धरान । बिरामी उपचार गर्नुभन्दा अगाडि रोग ‘डाइग्नोसिस’ गर्नुपर्छ । रोग डाइग्नोसिस गर्ने काम चिकित्सक र मेडिकल उपकरण चलाउने दक्ष प्राविधिक जनशक्तिको हो । चिकित्सक र प्राविधिक जतिसुकै दक्ष र विज्ञ भए पनि मेडिकल उपकरण छैन भने उनीहरूको पनि केही लाग्दैन । अहिले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेडियोलोजी विभागले यस्तै हालत व्यहोरिरहेको छ ।

रेडियोलोजी विभागमा मेडिकल उपकरण नभएको होइन तर, बिरामीको चापको अनुपातमा हात्तीको मुखमा जिरा सावित भएको छ । अल्ट्रासाउन्ड (भिडियो एक्स–रे) गर्नु परे बिरामीले कम्तिमा तीनसाता पालो पर्खिनु पर्ने अवस्था छ । ताप्लेजुङ, पाँचथर वा ओखलढुङ्गाबाट रिफर भएर आएका बिरामीले अल्ट्रासाउन्ड गर्न तीन साता पर्खिनु पर्ने भएपछि उपचारमा भन्दा अल्ट्रासाउन्ड रिपोर्ट पर्खंदा होटलमा बसेको खर्च बढी हुन पुग्ने ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिका–४ का बाल लिम्बूले बताए ।

उनले भने, ‘मिर्गौलामा समस्या भएर ताप्लेजुङ जिल्ला अस्पतालले रिफर गरेर बीपी प्रतिष्ठान आएको त अल्ट्रासाउन्ड गर्नै मलाई साउन दोस्रोसाताको ‘डेट’ दिएको छ । सामाजिक स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत उपचार गर्न आएको मैले कि साउन दोस्रो सातासम्म पालो पर्खिनु पर्ने भएको छ कि त बाहिरको कुनै अल्ट्रासाउन्डमा जानुपर्ने भएको छ । बाहिर गर्दा मैले स्वास्थ्य बिमा गरेको व्यर्थ हुन्छ । भित्रै गरौं भने पर्खिनु पर्छ । कसले बुझिदिने सर्वसाधारण बिरामीको पीडा ?’ एकजना कुरुवा साथीसहित आएका लिम्बूका लागि यो बर्खामासमा न पहाड फर्केर जानु, न अल्ट्रासाउन्डको पालो पर्खिनु दोधार भएको छ ।

बीपी प्रतिष्ठानमा प्रतिष्ठान शुद्धीकरण अभियान संयुक्त सङ्घर्ष समितिले लगातार आन्दोलन गरेपछि गत असोजमा चिकित्सा शिक्षा आयोगले स्थलगत अध्ययन गर्दा पनि बीपी प्रतिष्ठानको प्रमुख समस्या यस्तै भएको र सेवाग्राहीले सास्ती खेप्नुपरेको प्रतिवेदन तयार गरेर सुधारका लागि सुझाव दिँदै सरकारलाई बुझाएको थियो । उक्त प्रतिवेदन सार्वजनिक भए पनि हालसम्म न सरकारले ध्यान दिएको छ, न त बीपी प्रतिष्ठानले नै ।

ताप्लेजुङबाट आएका लिम्बूजस्तै प्रतिष्ठानमा अल्ट्रासाउन्डको पालो पर्खनुपर्ने बाध्यतामा यतिबेला सयौं बिरामी भौंतारिरहेका छन् । तेह्रथुमको फेदाप गाउँपालिका–४ बाट उपचारका लागि आएका जोगमाया पयाङ्गुको हालत पनि उस्तै छ । उनलाई गत मङ्गलबार रेडियोलोजी विभागको काउन्टरले साउन २४ गतेको ‘डेट’ दियो । उनी भने तल्लो पेट दुखेर हैरान भएकी छिन् । उनले भनिन्, ‘१० मिनेट लाग्ने अल्ट्रासाउन्डका लागि प्राइभेट अस्पताल जाउँ भने बढी खर्च लाग्ने, थैलीमा सीमित रकममात्र छ । प्रतिष्ठानले लामो समय कुराउने भएपछि के गर्ने के नगर्ने भएको छु ।’

