चुनावको बेला ‘भूईं मान्छे’ को नामबाट चिनिएका मेयर हर्क साम्पाङ विगत चुनावमा राष्ट्रिय झण्डा ओढेर हातमा लौरो लिएर चुनाव प्रचारमा एउटा टेम्पो चढेर पम्प्लेट बाँड्दै भोट माग्दै हिँडेका हर्क साम्पाङको धरानप्रतिको त्याग काकाकुल सहरमा कोसीको पानी ल्याउने प्रतिबद्धता जनाउँदै हिँडेकोले सबैले उनलाई भोट दिए । काङ्ग्रेसका किशोर राई १६ हजार ५९ मत, एमालेकी मञ्जु भण्डारी सुवेदी १२ हजार ८ सय २५ को विरुद्ध २० हजार ८ सय २१ मत प्राप्त गरी विजयी भएका थिए ।

धरान नगरको विकास १९३८÷३९ सालतिर सुरु भएको हो भन्ने स्व.भूपालमान सिंह कार्कीको भनाइ छ । विगतका नगर प्रमुख सूर्यप्रसाद उपाध्याय, कृष्णकुमार राई, ध्यानबहादुर राई, मनोजकुमार मेन्याङ्बो आदि सबैले धरानको विकासमा ठूलो योगदान पु¥याएका छन् । स्वतन्त्र उम्मेदवारबाट विजयी बनेका मेयर हर्क साम्पाङलाई पूर्व मेयर मनोजकुमार मेन्याङ्बो र एमालेका सांसद् भीम आचार्यले पनि ‘धरान उपमहानगरपालिकालाई सुझाव’ भनी एउटा सानो ११ पेजको सुझाव पुस्तिका प्रकाशित गर्नुभएको छ ।

त्यसमा धरानका सबै समस्या र समाधानका उपायहरू उल्लेख गर्नुभएको छ । मैले पनि विगत असार २ गतेको लोकप्रिय दैनिक समाचारपत्र ब्लाष्टमा ‘समस्या र समाधानका उपायहरू’ शीर्षकमा लेख प्रकाशित गरेको थिएँ । मैले त्यो लेख मेयर हर्क साम्पाङ कै कार्यालयमा गएर निजलाई दिएँ । तर, अहिले आएर मेयर हर्क साम्पाङले नगरका समस्याहरूलाई समाधान गर्ने कोशिस गरेका छैनन् भन्ने देखिन्छ । केही दिनअगाडि उनले केही कामको विवरण पेश गरे तापनि खोलामा पाइप बोकेर, ढुङ्गा बोकेर, गिट्टी फोडेर काम देखिँदैन । यो त लेवरको काम हो । मेयरको काम योजना बनाउने र बनाएका योजनाहरूलाई कार्यान्वयन गर्ने, गराउने हो । अहिले पनि धरानका केही ठाउँहरूमा पानीको अभाव छ । आउँदो वैशाख–जेठतिर पानीको अभावमा महिलाहरू खाली गाग्री बोकेर धरान नगरपालिका कार्यालयमा आएको दृश्य देख्न सकिन्छ । २०७९ साल भदौ १७ गते शुक्रबार लोकप्रिय पत्रिका ब्लाष्टमा ‘बाटो बिराएका हर्क साम्पाङ’ शीर्षकको समाचारमा सबैकुरा उल्लेख छ ।

त्यसमा मेयर हर्क साम्पाङले आफूलाई नसुधारेमा उनी ‘असफल मेयरमा परिणत हुने निश्चित छ’ भनिएको छ । धरानका जनता धरानमा शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, लोकसंस्कृति, खानेपानी, सुकुम्बासी समस्या, बसपार्क, सर्दु, सेउती, खहरेखोला, करिडोर, विजयपुरको बृहत्तर विकास, हवाई मैदान, सडक मर्मत र निर्माण, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका समस्याहरू, सब्जीमण्डी, सर्दुउत्तरको बस्ती, सभाहल, भेडेटारको मलमूत्र आदि समस्या समाधान भएको हेर्न चाहन्छन् । खानेपानी धरानको एक विकराल समस्या हो । यसको दिगो समाधान कोसी र तमोर नै हो । तत्काल समाधानको लागि जङ्गलका पम्पहरू मर्मत, पाइपको मर्मत गर्न सकिन्छ । एडिबीको खर्चको हिसाब चेक गरी एक अर्ब ७५ करोड के मा खर्च भयो ? कसरी खर्च भयो ? जाँचबुझ गर्नुप¥यो । खानेपानीको शुल्क उठाउने अफिसमा कम्प्युटर सिस्टम लागू गर्ने र बोर्डमा कर्मचारी खुल्ला विज्ञापन गरेर नियुक्ति गर्ने व्यवस्था मिलाउनु जरुरी देखिन्छ ।

