भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । अधिकांश तहमा मुख्य राजनीतिक पार्टीहरूको वर्चश्व देखिन्छ । तर, केही पालिकामा स्वतन्त्र उम्मेदवारहरूले बाजी मारिसकेका छन् भने काठमाडौं, धनगढी र जनकपुरजस्ता देशकै ठूल्ठूला सहरहरूमा अग्रता लिइरहेका छन् भने धरानलगायतका सहरहरूमा समेत उनीहरूको उत्साहजनक मत आइरहेको छ । कुनै पनि पार्टी सङ्गठनसँग सम्बन्ध नभएका स्वतन्त्र उम्मेदवारहरूले मुख्य पार्टीका उम्मेदवारलाई चुनौती दिनु भनेको स्वभाविक होइन । यसरी स्वतन्त्र उम्मेदवारहरूले व्यापक जनाधार र बलियो सङ्गठन भएका दलहरूलाई टक्कर दिनसक्ने वस्तुगत धरातल कसरी निर्माण भइरहेको छ ? यसले सबैको गम्भीर ध्यान खिचिरहेको छ । यो आम बहस र चासोको विषय बनिरहेको देखिन्छ । यहाँ यसै सन्दर्भमा चर्चा गरिएको छ ।

पहिलो, राजनीति भनेको समाजलाई अग्रगामी दिशानिर्देश गर्ने पथप्रदर्शक सिद्धान्त हो । मानव समाजलाई नेतृत्व गर्ने निरन्तर आन्दोलन नै राजनीति हो । यसले समाजलाई सही गन्तव्यतर्फ डो¥याउनु अनिवार्य हुन्छ । त्यसको लागि कुनै पनि राजनीतिक शक्तिसँग स्पष्ट विचार र दृष्टिकोणद्वारा निर्देशित निश्चित उद्देश्य वा गन्तव्य हुनै पर्दछ । निश्चित उद्देश्य प्राप्तिको लागि कार्यदिशा र कार्यनीतिसहितको कार्यक्रमिक शृङ्खला विन्यास गर्नै पर्दछ । अन्तिम उद्देश्य प्राप्तिको लागि गरिने तमाम् राजनैतिक क्रियाकलापहरूलाई नै सग्लोमा आन्दोलन भनिन्छ । यस्तै निरन्तर राजनैतिक आन्दोलनको सिलसिलामार्पmत् जनचाहना अनुकूल परिवर्तन, न्याय, समानता, समृद्ध र सुखी समाज निर्माण सम्भव हुने गर्दछ ।

तर, वस्तुतः आज राजनैतिक आन्दोलन नितान्त रक्षात्मक रहेको छ । अझ यो आन्दोलनको निरन्तर प्रक्रियामा देखिँदैन । राजनैतिक आन्दोलन प्रधानपक्ष हो भने अन्य आन्दोलनहरू गौणपक्ष हो । औसत पार्टीहरूले गरिरहेको सम्पूर्ण राजनैतिक हर्कतहरू पनि विकृत, बोझिलो र विसङ्गतिपूर्ण बन्दै गइरहेको छ । सार्वभौमतः राजनैतिक आन्दोलन रक्षात्मक हुँदा अन्य सामाजिक, सांस्कृतिक, धार्मिक तथा जातीय आन्दोलनहरू हावी हुने गर्दछ । अर्थात् विचारभन्दा भावना अनि संस्थाभन्दा व्यक्तिप्रधान हुन्छ । असलीभन्दा ढोंग साथै समग्रभन्दा अंश हावी हुन्छ । टाउकोभन्दा औंला ठूलो वा सिङ्गो शरीरभन्दा अङ्गप्रधानजस्तो देखिन्छ । कुनै पनि समस्याको समाधान विचार, राजनीति, विधि पद्दतिमा भन्दा पनि प्राविधिक, टिपन–टापन र बनिबनाउ सेटमा खोजिन्छ । यस्तो परिवेशमा समग्र राजनैतिक आन्दोलनको भूमिकालाई नजरअन्दाज गरिन्छ । स्वभाविक भन्दा अनौठो र पुरानोभन्दा नयाँको आकर्षण हुन्छ । समग्रलाई बेवास्ता गर्दै अंशमा समाधान खोजिन्छ । साथै सारभन्दा रूपमा रमाउने संस्कृति हावी हुन्छ ।

