबाट गीतापाठ गर्न तथा स्वस्तिक बाचन गर्न सिकाउने गरेकाे उनले बताए । 

“वैदिककालकी चर्चित विदूषी नारी ग्रार्गीको नामबाट नै उहाँले प्रतिष्ठान स्थापना गर्नुभयो”, अध्यक्ष अधिकारीले भने, “नामअनुसारका काम पनि हुने र महिलाले पनि संस्कृत सिक्नुपर्छ अनि सिकाउनुपर्छ भन्ने उद्देश्यले रोहिणी सरले पढाउने गर्नुहुन्थ्यो ।”

विसं २०७५ मा उनको निधन भएपछि आर्थिक अभावमा पढाइलाई निरन्तरता दिन नसकिएको उनको भनाइ छ । उनले सुरु गरेको दुईतले भवन निर्माणकार्यलाई प्रदेश सरकारले दिएको रु पाँच लाख र वडाले छुट्याएको बजेटबाट सम्पन्न गर्न लागिरहेको छ । उनले भने, “स्रोतको खोजी भइरहेको छ, महिला उत्साही हुनुहुन्छ सिक्न, शिक्षकको व्यवस्थापन गरेर फेरि त्यो पढाइलाई निरन्तरता दिन्छौँ ।”

प्रतिष्ठानमै अध्ययन गर्नुभएकी स्थानीय सुनिता पोखरेलले एक–डेढ वर्षमै गीतापाठ, स्वस्तिक बाचन र पाञ्चयन मन्त्रोचारण गर्न जान्ने भएको बताए । उनले लुइँटेलको मृत्युपछि पनि स्थानीय मदन खनाल नाम गरेका गुरुसँग केही समय अध्ययनलाई नियमित गराएको बताए । 

उनले भने, “संस्कृतिमै गीतापाठ गर्नु, बिहान–बेलुका पूजा गर्दा मन्त्रोचारण गर्नसक्नु पनि ठूलो उपलब्धि भएको महसुस छ, स्थानीय, प्रदेश र सङ्घीय सरकारले नै बजेटको व्यवस्था गरिदिए शिक्षक खोजेर पनि पढाइलाई निरन्तरता दिने थियौँ, संस्कृत पढ्ने रहर अझै जागेको छ ।”