बिर्तामोड । दुई पटक मुलुकको प्रधानमन्त्री भइसकेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र हो झापा–५ । आगामी निर्वाचनमा ओली पुन: यसै क्षेत्रमा निर्वाचन लड्ने योजनामा रहेका छन् । 

हेभीवेट ओली आफै उम्मेद्वार बन्ने भएपछि यस क्षेत्रको चर्चा देश, बिदेशमा छ । उनलाई एमालेले भावी प्रधानमन्त्रीका रुपमा अगि सारेर निर्वाचनमा सहभागि हुन लागेको छ । गठबन्धन दलबाट निर्वाचनमा ओलीबिरुद्ध को उभिने ? टुङगो लागेको छैन । तर, ओलीले निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्ने आकलनका साथ नेपाली कांग्रेसले नेकपा माओवादी केन्द्रलाई सो क्षेत्र छुट्याउने मनसाय बनाएको छ । 

कांग्रेसले झापाको १, २, ३ र ४ नम्बर क्षेत्र आफै राख्ने तथा ५ नम्बर क्षेत्र माओवादी केन्दलाई दिने तयारी गरेको बुझिएको छ । यद्यपी उसले स्थानीय नेताहरु महिन्द्रा कुमारी सुब्बा, ढुण्डीराज भण्डारी, बिश्वदिप लिङदेन, मेदनी सिटौला र पदम पौडेलको नाम सिफारिस गरेको छ । सिफारिसमा परेकामध्ये को उम्मेद्वार हुने भनेर छिनोफानो हुन अब दुई साता बाँकी छ । 

गठबन्धनको सहयात्री दल नेकपा माओवादी केन्द्रले पनि अखिल क्रान्तिकारीका पुर्व केन्द्रिय अध्यक्ष रञ्जित तामाङ, सुरेन्द्र बस्नेत, गगन पुरी र रमेश गुरागाईँलाई सिफारिस गरेको छ । माओवादीको भागमा झापा–५ परेको अवस्थामा रञ्जित तामाङ अरुभन्दा बलियो दावेदारका रुपमा रहेको माओवादी श्रोतको दावी छ । 

राजेन्द्र लिङदेन नेतृत्वको राप्रपासँग चुनावी तालमेल गर्ने पक्षमा नेकपा एमाले अझै अनिर्णित छ । राष्ट्रियसभाको निर्वाचनमा राप्रपाले दिएको धोका यसपाली उसकै लागि महङगो हुने आकलन गरिएको छ । राष्ट्रियसभामा राप्रपाले एमालेलाई समर्थन नगरेका कारण प्रदेश नम्बर १ बाट एमालेका दुई उम्मेद्वार पराजित भएका थिए । २०७४ सालको निर्वाचनमा लिङदेनका लागि संजिबनी बनेको एमाले र त्यसका समर्थक यस घटनापछि उनीसँग रुष्ट छन् । अधिकांस कार्यकर्ता राप्रपासँग चुनावी समिकरण गर्न नहुने पक्षमा रहेका छन् । 

झापा क्षेत्र नम्बर–५ चर्चामा आउने कारण भने देशमै सबैभन्दा धेरै मतदाताले भरोसा गर्ने नेता केपी शर्मा ओलीका कारणले हो । २०४८ सालदेखि २०७४ सालसम्म ६ वटा निर्वाचनमा उनी यहाँबाट सहभागि भएका छन् । २०६४ सालको संविधानसभा निर्वाचनबाहेक ओलीले सबै निर्वाचन जितेका छन् । दुई पटक मुलुकको प्रधानमन्त्री भइसकेका ओली २०४८, २०५१, २०५६, २०७० र २०७४ सालमा यहाँबाट निर्वाचित भएका छन् । २०६४ सालको संविधानसभा निर्वाचनमा भने नेकपा माओवादी केन्द्रका बिश्वदिप लिङदेनसँग उनी पराजित भए । तर, त्यो संविधानसभाले संविधान दिन सकेन । 

झापा–५ मा दमक नगरपालिका, कमल गाउँपालिका, गौरादह नगरपालिकाको वडा न. १ देखि ८ र गौरिगञ्ज गाउँपालिकाको वडा न. ३ देखि ६ सम्मका भुगोल समेटिएको छ । बैशाख ३० गते भएको चुनावमा एमाले बाहेकका सबै दलले समिकरण गरेर दमक नगरपालिकामा मेयर र उपमेयर हात पार्न सफल भएका छन् । तर,१० मध्ये ७ वटा वडाको नतिजा भने नेकपा एमालेको पोल्टामा परेको छ । गौरादह नगरपालिकामा एमालेले सत्तारुढ गठबन्धनको घेराबन्दीका बाबजुत पनि मेयर र उपमेयर सुरक्षित गर्न सफल भयो । कमल र गौरिगञ्ज गाउँपालिकामा उपाध्यक्ष पदमा एमालेले बिजय हासिल गरेको थियो ।  

