‘हर्क साम्पाङ मुर्दावाद’ नारा लाग्नुको पछाडि कारण खोज्न हामी केही महिना पछाडि फर्किनुपर्ने हुन्छ अर्थात् चुनाव आसपास र त्योभन्दा केही अगि । जुन बेला हर्कराज साम्पाङ ‘विद्रोही’ का रूपमा चिनिन्थे । उनी आफैले चलाएको फेसबुक पेज ‘हर्क साम्पाङ अ रेभ्यूलेसन’ जस्तै उनी धरान उपमहानगरपालिका, खानेपानी व्यवस्थापन बोर्ड तथा नगरका वडाहरूबाट भएको गलत गतिविधिका विषयमा आगो ओकल्थे । त्यही आगो ओकल्ने कारण नै उनी सबैको ‘नोटिस’मा पर्दै गए । 

उनी जनतालाई दुःख आइपर्दा बोल्नका लागि अगुवा भएर पुग्थे । त्यही अगुवा भएर पुग्ने क्रममा वराह बचत तथा ऋण सहकारी संस्थाका पीडितहरूलाई मल्हम लगाउन पुगेका थिए । उनको दैनिकी नै दुःखी, पीडितहरूलाई न्याय दिलाउनमा हुन्थ्यो । यतिसम्म कि खानेपानीको विषयलाई लिएर उनी धरान उपमहानगरपालिकामा दैनिक घेराउ तथा आन्दोलन गर्न पुग्थे । आन्दोलनमा रोक्न खोज्दा गेट नाघेरै भए पनि उनी पालिका परिसरमा छिरेर आफ्नो उपस्थिति देखाउँथे ।

ढुङ्गागिट्टी उत्खननमा उनीमाथि आक्रमणको प्रयास नै भयो । उनीविरुद्ध प्रहरीकहाँ उजुरी नै प¥यो । कयौँ दिनसम्म उनी भूमिगत भए । यस्ता अनेकन अप्ठ्यारा र आन्दोलनबाट हुर्किएका उनी धरानेसामु लोकप्रिय हुँदै थिए । नभन्दै चुनाव आयो । चुनावमा उनी प्रमुख पदमा स्वतन्त्रबाट उम्मेदवारी दिए । स्वतन्त्र उम्मेदवारी मात्रै दिएनन् । उनको पक्षमा जनलहर नै छायो । त्यही जनलहरको परिणाम आज उनी प्रमुख पदमा छन् । 

प्रमुख पदमा पुगेपछि उनले विगतमा गरेका गतिविधिहरूलाई चटक्कै भुलेको प्रमाणित गत आइतबार धरान उपमहानगरपालिकामा भएको घटनाले पुष्टि गर्छ । हर्कराज साम्पाङ तिनै व्यक्ति हुन्, जो हिजो धरान उपमहानगरपालिकाका कर्मचारी, नगर प्रमुखसँग, दैनानुदिन भिड्न पुग्थे । आज उनको स्थान मात्रै फेरिएको हो । हिजो आन्दोलनका अगुवा थिए । आज धरानका नगर पिता छन् । भूमिका फेरिएको छ । हिजो उनी माग्ने ठाउँमा थिए । आज उनी अरूलाई दिने ठाउँमा छन् । तर, आफ्नो फेरिएको भूमिकाबारे उनले बुझ्न सकेनन् । अन्ततः उनको मुख चिप्लियो–‘दिने बेलामा मलाई सोधेर दिनु भएको थियो ?’ फलतः उनीविरुद्ध वराह पीडितहरू खनिए । यतिसम्म कि झ्यालको सिसा तोडफोड गर्नेसम्मको अवस्था भयो । तोडफोड कार्य कानूनतः गलत हो, सरकारी सम्पत्ति तोडफोडको नाममा कानूनले त्यस्ता व्यक्तिलाई पक्राउ गर्न सक्छ । यी त भए कानूनी कुरा । 

तर, त्यहाँ यति मात्रैमा सीमित रहेन, उनको राजीनामा मागियो, उनीविरुद्ध मुर्दावादका नारा लागे । यी नाराहरू सहजै लागेका होइनन् । करिब ४–५ महिना अगाडि फर्किने हो भने उनले वराह पीडितहरूले गरेका आन्दोलनहरूमा सहयोग गरेकै कारण उनीप्रति वराह पीडितहरू आशावादी थिए । वराह पीडितलाई लागेको थियो–‘हाम्रा मागहरू नगर प्रमुख हर्कराज साम्पाङले राम्ररी बुझ्छन् । पीडितको मल्हम लगाउनेछन् ।’ तर पीडितहरूले सोचेभन्दा पृथक उत्तर आएका कारण भीडले फरक रूप लिएको हो ।

