भोजपुर । भोजपुरमा नियमित बिद्युत् आपूर्ति नहुँदा उ उपभोक्ता  मारमा परेका छन् । विद्युत् प्राधिकरणको लापरबाहीले लगातार बिद्युत् अवरुद्ध हुँदा जिल्लाका उपभोक्ता  मारमा परेका हुन् । छिन छिनमा बिद्युत् आउने जाने भएकाले बिद्युत् दुर्घटना हुने जोखिम बढेको छ । बिद्युत् झिपिक्क आउने फेरी जाने समस्या अत्यधिक भएकाले विद्युतीय उपकरणमा क्षति भइरहेको भोजपुर सामुदायिक रेडियोकी समाचार सम्पादक तथा कार्यक्रम प्रमुख शारदा तामाङले बताइन ।

प्रमुख तामाङले भनिन् “दिनमा ५० पटक भन्दा बढी छिन छिनमा बिद्युत् आउने जाने भए पछि रेडियोका ट्रान्समिटर , युपिएस , मिक्स्चर , कम्प्युटर लगायत बिजुलीबाट चल्ने सामाग्रीहरू बिग्रने गरेका छन् , यसका साथै आगलागी तथा करेन्ट लागेर ज्यानै जाने सम्भावना पनि उतिmकै छ , यस प्रति प्राधिकरणको ध्यान जानु पर्छ ”। समस्या समाधानका लागि सरोकारवाला निकायको समेत ध्यानाकर्षण हुनु पर्ने उनको भनाई छ । बिद्युत् नियमित आपूर्ति नभएको प्रति स्थानीयको आक्रोश चुलिएको छ ।

स्थानीयले प्राधिकरणको लापरबाहीलाई चासो नदिएको भन्दै सरोकारवाला निकाय र जिल्लाका राजनीतिक दलहरुसँग पनि गुनासो गरेका छन् । समस्या समाधानका लागि सरोकारवाला निकाय र जिल्लाका राजनीतिक दलहरूले चासो नदिएको प्रति भोजपुर नगरपालिका १२ टक्साएका घामचन्द्र दाहालले तीव्र असन्तुष्टि जनाए । उनले जिन्दाबाद र मुर्दावादको नारा लगाउन हजारौँ कार्यकर्ता उतार्न सक्ने राजनीतिक दलका नेताहरू कानमा तेल हालेर बस्नु दुखद भएको गुनासो पोखे ।

दाहालले तत्काल समस्या समाधानका लागि जिल्लावासीले प्राधिकरणलाई दबाब दिनु पर्नेमा जोड दिए । यता नेपाल बिद्युत् प्राधिकरण प्रदेश नम्बर १ प्रादेशिक कार्यालय भोजपुर वितरण केन्द्रका प्रमुख पुरुषोत्तम रेग्मीले भने समस्या समाधानका लागि काम भइरहेको बताए । उनले भोजपुर नगरपालिका ९ काफ्ले फिडरमा रहेको समस्या पत्ता लगाई बनाइएकाले बिद्युत् आउने जाने क्रम घट्ने दाबी गरे ।

प्रमुख रेग्मीले थपे “ भर्खरै काफ्ले फिडरको समस्या समाधान भएको छ , अब अन्य ठाउँका समस्या पत्ता लगाएर समाधान गर्ने कोसिसमा छौ , आशा छ उपभोक्ताको गुनासो गर्ने दिन आउने छैन , नियमित बिद्युत् प्रयोग गर्न पाउनेछन् ” । प्रमुख रेग्मीका अनुसार ३३ केभिए प्रसारण लाइन अवरुद्ध हुँदा स्थानीय इष्टर्न हाइड्रोपावर र टक्सार पिखुला खोला हाइड्रो पावरबाट उत्पादित बिद्युत् आपूर्ति गर्दा लोड कम भएकाले समस्या हुने गरेको छ । 

आधा जनसख्यमा मात्र बिद्युतको पहुचमा 

जिल्लाका आधा जनसख्यमा मात्र बिद्युत् पहुँचमा रहेका छन् । नेपाल विद्युत् प्राधिकरण भोजपुर वितरण केन्द्रका अनुसार केन्द्रीय विद्युत् प्रसारण लाइनबाट जिल्लाका ५० दशमलव ३३ प्रतिशत जनता बिद्युत् पहुँचमा रहेका हुनु । वि।सं २०३८ सालमा सिक्तेल खोला जलविद्युत आयोजनाबाट उत्पादन भएको विद्युत् भोजपुर सदरमुकामका नागरिकले पहिलो पटक उपभोग गरेका थिए ।

जिल्लाका नागरिकले विद्युत् सेवाको उपभोग गर्न पाएको करिब ४० वर्ष पुगेको छ । अहिले सबै भन्दा बढी टेम्केमैयुङ गाउँपालिकामा ९५ प्रतिशत जनताले केन्द्रीय प्रसारण लाइनको विद्युत् उपभोग गरिरहेका छन् ।

यो गाउँपालिका प्रदेश १ कै पहिलो उज्यालो गाउँपालिका घोषणा भइसकेको छ । केन्द्रीय प्रसारण लाइन प्रयोग गर्ने दोस्रो स्थानीय तह भोजपुर नगरपालिका रहेको छ । भोजपुरको अन्य सात पालिकाहरूमा पनि बिद्युत् बिस्तारको काम भइरहेको छ ।

१३ मेगावाट विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडियो

जिल्लामा इष्टर्न र टक्सार पिखुवा खोला हाइड्रोपावर दैनिक १३ मेगावाट विद्युत् उत्पादन भइरहेको छ । इष्टर्नबाट पाँच र पिखुवा खोला हाइड्रोपावरबाट ८ गरी १३ मेगावाट विद्युत् उत्पादन भइरहेको हो । यी दुवै हाइड्रोपावरबाट उत्पादन भएको १३ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । 

यस्तै उत्तरी क्षेत्रमा अवस्थित चिर्खुवा खोला–अपर र लोअर दुई आयोजना निर्माण भइरहेका छन् । चार दशमलव सात मेगावाटको अपर चिर्खुवाको ८० प्रतिशत बढी काम सकिएको छ । त्यस्तै जिल्लाको सबभन्दा ठुलो इर्खुवा खोला जलविद्युत आयोजनाको कामले पनि तीव्र गति लिएको छ । १५ मेगावाट क्षमता रहेको यो आयोजना दुई वर्ष अघि सुरु भएको हो ।

त्यसै गरी षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकाको सिमानामा पर्ने श्याम खोलाबाट पनि सात मेगावाट क्षमताको विद्युत् आयोजना सञ्चालनको तयारी भइरहेको छ । यी बाहेक जिल्लामा साना ठूला गरी दुई दर्जन बढी आयोजना सञ्चालन तथा निर्माणको तयारीमा रहेको नेपाल विद्युत् प्राधिकरण भोजपुर वितरण केन्द्रले जनाएको छ ।