सुनसरी । कोसी गाउँपालिकाले नीति तथा कार्यक्रमसहित बजेट पनि सार्वजनिक गरेको छ ।

गाउँपालिका अध्यक्ष ऐयुब अन्सारीले आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रमसहित ५७ करोड ८० लाख रुपैयाँको बजेट सार्वजनिक गरेका हुन् । ‘सुरक्षित र समृद्ध कोसीको आधार, कृषि पर्यटन र दिगो पूर्वाधार’ भन्ने नाराका साथ असार ५ गते गाउँ कार्यपालिकाको बैठकबाट स्वीकृत आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम प्रस्तुत गरेको गाउँपालिकाका अध्यक्ष अन्सारीले जानकारी दिए । कोसी गाउँपालिकाको प्रस्तुत उक्त नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, कृषि र पर्यटन क्षेत्र मुख्य प्राथमिकतामा परेका छन् ।

यस्तै पालिकाको आफ्नै प्रशासनिक भवन निर्माण योजनालाई समेत उच्च प्राथमिकतामा राखिएको छ भने आवश्यकताअनुसार वडा कार्यालयहरूको भवन निर्माण गर्न सङ्घीय सरकारसँग समन्वय गर्ने कोसी गाउँपालिकाको कार्यालयले जनाएको छ । यस्तै महिनामा एकपटक ‘जनतासँग अध्यक्ष’ कार्यक्रमलाई निरन्तरता दिइने भएको छ ।

पालिकाबाट करार सेवामा कार्यरत अहेव वा सो सरहका कर्मचारीहरू वा कार्यालय सहयोगीहरूको करार म्याद थप नगर्ने गाउँपालिकाका अध्यक्ष अन्सारीको भनाइ छ । यस्तै समृद्ध कोसी निर्माणको अभियानअन्तर्गत कृषि क्षेत्र र किसानहरूलाई उच्च प्राथमिकतामा राख्दै कृषि मिटरको प्रयोग बढाउनको लागि पालिकाको तर्फबाट उठ्ने शुल्कको २५ देखि ५० प्रतिशतसम्म अनुदान दिने नीति बनाएको अध्यक्ष अन्सारीले बताए ।

यस्तै कृषकहरूलाई समयमै मल उपलब्ध गराउन कृषि सहकारी तथा कृषि समूहलाई बढी कोटा दिलाउनका लागि सम्बन्धित निकायसँग पहल गरिने बताइएको छ । माछा पोखरीलाई व्यवस्थित गर्दै कोसी गाउँपालिकालाई माछा जोनको रूपमा विकास गर्न प्रादेशिक र सङ्घीय कार्यालयहरूसँग समन्वय र सहकार्य गर्ने नीति गाउँपालिकाको कार्यालयले लिएको छ ।

पशुपालक किसानहरूलाई व्यवसाय दर्ता, बजारीकरण, योजना निर्माणलगायत विषयमा उद्यमशीलता विकास तालिम प्रदान गरिनेछ । यस्तै टोल–टोलमा पशु प्राविधिकबाट घुम्ती सेवा सञ्चालन गर्ने नीति कोसी गाउँपालिकाले लिएको छ । दुग्ध व्यवसाय विकासका लागि निजी डेरीसँग समन्वय गर्दै उचित मूल्यमा दुग्ध सङ्कलन गर्ने व्यवस्था मिलाइने नीति लिएको छ ।

प्रत्येक वर्ष एक हजारलाई रोजगारी
उद्यमशीलता तालिममार्फत् बेरोजगार व्यक्तिहरूलाई अन्तरमनबाट उद्यम गर्न प्रोत्साहित गर्दै प्रत्येक वर्ष एक हजार जनालाई रोजगारी सिर्जना गर्ने पञ्चवर्षीय उद्यम विकास रणनीतिक योजना कार्यान्वयन गर्ने प्रस्तुत नीति तथा कार्यक्रममा उल्लेख छ ।

शिक्षित, बेरोजगार युवा, महिला, विपन्न वर्ग, अपाङ्गता भएका व्यक्तिहरूमा रोजगारी र आत्मनिर्भरता बढाउनका लागि पालिकाकै गौरवको योजना कार्यान्वयन ल्याइने उल्लेख छ । जनताको आयस्रोत वृद्धि, खाद्य सुरक्षा, स्वच्छ खानेपानी, स्वास्थ्य, शिक्षा, पूर्वाधार विकास र सुशासनलाई मुख्य आधार मानेर बजेट विनियोजन गरिएको गाउँपालिकाको कार्यालयले जनाएको छ ।

गाउँपालिकाको कार्यालयले सङ्घीय सरकार वित्तीय सामानीकरण १५ करोड १० लाख, सङ्घीय सशर्त अनुदान २० करोड ५८ लाख, सङ्घीय विशेष अनुदान दुई करोड, सङ्घीय समपूरक अनुदान दुई करोड, सङ्घीय राजस्व बाँडफाँड ११ करोड १ लाख १८ हजार, प्रदेश सामानीकरण ८२ लाख ६० हजार, प्रदेश सशर्त अनुदान १३ लाख ३० हजार, प्रदेश समपूरक अनुदान एक करोड, प्रदेश वन रोयल्टी १० लाख, प्रदेश राजस्व बाँडफाँड सवारी ४४ लाख ९२ हजार, प्रदेश राजस्व बाँडफाँड जग्गा रजिष्ट्रेशन ६० लाख, आन्तरिक आम्दानी दुई करोड र सञ्चित कोष मौज्दात दुई करोड   गरी जम्मा ५७ करोड ८० लाख बराबरको नीति तथा कार्यक्रम प्रस्तुत गरेको हो ।