प्रतिष्ठानमा दैनिक साढे ३ सय जनाको अल्ट्रासाउन्ड हुने गरेको छ । तीमध्ये वार्डमा भर्ना भएका बिरामीका, इमर्जेन्सीबाट पठाइएका र पेइङका पनि अल्ट्रासाउन्ड हुने गरेको छ । तर, प्रतिष्ठानमा हाल ५ थानमात्र अल्ट्रासाउन्ड रहेका छन् । तीमध्ये पनि इमर्जेन्सी कक्षको अल्ट्रासाउन्ड बिग्रिरहन्छ । शतप्रतिशत भर पर्ने अवस्थामा छैन ।

विभागमा भएकामध्ये पनि एउटामात्र नयाँ र उन्नत प्रविधिमा आधारित छ । बाँकी सबै करिब १३ वर्ष पुराना अल्ट्रासाउन्डले बिरामीको चाप थेगिरहेको रेडियोलोजी विभागका एक अधिकारीले बताए । उनले आफ्नो नाम सार्वजनिक नगर्न अनुरोध गर्दै भने, ‘बिरामी उपचारमा एउटा गतिलो ब्राण्ड बनाएको बीपी प्रतिष्ठानमा हामीले कहिलेसम्म यी थोत्रा र पुराना अल्ट्रासाउन्डको भर पर्ने ? बिरामीको चाप त्यस्तै छ । पुराना र थोत्रा अल्ट्रासाउन्डमा काम गर्दा एउटाले रोग पहिचान नगरे अर्कोमा सर्नु पर्छ । त्यसैले विभागले कम्तिमा ६ थान आधुनिक अल्ट्रासाउन्ड थप्न जरुरी छ ।’

रेडियोलोजी विभागमा अहिले प्रतिष्ठानको व्यवस्थापन पक्षले नयाँ अल्टूासाउन्ड थपेरमात्र नहुने भएको छ । ती अधिकारीका अनुसार रेडियोलोजी विभागमा कार्यरतमध्ये ४ जना प्राविधिक चिकित्सकले राजीनामा दिएर प्रतिष्ठान छाडिसकेका छन् । उनीहरूले छाडेपछि सीमित जनशक्तिको भरमा अल्ट्रासाउन्ड, एक्स–रे र सिटी स्क्यान सेवा दिनु परेको छ । अल्ट्रासाउन्ड अभावले बिरामीले समयमै उपचार नपाउने अवस्था त छँदैछ, विभागमा एक्स–रे मेसिनसमेत अभाव छ । पाँचवटा एक्स–रे मेसिनमध्ये इमर्जेन्सीको एक्स–रे मेसिन र विभागमै रहेको दुईवटा बिग्रेका छन् ।

हाल दुईवटाले काम चलाउनु परेकाले बिरामीको चाप थेग्न गाह्रो भएको एक्स–रे रेडियोलोजी विभागका एक प्राविधिकले बताए । उनले भने, ‘स्वास्थ्य मन्त्रालयले गतवर्ष दिएको आधुनिक डिजिटल एक्स–रे मेसिन बिग्रेर थन्किएको ५ महिना भयो तर, बनाउने सुरसार कसैले गरेको छैन । उक्त मेसिनको जेनेरेटर बिग्रेको छ । बनाउनका लागि कम्तिमा ३५ लाख रुपैयाँ लाग्छ भन्ने सुनिएको छ ।’ भएको एउटा डिजिटल एक्स–रे मेसिन पनि बिग्रेपछि २० वर्ष पुराना मेसिनले काम चलाइरहेको उनले बताए ।

प्रतिष्ठानमा बिग्रेर थन्किएको डिजिटल एक्स–रे मेसिन बनाउनु पर्ने र थप त्यस्तै पाँच थान आधुनिक डिजिटल मेसिन र पर्याप्त जनशक्ति भए सेवाग्राहीलाई तत्काल रिपोर्ट दिन सकिने उनले बताए । प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले भने रेडियोलोजी विभागमा नयाँ उपकरणहरू थप्ने र जनशक्ति पनि थप्ने प्रक्रिया चलिरहेको बताए । उनका अनुसार दुइटा मेसिनहरू थप्नका लागि टेण्डर भइसकेको तर, अझै सामान आपूर्ति हुन सकेको छैन । जनशक्तिका लागि विज्ञापन गर्ने प्रक्रिया सुरु गरेको बताए ।