त्यसैगरी–
(१) बसपार्कः नयाँ बसपार्क निर्माण अविलम्ब गरेर भानुचोकको अस्तव्यस्ततालाई समाधान गर्नुपर्छ ।

(२) तटबन्धः सर्दु, सेउती, खहरे खोलाले डिल भत्काएर मानिसहरूको घर बगाउने अवस्था देखिन्छ । अतः तिनै खोलाको डिलमा पक्का पर्खाल लगाउनुपर्छ । यो योजनाबद्ध हुनुपर्छ ।

(३) हवाई मैदानः हवाईमैदानबारे धरान–१७ मा भएको हवाई मैदानको जग्गा अपुग छ । त्यसलाई समाधान गरी हवाई मैदान निर्माण गर्नुपर्दछ । त्यहाँ बसेका सुकुम्बासीहरू हटाउनु पर्छ ।

(४) शिक्षाः धरानका सामुदायिक विद्यालयले नै विभिन्न बहानामा विद्यार्थीहरूसँग शुल्क उठाउँदै आएका छन् । सरकारले १२ कक्षासम्म निःशुल्क गरेको छ । बोर्डिङ स्कुलहरूको त कुरै छाडौं । साधारण व्यक्तिले बोर्डिङ स्कुलहरूमा छोराछोरी पढाउन सक्दैनन् । शुल्क नियन्त्रण गर्नु पर्छ । मेयर हर्क साम्पाङ केही दिन निरीक्षणमा हिँडेपछि सेलाए । हालै प्रकाशित कक्षा–१२ को परीक्षाफलमा नेपालमा ५२ प्रतिशत मात्र विद्यार्थीहरू उच्चशिक्षा पढ्नयोग्य छन्, भनिएको छ । शिक्षामा सुधार गर्न नगरपालिकाको शिक्षा शाखाले नियमित विद्यालय निरीक्षण गरी शिक्षामा सुधार ल्याउनु पर्छ ।

(५) जनजाति, बहुजातीय सङ्ग्रहालयः धरानस्थित हात्तीसारमा बन्दै गरेको सङ्ग्रहालय चाँडो निर्माण गरी सबैका लागि खुल्ला गरिनुपर्छ । मेयर हर्क साम्पाङ आफूलाई जनजातिको प्रतीक मान्दछन् । उनीभन्दा अगाडिका  मेयरहरू कृष्णकुमार राई, मनोजकुमार मेन्याङ्बो आदिले जनजाति संस्कृतिको विकास कार्य सुरु गरिसकेका छन् ।

(६) सडक मर्मत र निर्माणः धरानका सडक मर्मत भएका छैनन् । सडक मिचेर नक्सा पास नगरी बनेका घरहरू काठमाडौंका मेयर बालेन साहले जस्तै आँट गरेर भत्काउनु पर्छ र सडक विस्तार गर्नुपर्छ ।

(७) पर्यटन विकासः यसको लागि पहिले सुविधा सम्पन्न होटलहरू बन्नु पर्दछ । पानीको अभावमा राम्रा होटलहरू, पार्टी प्यालेस, समारोह हलहरू बनेका छैनन् । धरानमा दृश्यावलोकन गर्ने स्पान निर्माणको लागि चिण्डेडाँडासम्म पक्का सडक, पाँचकन्यामा चिडियाखाना, विष्णुपादुका जाने रोप–वे आदि निर्माणका लागि आवश्यक कदम चालिनु पर्छ । यसले गर्दा धरानको पर्यटन उद्योग बढ्न सक्छ । साथै पञ्चकन्या, बूढासुब्बा, दन्तकाली, पिण्डेश्वरको गुरुयोजना बनाई बृहत्तर विकास गरिनु पर्छ ।

