विराटनगर । प्रदेश १ सरकारले आर्थिक वर्ष २०७९/०८० सालका लागि पेश गरेको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ ।

आइतबार बसेको प्रदेशसभा बैठकमा सभामुख प्रदीपकुमार भण्डारीले नीति तथा कार्यक्रम बहुमतले पारित गरेको घोषणा गरेका हुन् । बैठकमा मुख्यमन्त्री राजेन्द्र राईले सासंद्हरूले उठाएका प्रश्नहरूको जवाफ दिएका थिए । नीति तथा कार्यक्रममाथि एमालेका सांसद्हरू हिक्मतकुमार कार्की, जीवन घिमिरे, बुद्धिकुमार राजभण्डारी, रामबहादुर मगर र लीलावल्वभ अधिकारीले संशोधन गर्ने प्रस्ताव राखे पनि संशोधन नगरी बहुमतले प्रस्ताव पारित गरेको हो ।

प्रस्तावहरू बहुमतले अस्वीकृत भएका थिए । नीति तथा कार्यक्रममाथिको छलफलमा पूर्व मुख्यमन्त्रीद्वय शेरधन राई र भीम आचार्यसहित २० जना प्रदेशसभा सदस्यहरूले बोलेका थिए । छलफलमा उठेको प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री राजेन्द्र राईले राजनीतिक मतभेद र राजनीतिक विचार, दृष्टिकोण फरक–फरक भए पनि प्रदेश विकासमा एकताबद्ध भएर अघि बढ्न आग्रह गरे । उनले सांसद्हरूलाई प्रस्तुत नीति तथा कार्यक्रम अनुरूप नै आगामी वर्षको बजेट आउने विश्वास दिलाए ।

सरकारबाट भएका कमीकमजोरी औंल्याउनु सकारात्मक भए पनि प्रदेश सरकारले केही गर्दै गरेन भन्नु पूर्वाग्रही हुने उनले बताए । ‘पदमा भएपछि एउटा भाषा र पदबाहिर भए अर्को भाषा किन बोल्छौं ?’ –मुख्यमन्त्री राईले भने । बजेट तथा नीति कार्यक्रम साझा विषय भएकोले यसलाई मिलेर अगाडि बढाउनु पर्नेमा उनले जोड दिए । नीति तथा कार्यक्रममाथिको छलफलमा सांसद्हरूले विभिन्न प्रश्न र गुनासाहरू राखेका थिए । एमाले सांसद् कार्कीले नीति तथा कार्यक्रममा अमूर्त कुराहरू भएको बताए । उनले प्रदेशको नामकरण चाँडै गर्नुपर्ने बताए ।

‘प्रदेश नामकरणको लागि लागि प्रस्ताब राख्दछु’–उनले भने । नीति तथा कार्यक्रममा नामकरणका लागि कुनै विषयमा समावेश नगरिएको उनले बताए । सबैको साझा सहमतिको लागि प्रदेशको नामकरणका लागि एमालेले पाँच सदस्यीय समिति पनि बनाएको उनले बताए । अहिलेको सरकार नामकरणको लागि उदासीन बनेको उनले आरोप लगाए । ‘नामकरणका लागि साझा नाम बनाउन हामी प्रतिबद्ध रहेका छौं’ उनले भने, ‘प्रदेशको नामकरणको लागि सरकारको तर्फबाट साझा नाम ल्याउनुपर्दछ । त्यसमा हामी सहमति जनाएर नामकरणमा सहमत हुनेछौं ।’ अहिले आफूहरू बेनामी प्रदेश भनेर चिनिने गरेको उनले सुनाए ।

साझा नामावली राख्ने विषयमा संसद्मा सबैभन्दा ठूलो दलको हिसाबले हामी जुनसुकै मूल्य चुकाएर भए पनि नाम राख्ने तयारी भएको उनले बताए । ‘राजधानी रहेको ठाउँमा प्रदेशको संरचना बनाउन सुरु गर्ने नीति तथा कार्यक्रममा पनि उल्लेख भएको छ । यो खुसीको कुरा हो’ उनले भने, ‘ठूलो संरचना बनाउने नाममा सयौं बिघामा प्लटिङ गर्ने, भूमाफियाको कब्जामा छोडिदिने र भूमाफियाको योजनाअनुसार प्रदेशको राजधानीको संरचना कहाँ बनाउने भन्ने कुरा उनीहरुको हातमा ढुंयाउने प्रयास गरियो भन्ने प्रदेश सरकारका प्रतिको आलोचना बढेर जानेछ । जनताको वितृष्णा बढ्नेछ । त्यसमा सरकार सचेत हुन जरुरी छ ।’

पूर्वमन्त्री समेत रहेका सांसद् कार्कीले बाढीपहिरो र प्राकृतिक विपद्मा सरकारले पूर्वतयारी नगरेको पनि आरोप लागए । ‘सरकारले क्षतिपछि मर्मतसम्भार गर्न स्थायी कोष खडा गर्नेतर्फ ध्यान दिनुपर्ने हो । विपद् सधैँ दोहोरिन्छ, तर बजेट अपर्याप्त पर्छ । कोष भयो भने राम्रो हुन्छ’–उनले भने ।

अघिल्ला दिनका नीति तथा कार्यक्रममाथिको छलफलमा प्रमुख विपक्षी दल नेकपा (एमाले)का सांसद्हरूले चुनावी सरकारले दीर्घकालीन महत्वका र पूरा हुन नसक्ने योजनाहरू ल्याएको भन्दै आलोचना गरेका थिए ।
rajendra-rai-3
‘ढङ्ग पुर्याउँदा १० सिटे पनि मुख्यमन्त्री बन्दोरहेछ’
प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले ढङ्ग पु¥याएर काम गर्दा सानो दल पनि मुख्यमन्त्री बन्ने बताएका छन् ।

प्रदेशसभा बैठकमा आइतबार नीति तथा कार्यक्रममाथिको छलफलमा उठेको प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री राईले यस्तो बताएका हुन् । ‘ढङ्ग नुपग्दा ठूलो दल पनि बाहिरिनु पर्दोरहेछ,’ उनले भने, ‘ढङ्ग पुर्याएर काम गर्यो भने मजस्तो १० सिटे पनि मुख्यमन्त्री पड्काउँदो रहेछ ।’

कानूनको सीमामा रहेर मन्त्रालय विस्तार गरेको उनले बताए । आवश्यक परे थप मन्त्रालय पनि विस्तार गर्ने योजना रहेको मुख्यमन्त्री राईले बताए । मुख्यमन्त्री राईले सांसद्हरूलाई प्रस्तुत नीति तथा कार्यक्रम अनुरूप नै आगामी वर्षको बजेट आउने विश्वास दिलाए ।