वडागत मत अध्ययन गर्दा एमाले गठबन्धन दललाई भारी पर्ने निश्चित छ । यहाँ एमाले एक्लैले ४१ हजार ६१७ मत ल्याएको छ भने राप्रपा, माओवादी र कांग्रेससमेतका दलहरुले ४१ हजार १४६ मत मात्र ल्याउन सकेका छन् । यसमा कमल गाउँपालिकामा नेकपा एकिकृत समाजवादीले पाएको १ हजार ८६० र गौरादहमा स्वतन्त्र उम्मेद्वारले पाएको १ हजार ९४ मत जोडिएको छैन । यस क्षेत्रमा पर्ने कुल २९ वडामध्ये एमालेले सबैभन्दा बढी १८ वडाको नतिजा हात पारेको छ । कांग्रेसले ६, माओवादीले २, राप्रपा १, समाजवादी १ र एउटा वडा स्वतन्त्र उम्मेद्वारले जितेका छन् ।  

झापाका ५ वटै निर्वाचन क्षेत्रमध्ये एमालेका लागि यो क्षेत्र सबैभन्दा सुरक्षित देखिएको छ । स्थानीय निर्वानबाट एमालेले अरु दलले महागठबन्धन गरेपनि जित्नका लागि गतिलै चुनौती प्रस्तुत गरेको छ । त्यसमा पनि ओलीको लोकप्रियता र ब्यक्तित्व र निर्वाचन क्षेत्र विकासमा देखाएको सक्रियताका कारण यो मतान्तर अझ बढ्ने अनुमान गर्न सकिन्छ । 

२०६४ सालको संविधानसभा निर्वाचनमा पराजित भएपछि ओलीले आफ्नो निर्वाचन क्षेत्र विकासमा ध्यान केन्द्रित गरे । उनले झापा–५ मा त्यसयता अर्वाैंको योजना ल्याएका छन् । क्षेत्र बिकासका लागि प्रतिबद्ध ओली आगामी निर्वाचनमा मतदाताको पहिलो रोजाईमा पर्ने तयारीमा छन् । ओलीकै ब्यक्तित्वका कारण बिपक्षी दलले निर्वाचनको नतिजा आफ्नो पक्षमा पार्न नसक्ने अनुमान छ । 

झापा–५ मा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले ओलीको सक्रियतामा ‘दमक भ्यु टावर’ निर्माणको अन्तिम अवस्थामा छ । १ अर्ब ५६ करोडको लागतमा निर्माणाधिन १८ तल्ले सो टावरका कारण दमकको पहिचान अझ ब्यापक हुने स्थानीयको भनाई छ । 

ओलीले दमक नगरपालिका–३ मा अन्तराष्ट्रिय स्तरको मदन भण्डारी रंगशाला निर्माण गर्ने योजना अघि सारेका छन् । सत्ताबाट ओली बहिर्गमनसँगै त्यसको ठेक्का प्रक्रियामा बिवाद उत्पन्न भएका कारण यो योजना अहिले स्थागित छ । दातृसंस्थाको आर्थिक सहयोगमा दमक–३ मा बिश्वको अग्लो बुद्धमुर्ती निर्माण गर्न ओलीले सक्रियता देखाएका छन् । शिलान्याससमेत भएर बुद्धमुर्तीका लागि दाता खोज्ने काम भइरहेको बताइएको छ । 

नेपालको अर्थतन्त्र सुदृढ बनाउन यसै क्षेत्रमा चिन–नेपाल मैत्री औद्योगिक क्लिन पार्क निर्माणको क्रममा छ । जग्गा अधिग्रहणको काम सकिएर पार्क निर्माणको पखाइमा रहेको छ । झण्डै २ हजार २ सय बिगाहा क्षेत्रफलमा फैलिने यस पार्क सञ्चालनमा आएपछि प्रत्यक्ष र अप्रत्यक्ष गरेर १ लाखले रोजगारी पाउने दावी गरिएको छ । 

झापा–५ मा पर्ने कमल गाउँपालिकामा प्रदेशस्तरीय आयुर्वेदिक अस्पताल सञ्चालनमा आएको छ । यस क्षेत्रका लागि महत्वको रहेको दमक–रवी सडक निर्माणलाई प्राथमिकता दिएर ओली प्रधानमन्त्री भएको समयमा आवश्यक बजेट विनियोजन गरेर निर्माणमा सक्रियाता देखाएका कारण यो सडक सञ्चालनको अन्तिम अवस्थामा पुगेको छ । कुनै ठुलो अवरोध उत्पन्न नभए आगामी फागुनदेखि सडक निर्माण पुर्ण हुने बताइएको छ । 

पुर्व प्रम ओलीलाई दमकमा निर्वाचन जित्न असहज भएको भनिएपनि त्यहाँको अंकगणितले देखाएको नतिजा यो हो । यहाँ उनले राप्रपासँग तालमेल नगरी पनि जित्नसक्ने सम्भावना उच्च रहेको त्यही क्षेत्रमा राजनीति गर्ने नेताहरु बताउँछन् ।