(८) बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानः यो प्रतिष्ठान आफै रोगले ग्रस्त छ । मेयर हर्क साम्पाङ बेला–बेलामा साइकल चढेर अस्पतालको निरीक्षण गर्न त जान्छन् । तर, अब त्यहाँ भएका भ्रष्टाचार र अन्य समस्याहरू समाधानतर्फ ध्यान दिनुपर्छ । उनी आफै सिनेटका सदस्य हुन् । अहिले बिमा सुविधा काठमाडौं र अन्य स्थानबाट दिएका छैनन् । तर, बी.पी.मा भने छ । बिमाको रकम स्वास्थ्य मन्त्रालयले भुक्तानी दिनुपर्छ अथवा मुलुकबाट नै बिमाप्रथा हटाएको घोषणा गर्नुपर्छ । यो अहिलेको सरकारको नालायकीपन हो ।

(९) सरकारी कार्यालयहरूः धेरै कार्यालयहरू धरानबाट इटहरी, विराटनगरतिर सरे । अब नयाँ कार्यालयहरू ल्याउने कोशिस गर्नुपर्छ ।

(१०) भानु सब्जीमण्डीः भानुचौकको सब्जीमण्डी व्यवस्थित गर्न पैसा चाहिँदैन । खाली व्यवस्थापन गर्नुपर्छ । यो सानो काम पनि मेयर हर्क साम्पाङबाट भएको छैन । उनी आफै बेलुकीपख गएर भानु सब्जीमण्डीको अस्तव्यतता हेरेमा थाहा लाग्दछ, त्यहाँकोे अवस्था कस्तो छ ? यसलाई तुरुन्त सुधार गरिनु पर्छ ।

(११) सुकुम्बासी समस्याः यो समस्या चाँडो समाधान गर्नेतर्फ कार्य गर्नुपर्छ ।

(१२) सार्वजनिक पुस्तकालयः धरान छाताचौकस्थित सार्वजनिक पुस्तकालय व्यवस्थित छैन । यो नगरपालिकाबाटै सञ्चालन त भैरहेको छ । तर, यसको दुर्दशा हेरेर सबै छक्क पर्दछन् । न पत्रपत्रिका छन्, न त नयाँ किताबहरू नै छन् । धरानको बुद्धचौकमा एउटा व्यक्ति पूर्णबहादुर गुरुङबाट सञ्चालित ‘विमल पुस्तकालय’ मेयर साम्पाङको आफ्नै वडा धरान–१८ मा छ । त्यसलाई एकपल्ट हेरेमा थाहा हुन्छ, पुस्तकालय कस्तो हुनुपर्छ ? सार्वजनिक पुस्तकालयको भवन आफ्नै छ । शटरहरूबाट भाडा उठ्छ । त्यो भाडाको रकम मात्र पुस्तकालयमा लगाएमा पनि धेरै सुधार हुने थियो ।

(१३) बजार नियन्त्रणः विराटनगर, इटहरीको भन्दा धरानको बजार धेरै महँगो छ । जग्गाकर र भूमिकर, घरको कर विराटनगर र इटहरीभन्दा बढी छ । यसलाई बराबरी ल्याउनु पर्छ ।

(१४) सभाहलः धरान–८ स्थित सभाहल अविलम्ब मर्मत गरी सञ्चालन गरिनुपर्छ । त्यहाँको खाली जग्गामा स्वीमिङ पुल निर्माण गरिनुपर्छ ।

