सुनसरी । लगातार बढ्दै गएको गर्मीका कारण जिल्लाको जनजीवन प्रभावित भएको छ ।

केही दिनयता अत्यधिक रूपमा बढेको गर्मी र सुख्खा मौसमका कारण जिल्लाको  सदरमुकाम इनरुवा, लौकही, भण्टाबारीसहितका क्षेत्रको जनजीवन प्रभावित भएको हो । बढ्दै गएको गर्मीका कारण विद्यार्थी, बालबालिका, वृद्धावस्थाका तथा मजदुर वर्ग बढी प्रभावित हुने गरेका छन् ।

गर्मी बढेसँगै अस्पतालमा श्वास–प्रश्वास, ज्वरो आउने, टाउको दुख्ने, वाक्वाकी लाग्नेजस्ता बिरामीका चाप बढेको जिल्ला अस्पताल इनरुवाका प्रमुख देवराज घिमिरेले बताए । गर्मी बढ्दै गएकाले सर्वसाधारणहरू आवश्यक काम बाहेक घरबाहिर कमै निस्कने गरेका छन् । केही दिनयता तापक्रम बढेसँगै सुनसरीसहित तराईका जिल्लामा गर्मी बढेको हो । अत्यधिक गर्मी भएपछि जिल्लाका मुख्य बजारमा चहल–पहल समेत घटेको छ ।

पौडी खेल्नेको भीड
गर्मी छल्न कोसी कटानमा पौडी खेल्नेको भीड बढेको छ । इटहरी, झुम्का, इनरुवा, लौकही, भण्टाबारीसहितका स्थानबाट युवाहरू गर्मी छल्न कोसी कटानमा आउने गरेका छन् । अत्यधिक गर्मीले जनजीवन प्रभावित भएको बताउँदै स्थानीय राज अलीले कोसीको चिसो पानीमा पौडी खेलेर गर्मीको समय बिताउने गरेको बताए ।

कोसी मावि लौकहीमा कक्षा ८ मा अध्ययनरत उनले अत्यधिक गर्मीका कारण विद्यालयमा गएर पढ्ने अवस्था नरहेको बताए । उनले भने, ‘दिउँसो झन् धेरै गर्मी हुन्छ, त्यसमाथि टिनको छानो भएको रुममा कसरी बस्ने ?’ पढ्न गए पनि धेरैजसो विद्यार्थीहरू दुई घण्टी वा टिफिनसम्म मात्र विद्यालयमा बस्ने गरेका छन् । अत्यधिक गर्मी बढेपछि कतिपय सरकारी विद्यालय बन्द भएका छन् भने खुलेका विद्यालयमा पनि गर्मीका कारण विद्यार्थीहरू पढ्न नजाने र गएकामध्ये पनि धेरैजसो विद्यार्थीहरू १ नबज्दै फर्किने गरेका छन् ।

लौकही, हरिपुर, श्रीपुर, भण्टाबारी क्षेत्रका बीचमै विद्यालयबाट घर फर्केकाहरूमध्ये कोही घरायसी काम गर्ने गरेका छन् भने बाँकी गर्मी छल्न कोसी कटानमा पौडी खेल्दै दिन बिताउने गर्छन् ।

कोसी कटानमा नियमित रूपमा १ सय ५० देखि ३ सय को सङ्ख्यामा नुहाउन र पौडी खेल्न सर्वसाधारणहरू आउने गरेको स्थानीय बताउँछन् । बिदाको दिन कोसी कटानमा पौडी खेल्नेको भीड झनै बढ्ने गरेको छ । यात्रुदेखि लिएर परिवारसहित बिदाका दिन रमाइलो गर्न सयौंका सङ्ख्यामा सर्वसाधारण आउने गर्छन् ।

पेय पदार्थको व्यापार बढ्यो
बढ्दो गर्मीले चिसो पेयपदार्थ, आइसक्रिम र उखुको जुसको व्यापार बढेको छ । गर्मीले गर्दा फलफूल, पेयपदार्थको व्यापार बढेको छ भने बजारमा मेसिनबाट जुस बनाउने व्यवसाय फस्टाएको छ । गर्मी बढेसँगै बिहानैदेखि बजारमा जुस पिउने सर्वसाधारणको भीड देखिन थालेको छ ।

गर्मीबाट केही राहत मिल्ने भएकोले जुस तथा पेयपदार्थ पिउने उपभोक्ताको भीड हुँदा व्यापारसमेत बढेको हो । गर्मीको मौसममा जुस बेचेर दिनको ३ हजारदेखि ५ हजारसम्म आम्दानी गर्ने गरेको कोसी गाउँपालिका–१ स्थित लौकहीका रमेश यादवले बताए । २० रुपैयाँका दरले प्रतिगिलास उखुको जुस बेच्ने गरेको बताउँदै उनले घरपरिवार चलाउन सहज भएको बताए ।