भद्रपुर नगरपालिका–५ का किसान महेश यादवको अधिकांश समय मकैखेतीमा नै बित्ने गरेको छ । उहाँले १० बिघामध्ये तीन बिघा जमिनमा यतिबेला मकैखेती गरेका छन् ।

भदौको पहिलो हप्ता लगाएको मकै हुर्केर कम्मर–कम्मर भएको छ । कात्तिकको दोस्रो हप्तादेखि घोगा मकै बिक्री गर्ने उद्देश्यले उनले सो खेती गरेका हुन् । “धान खेतीबाट भन्दा बढी मकैबाट आम्दानी हुन्छ”, यादव भन्छन्, “बिक्री पनि खेतबाट हुने र धानलाई जस्तो बढी मेहेनत पनि गर्नु नपर्ने हुँदा वर्षौँदेखि मकैखेती गर्दै आएको छु ।”

उहाँले प्रतिबिघा वार्षिकरूपमा २० हजार दिने गरी १० बिघा जमिन भाडामा लिएर खेती गर्दै आएका छन् । जसमध्ये तीन बिघा जमिनमा उनले यसपालि बैमासमी मकै लगाएका छन् । उनले पानी नजम्ने अली डाँडो स्थानमा मकैको खेती लगाउने गरेको बताए । 

यादवले एउटै मकैको बोटमा दुईवटासम्म घोगा लाग्ने र प्रतिघोगा रु १५ का दरले बोटबाटै बिक्री गर्ने गरेको बताए । उनले धान पाकेपछि बाँकी जमिनमा समेत हिउँदे मकैको खेती लगाउने बताए । भारतबाट मकै ल्याएर यहाँ व्यापारीहरूले बिर्तामोड, चन्द्रगढी, काँकरभिट्टालगायतका सडकपेटीमा पोलेर बेचिरहेको देखेपछि बेमौसमी मकैखेती आफूले सुरु गरेको उनको तर्क छ । “गर्दा यही हुँदोरहेछ”, उनले भने “व्यापारीले पनि भारतपुग्न नपर्ने र आफ्नो पनि आम्दानी राम्रो हुन्छ । धेरै नसके पनि सबैले उपयुक्त ठाउँको पहिचान गरेर बेमौसमी मकैखेती गर्दा हुन्छ ।”

कृषि ज्ञान केन्द्रका पूर्वप्राविधिक शेषराज पौडेलले तराईको क्षेत्रमा यतिबेला लहलह मकै हुनु खुसीको कुरा भएको बताए । उनले असारदेखि कात्तिक मङ्सिरसम्म धानको मौसम भए पनि यादवले गर्दा जे पनि हुँदोरहेछ भन्ने उदाहरण पेश गर्न सफल भएको बताए ।

कृषि ज्ञान केन्द्र झापाका सूचना अधिकारी गणेश शिवाकोटीले हिउँदे मकै जिल्लामा ४४ हेक्टर जमिनमा हुने गरे पनि बेमौसमी मकै थोरै किसानले मात्र लगाउने गरेको बनाए ।