अन्त्यमा, १०० दिनको मेयर हर्क साम्पाङका कामहरू हेर्दा उनी असफलतातिर लम्कँदै गरेको देखिन्छ । यो मैलेमात्र भनेको हैन, पत्रकारले पनि लेख्दैछन् । चुनावपछि उनको रहन–सहनमा परिवर्तन आएको छ । आज चिनजान गरेको मान्छे भोलिपल्ट भेट्दा चिन्दैनन् । सडक मान्छेबाट उठेका मानिस अहिले चिल्लो गाडीमा कुद्छन् । जनताका समस्याहरू बुझ्न, सुन्न कम्तिमा महिनामा एकपल्ट भेटघाटको कार्यक्रम राखिनुपर्छ । काममा कर्मचारीलाई खटाउनु पर्छ । कार्यालयमा भेटघाटको समय ३ बजेपछि मात्र राखिनु पर्छ । ठूला समस्याहरूको बारेमा निवेदन लिनुपर्छ । निवेदनअनुसार हो–होइन, आफै निरीक्षण गर्नुपर्छ । लेखे बमोजिम नदेखिए कारबाही पनि गर्नुपर्छ । सही भएमा एक हप्ताभित्रमा समाधान गरिनुपर्छ ।

हालैमा एउटा विद्यार्थी सङ्गठनले मेयरको राजीनामा माग गरेको छ । किन ? राजीनामा मागे, बोलाएर छलफल गरिनुपर्दछ । अफिस ठीक १० बजे आउनु पर्छ । कार्यक्रममा जाँदा मेयर वा उपमेयर दुईमा एकमात्र जानुपर्छ । एकजना कार्यालयमै बस्नुपर्छ । बेलाबेलामा कार्यालयका शाखाहरू निरीक्षण गर्नुपर्छ । कुर्सी खाली देखिएमा सोध्नुपर्छ । कार्यालयका कर्मचारी बाहिर जाँदा स्वीकृति लिने प्रणाली लागू गर्नुपर्छ । कुनै पनि काम पेण्डिङ राखिनु हुन्न । हाम्रो काम सुझाव दिने हो । गर्नु नगर्नु मेयर हर्क साम्पाङको काम हो । एउटा माघले जाडो जाँदैन । माघ फेरि आउँछ । भोलिका दिनमा सम्मानित हुने हो भने काम गरेर देखाउनु पर्छ । खोलामा पाइप बोकेर, ढुङ्गा बोकेर, गिट्टी फोडेर काम देखाइँदैन ।

आफ्नो विरोध ग¥यो भनेर अनावश्यक मान्छे थुन्न लगाउनु हुन्न । वराह पीडितको समस्या समाधान गर्नेतर्फ काम गर्नुपर्छ । ‘मलाई सोधेर पैसा राखेको हो र ?’ भनेर जवाफ दिने हैन । नगरपिता भनेको अभिभावक हो । सबैका कुरा सुनेर अविलम्ब समाधान गरिनुपर्छ । मेयर बालेन साहले फोहोर फ्याल्न सकेनन् भन्नुभन्दा धरानको फोहोरलाई सड्ने र नसड्ने फोहोर छुट्याउन लगाएर सड्नेबाट मल र नसड्नेलाई भट्टीमा बालेर खरानी बनाउनु पर्छ । जङ्गलमा सेउतीको डिलमा फोहोर फ्यालेर दुनियाँलाई रोग सार्ने काम बन्द गरिनुपर्छ ।

आउँदो दिनमा सुधार भएमा केही काम गरेको ठहरिनेछ । सबै राजनैतिक दलहरूलाई मिलाएर लग्नु पर्छ । केही राईहरूको जमातसँग हिँडेर अहम्ता देखाउने होइन । राईहरूको जमात त जनमुक्ति, राप्रपा, काङ्गे्रस र एमालेसँग पनि छ । विज्ञहरूको एउटा सल्लाहकार समिति गठन गरी त्यसले दिएको सुझाव पनि लिनु पर्छ । हाम्रो शुभकामना छ । धेरै दिन अझै बाँकी छन् । काम गरेर देखाउँदा सबैको तारिफ पाइन्छ । अर्को चुनावमा मिहिनेत गरिरहनु पर्दैन । अन्तिममा सुझाव दिनमा कम्तिमा आधा घण्टा पत्रपत्रिका पढ्ने बानी बसाल्न जरुरी छ । आफ्नो बारेमा केही लेखेका छन् छैनन् भन्ने थाहा हुन्छ ।