विराटनगर । सरकारले माग पूरा नगरेपछि पूर्वका उद्योगी र मजदुरहरू दोस्रो चरणको आन्दोलनमा उत्रिएका छन् । 

आर्थिक वर्ष २०७९/८० को बजेटमा भएको राजस्व हेरफेर पुनर्विचार गर्ने प्रतिवद्धता अर्थमन्त्री जर्नादन शर्माले गरेका थिए ।

तर शर्माले प्रतिवद्धता अनुसार पुनर्विचार नगरेपछि उद्योगी र मजदुरले प्रदर्शन गर्दै दोस्रो चरणको आन्दोलन बिहीबारदेखि सुरु गरेका हुन् । वनस्पति घिउतेल, स्यानिटरी प्याड र एमएस वायर रडमा आधारित उद्योगलाई बजेटले मार्का पारेको भन्दै तीन व्यावसायिक सङ्गठन र चार मजदुर सङ्गठनले दोस्रो चरणको संयुक्त आन्दोलन सुरु गरेका हुन् । आन्दोलनमा मोरङ व्यापार सङ्घ, उद्योग सङ्गठन मोरङ र नेपाल उद्योग परिसङ्घ (सिएनआई)–को प्रदेश नम्बर १ सहित नेपाली काङ्ग्रेस, नेकपा एमाले, माओवादी केन्द्र र नेकपा एस समर्थित ४ ट्रेड युनियन सहभागी छन् ।

उनीहरुले अर्थमन्त्री शर्माको राजिनामा माग समेत गरेका थिए । मोरङको बुढीगङ्गा गाउँपालिकामा पर्ने धरान–विराटनगर राजमार्गको गोकुवा चोकबाट विरोधजुलुस र नेमुवा चोककमा कोणसभाको आयोजना गरिएको थियो ।

विरोध जुलुसपछि आयोजित कोणसभामा संविधान सभा सदस्य एवम् मोरङ व्यापार सङ्घका पूर्व अध्यक्ष पवनकुमार शारडाले झुट बोल्ने अर्थमन्त्रीलाई पदमा एक मिनेट पनि बस्ने अधिकार नभएको बताए ।

उद्योगी शारडाले गत जेठ २७ गते अर्थमन्त्री शर्मा र अर्थसचिव मधुकुमार मरासिनीले उद्योगी व्यवसायीलाई वार्तामा बोलाएर बजेट पास भएका भोलिपल्टै तीन वटै उद्योगका समस्या समाधान गर्ने वचन दिएपनि अहिले कार्यान्वयन नगरेको आरोप लगाए ।

उद्योग सङ्गठन मोरङका अध्यक्ष सुयशराज प्याकुरेलले अर्थमन्त्री र अर्थसचिवले आफ्नो बचन पूरा नगरेको बताए । सिएनआई प्रदेश नम्बर १ का अध्यक्ष भीम घिमिरेले जेठ २७को आश्वासनको परिणाम अहिलेसम्म नआएको गुनासो गर्दै यो मुलुकमा आन्दोलनन गरी केही नहुने परम्परा बसेकाले व्यवसायी र मजदुर संयुक्त रूपमा सडकमा निस्किएको बताए ।

व्यापार सङ्घका अध्यक्ष नविन रिजालले व्यवसायी र मजदुर सडकमा आउनमा सरकार जिम्मेवार भएको हुँदा यो आन्दोलनमाकुनै अप्रिय घटना भए त्यसको जिम्मेवारी पनि सरकारले नै लिनुपर्ने बताए । जस्मिन हाइजिनका स्यानिटरी प्याडका सञ्चालक पुनीत शारडाले विराटनगरबाट सुरु भएको यो आन्दोलन अब सिंहदरबार र सर्वोच्च अदालतसम्म पुग्ने चेतावनी दिए ।