तर, मुर्दावादको नारा लागिसकेपछि उनले पोस्ट गरेको फेसबुक स्ट्याटस हेर्ने हो भने शासकको गन्ध आउँछ । लोकतान्त्रिक व्यवस्थामा शासक जहिल्यै जनताप्रति उत्तरदायी हुनुपर्छ । जवाफदेही हुनुपर्छ । शक्ति पृथकीकरणको सिद्धान्तले पनि यही भन्छ ।

यसको कारण पनि आफै हुन्, असर भोग्ने भोक्ता पनि उनै हुन् । दिने स्थानमा पुगेकाले उनले आफूलाई ‘चेक एन्ड ब्यालेन्स’मा राख्न सक्नुपथ्र्यो । चेक एन्ड ब्यालेन्स बोलीमा हुनुपर्छ; भूमिकामा हुनुपर्छ । नगर पिताप्रति आम जनताको अपेक्षा बढी नै हुन्छ । यसको हेक्का नगर पिताले राख्नुपथ्र्यो । तर, मुर्दावादको नारा लागिसकेपछि उनले पोस्ट गरेको फेसबुक स्ट्याटस हेर्ने हो भने शासकको गन्ध आउँछ । लोकतान्त्रिक व्यवस्थामा शासक जहिल्यै जनताप्रति उत्तरदायी हुनुपर्छ । जवाफदेही हुनुपर्छ । शक्ति पृथकीकरणको सिद्धान्तले पनि यही भन्छ ।

कुनै पनि सरकारको प्रमुख तानाशाही र स्वेच्छाचारी नहोस् भनेर नै शक्ति पृथकीकरणको सिद्धान्त अवलम्बन गरिएको हो । राजनीतिशास्त्रका गुरु मानिने ग्रीक दार्शनिक अरस्तुले सुरु गरेको शक्ति पृथकीकरणको आधारभूत सिद्धान्तलाई आधुनिक व्याख्या तथा विश्लेषण फ्रान्सेली दार्शनिक मन्टेस्क्यूले गरेका हुन् । यसले राज्यका प्रमुखहरूलाई स्वेच्छाचारी र तानासाही बनाउनबाट रोक्छ । तर, आफूलाई नगर पिताका रूपमा उभ्याइरहँदा जनताको सेवक हुँ भन्ने बिर्सेको देखिन्छ । उनले केही मिडियालाई ‘काम गर्न नदिएका कारणले बोलेकै हो’ भन्ने अभिव्यक्ति दिएका छन् । हिजो आफ्नो भूमिकालाई उनले चटक्कै भुलेका छन् । हिजो आन्दोलनको अगुवा गरिरहँदा आफ्नो भूमिका के कस्तो थियो भन्नेबारे पनि मनन् गर्नुपर्छ । किनकि विगतकै देन आगत हो । विगत इतिहास हो भने आगत वर्तमान र भविष्य ।

आज उनलाई धराने जनता र विश्वका नेपालीले दुईवटा हिसाबले उच्च सम्मान गरेको देखिन्छ । एउटा–उनको सादगी जीवन र दोस्रो–भ्रष्टाचार विरोधी गतिविधि । सादगी जीवन यसमानेमा कि उनी नगर प्रमुख भए पनि खानेपानीका लागि दिनभरि सामान्य श्रमिकझै खटिन्छन् । पाएको सेवासुविधा अर्थात् गाडीको प्रयोग कमै प्रयोग गर्छन् । आफ्नै मोटरसाइकल प्रयोग गर्छन् । जसले उनको दोस्रो छवीलाई उजागर गर्न सफल भएको छ । उनले आफूले निर्वाचनमा उठिरहँदा पनि भ्रष्टाचार गर्दिन्, यदि गरेको पाइएमा धरान बस्ने छैन भन्ने भनाइलाई पुष्टि गर्न खोजेको देखिन्छ । उनको यी दुई दर्शनकै कारण विश्वभरका नेपालीहरूले उनको महिमागान तथा देवत्वकरण गरिरहेका छन् । यी दुई पाटामा उनी जति विश्वास गर्न योग्य छन् त्यति उनको बोलीमा देखिँदैन । कुन बेला के बोल्ने र पदीय मर्यादालाई ख्याल गर्दै कति संयमित भएर बोल्ने भन्ने विषय हेक्का राखेको पाइँदैन । त्यसबारे यहाँ धेरै भनिरहनु पर्दैन । ‘हर्क साम्पाङ अ रेभ्यूलेसन’ हेरे काफी हुन्छ । 

आज उनलाई धराने जनता र विश्वका नेपालीले दुईवटा हिसाबले उच्च सम्मान गरेको देखिन्छ । एउटा–उनको सादगी जीवन र दोस्रो–भ्रष्टाचार विरोधी गतिविधि । 

