सुनसरी । प्रदेश १ कै अन्न भण्डारका रूपमा रहेको सुनसरी जिल्लाका किसानले सिजनका बेला मल पाउन सकेका छैनन् ।

समयमै मल नपाउँदा धेरै किसानले अझै रोपाइँ गर्न पाएका  छैनन् । एकपटक रासायनिक मलको प्रयोग गरेपछि खेतमा बालीपिच्छे प्रयोग गर्नुपर्ने भएकोले सिजनमा मल नपाउँदा रोपाइँमा ढिलाइ भएको किसान बताउँछन् । बिउ राख्ने बेलादेखि युरियाको खोजी गरे पनि पाउन नसकेको हरिनगर गाउँपालिका वडानम्बर १ भुटाहाका रफिक अन्सारीले गुनासो गरे ।

‘बिउ राख्ने बेलामा सबैतिर धाएँ तर, कतै पाइएन, अन्तिममा तस्करी गरी ल्याइएको भारतीय मल प्रयोग गरेँ’ उनले भने, ‘अहिले रोपाइँ गर्नेबेलामा रासायनिक मल पाइएको छैन, सोही कारण रोपाइँमा ढिलाइ भएको हो । रासायनिक मलविना धान रोपाइँ गर्दा फल्दैन, अर्कोतिर मल पाइँदैन । हामी किसानको पीडा कसले बुझ्ने ?’

खेतमा एकपटक रासायनिक मल प्रयोग भइसकेपछि प्रत्येक पटक प्रयोग गर्नैपर्छ । इनरुवा नगरपालिका–९ स्थित बबियाका किसान प्रमेश्वर यादव भन्छन्, ‘मल प्रयोग गरिएन भने उत्पादन घट्छ ।’

हरेक वर्ष किसानलाई मल अभाव हुने गरे पनि स्थानीय तह वा सम्बन्धित निकाय मल आपूर्ति गर्न गम्भीर नभएको उनले गुनासो गरे । मलको लागि सहकारी संस्था धाउँदै आए पनि मल आउने निश्चित नभएको यादवले बताए । सिजनमै रासायनिक मल पाउन नसकेको भन्दै किसानले प्रत्येक वर्ष ध्यानाकर्षण गराउँदासमेत आफूहरूलाई रासायनिक मल समयमै उपलब्ध गराउन नसकेकोमा उनी निराश छन् । रासायनिक मलको चरम् अभाव भइरहेको बेला सहकारी संस्थाहरूको समेत मनोमानी बढ्दै गएको किसानहरू बताउँछन् । रासायनिक मल र बिउ सहकारी संस्थाहरूमार्फत् बिक्रीवितरण हुने भएकाले उनीहरूको मनोमानी बढेको किसानको गुनासो छ ।

मल बिक्रीवितरणमा शेयर सदस्यलाई सहकारी संस्थाले प्राथमिकता दिई वास्तविक किसानलाई नदिने गरेको कोसी गाउँपालिका–६ श्रीपुरका किसान जयनारायण मेहताले गुनासो गरे । कतिपय सहकारी संस्थाहरूले सदस्यहरूलाई दिने बहानामा एकैव्यक्तिलाई धेरै बोरा मल दिए पनि आफूहरू लिन जाँदा रित्तो हात फर्काउने गरेको उनको आरोप छ ।

साल्ट्र ट्रेडिङ कर्पोरेशनमार्फत् बिक्रीवितरण गर्ने जिम्मा पाएका सहकारी संस्थाहरूले वास्तविक किसानलाई मल दिन आनाकानी गर्दै आएको किसानको गुनासो छ । बजारमा मल अभावका कारण किसान भौंतारिरहेको अवस्थामा स्थानीय किसानको नाममा ल्याउने मल कालोबजारी गर्दै कतिपय सहकारी सञ्चालकहरूले बेच्ने गरेको स्थानीयको आरोप छ ।

आफ्नै वडामा आएको मल पाइएला भन्ने आशामा बसेका किसान लिन जाँदा सहकारी सञ्चालकहरूले छैन भनेर फर्काउने गरेको किसान यादवले गुनासो गरे । रासायनिक मल नपाउँदा भारतीय बजारबाट तस्करी गरी ल्याइएको मलबाट किसानहरू खेती गर्न बाध्य छन् ।

यसैबीच साल्ट्र ट्रेडिङ लिमिटेड र कृषि सामग्री केन्द्र इटहरीमार्फत् बिक्रीवितरण गर्ने जिम्मा पाएका सहकारी संस्थाहरूले मनोमानी गरेको पाइएमा त्यस्ता सहकारी संस्थालाई कारबाही गरिने भएको छ । किसानलाई सहज र सुलभ दरमा उपलब्ध गराउनका लागि अनुदानमा मल वितरणसम्बन्धी निर्देशिका २०७५ को नियम १५ विपरीत मल बिक्रीवितरण गर्ने सहकारी संस्थालाई कारबाही गरिने जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।

बजारमा मल अभावका कारण किसानहरू भौंतारिरहेको अवस्थामा स्थानीय किसानको नाममा ल्याउने मल कालोबजारी गर्नेमाथि निगरानी बढाइएको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । सङ्घीय सरकारले आवश्यकताभन्दा कम मल पठाएका कारण किसानलाई मल अभाव भएको बताउँदै उनले भने  आवश्यकताअनुसार मल सरकारले किन्न नसक्दा किसानले सहज रूपमा पाउन नसकेका हुन् ।