यसबारे धरानका स्वतन्त्र बुद्धिजीवी डा. राजेन्द्र शर्मा भन्छन्, ‘हाम्रो नेपाली भाषामा पाँचवटा तहमा आदररार्थी शब्दहरू छन् । तँदेखि मौसुफसम्म । सबैले एकै खालको आदरार्थी प्रयोग गर्न जान्दैनन् । हर्कराजजी जस्तो कल्चरबाट हुर्किएर आउनुभयो । जस्तो परिवेशबाट हुर्किएर आउनुभो त्यहीअनुसारको आदरार्थी प्रयोग गर्नुहुन्छ । तर, मेयर पदमा बसिसकेपछि डिप्लोम्याटिक ल्याङ्बेजको प्रयोग गर्न जान्नुपर्छ । त्यो चाहिँ उहाँमा कमी देखियो । उहाँ धरानको गार्जेन भएर आउनुभएको छ । व्यक्तिगत लान्छना लगाउनु ठीक हुँदैन, प्रमाण भेटियो भने त दण्डित गर्नुपर्छ । विना प्रमाण लान्छना लाउनु गलत हो ।’

वराह पीडितहरू त्यसै आन्दोलित भएका होइनन् भन्ने बुझ्न नगर पितालाई गाह्रो नहोला । त्यहाँ हजारदेखि करोडसम्म बचत गरेका पीडितहरू छन् । आज वराहकै कारणले धरानमा धेरै हदसम्म तरलता उत्पन्न भएको छ । सहकारीप्रतिको विश्वास गुम्दै गएको अवस्था छ । त्यसतर्फ नगर प्रमुखले हेक्का राख्नुपथ्र्यो । किनकि स्थानीय तहलाई संविधानको अनुसूची ८ मा स्थानीय तहको अधिकार सूचीमध्ये दोस्रो नम्बर सूचीभित्र सहकारी पर्छ । त्यसकारण अधिकार माग्न पाउने हक जनतालाई छ । जनताले बोल्नै नपाउने हो भने त्यो कस्तो लोकतन्त्र, कस्तो प्रजातन्त्र ? नगरपितालाई अझ स्मरण रहोस्–नेपालको संविधान २०७२ को धारा १७ को उपधारा २ मा कानून बमोजिम बाहेक कुनै पनि व्यक्तिलाई विचार तथा अभिव्यक्तिको स्वतन्त्रताको अधिकार दिएको छ । 

अहिले नगर पिता भर्चुअल संसारको दुनियाँमा रमाइरहेका छन् । त्यहाँ आउने लाइक, कमेन्ट र सेयरको आत्मश्लाघामा रमाइरहेका छन् । भर्चुअल संसारमा उनलाई देवत्वकरण गरिएको छ । तर, यो भर्चुअल संसार हो । भर्चुअल संसारमा देवत्वकरण र दानवीकरण हुन समय लाग्दैन । भर्चुअल संसारलाई प्रयोग गर्न नजाँदा कानूनको फन्दामा पनि पर्न सकिन्छ । किनकि अहिले नेपालमा ‘साइबर अपराध’को छुट्टै कानून बनिरहेको अवस्था छ । हालसम्म साइबर अपराधका घटनालाई विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गत कारबाही गर्दै आएको छ ।

जनताले पाँच वर्षसम्म उनलाई नगर पिताको ‘म्यानडेट’ दिएका छन् । हिजो चुनावमा उनको पक्षमा जुन जनलहर आयो, त्यो जनलहरलाई पाँच वर्ष नै टिकाइरहन आवश्यक छ ।

यस ऐनअन्तर्गत थुप्रै कारबाही भएका उदाहरणहरू छन् । भर्चुअल संसारमा प्रवेश गरिरहँदा प्रयोगबारे पनि सचेत हुन आवश्यक छ । जनताले पाँच वर्षसम्म उनलाई नगर पिताको ‘म्यानडेट’ दिएका छन् । हिजो चुनावमा उनको पक्षमा जुन जनलहर आयो, त्यो जनलहरलाई पाँच वर्ष नै टिकाइरहन आवश्यक छ । हिजो पकुवा खोला, निशाने खोलाबाट पानी ल्याउनका लागि उनलाई धरानेले जसरी साथ दिएका छन् । विश्वमा रहेका नेपालीले जुन साथ र समर्थन जनाएका छन् । त्यो साथ पाँच वर्षसम्मकै लागि आवश्यक छ । त्यसलाई अक्षुण राख्नका लागि पनि नगर पिताले जिम्मेवार भएर आगामी दिनमा जवाफ दिऊन् ।