यस्तो वस्तुगत परिदृश्यमा राजनीतिप्रतिको विरोध, वितृष्णा र अविश्वास उत्कर्षमा पुग्दछ भने बनिबनाउरूपमा सामाजिक वा व्यक्तिगत अभियन्ताहरूप्रतिको आकर्षण बढ्दछ । सम्पूर्ण कमजोर हुन्छ भने अंश बलियो हुन्छ । अर्थात् खास समाजमा समग्र आयाम रक्षात्मक हुँदा अंशगत आयाम हावी हुन पुग्दछ । यही नियमानुसार पछिल्लो समय स्वतन्त्र अमूक व्यक्ति पूर्णजस्तो र पार्टी अंशजस्तो हुँदैछ । सामाजिक अभियान प्राथमिकजस्तो र राजनीतिक आन्दोलन सहायकजस्तो भइरहेको छ । यस्तै संस्कारबाट पनि समाजको समस्या हल भए ठीकै थियो । यसमा यो पङ्क्तिकारले गुमाउने वा पाउने कुनै स्वार्थ छैन । तर, सचेत भएर मनन् गर्दा यसमा समस्या निदानको वस्तुवादी आधार देखिँदैन । किनकि समग्रलाई नजरअन्दाज गरेर गौण वा अंशद्वारा हल खोज्नु भनेको हावामा महल खडा गर्नु बराबर हो । किनकि अंश र सहायक आयामहरू निर्णायक हुँदैनन् । निर्णायक नभएपछि नेतृत्व गर्न सक्दैन । नेतृत्वदायी भूमिका नभएपछि निकास पनि आउँदैन । सही निकास विना विद्यमान समस्याहरूको हल हुँदैन । तब राष्ट्रिय राजनीतिले सही दिशा पकड्दैन । सत्य यही हो ।

दोस्रो, वस्तुतः राजनीति मानव समाजको मेरुदण्ड हो । यो समाजको नेतृत्व पनि हो । विकृत भइरहेको छ तर, यसलाई जसरी पनि रूपान्तरण गर्नु पर्दछ । यसलाई कतैबाट पनि नजरअन्दाज गर्न सकिन्न । तर, हाम्रो राष्ट्रिय राजनीति असाध्यै विकृत, विसङ्गतिपूर्ण, बोझिलो र बदनाम बन्दै गइरहेको छ । इमान्दारिता र नैतिकताहरू कम्जोर बनिरहेको छ भने ठगठाग र जालझेल संस्थागत भइरहेको छ । यो सबैभन्दा दुःखद् कुरा हो । राजनीति गुरु हो भने सामाजिक सत्ताहरू चेला हो । अर्थात् विकृत, भ्रष्ट, अराजक र आपराधिक राजनैतिक संस्कारमा न्याय र समानतासहितको शान्त, समृद्ध र सुखी समाजको कल्पनै गर्न सकिन्न । तब समाजमा सही परिपाटी बस्दैन । जताततै अस्तव्यस्त, भद्रगोल र बेथितिले घर गर्दछ । अर्थात् राजनीतिले सही दिशानिर्देश गर्न सक्दैन । परिणामतः आम जनतामा राजनीति, पार्टी र नेता कार्यकर्ताहरूप्रति वितृष्णा र अविश्वासको पारो चरमोत्कर्षमा पुग्दछ । सिङ्गो राजनीतिमाथि नै चौतर्फी प्रश्नहरू उठ्दछ । पार्टी, नेता र कार्यकर्तामाथि तीव्र आशङ्का र आलोचनाहरू हुनेगर्दछ । उनीहरूविरुद्ध आम नकारात्मक भाष्य सञ्चार भइरहेको हुन्छ ।   

यही धरातलीय पृष्ठभूमिमा सामाजिक अभियन्ताहरू सतहमा देखापर्दछ । जातीय, क्षेत्रीय, लिङ्गीय, धार्मिक तथा सांस्कृतिक सङ्घ–संस्थाहरू हावी हुन्छ । समग्र राजनीति मुख्य र निर्णायक हो । अन्ततः समस्याको समाधान पनि राजनीतिले नै गर्नुपर्दछ । तर, पनि गैर–राजनीतिक व्यक्ति वा संस्थाहरूको माहौल नाटकीयरूपमा बढ्दछ । स्वतन्त्र बहादुर वा अद्भूत व्यक्ति वा संस्थाहरूको खोजी हुन थाल्छ, जसमा विलक्षण र चामत्कारिक क्षमता होस् । उनीहरूमा तात्कालीन समस्या हल गर्ने वस्तुवादी आधारहरू नहुँदा–नहुँदै पनि जनतामा एकाएक निरपेक्ष विभ्रम पैदा हुन्छ, जसमा ठूल्ठूला आशा अपेक्षाहरू अन्तरनिहीत हुन्छ । नियमतः यो विकृत रक्षात्मक राजनीतिको उपज हो । दिग्भ्रम र हल्लाहरू नेटवर्किङ सञ्जालजस्तो जोड–घटाउमा नभएर गुणात्मकरूपमा सञ्चार हुन्छ । तब जनतामा ‘जता दुधु उतै कुदु’ को अवस्था सिर्जना हुन्छ । हावाहुरीसँगै वहने अवस्था आउँछ । वस्तुवादी अध्ययन अनुसन्धान र विश्लेषण विना नै जनता पछिपछि लाग्छन् अनि बालेन जस्ता स्वतन्त्र उम्मेदवारहरू चुनावी पटकथाको केन्द्रीय पात्र बन्दछन् । यद्यपि बालेनहरू पार्टी र नेताहरूले नसकेको काम फत्ते गर्न र जनताका समस्या सम्बोधन गर्न सक्षम छन्÷छैनन् कसैलाई थाहा छैन । विकृत राजनीति र गलत संस्कृतिको संसर्गबाट पैदा भएको गर्भमा यस्तो प्रवृत्ति मौलाउने गर्दछ ।

तेस्र्रो, हाम्रो निर्वाचन प्रक्रिया असाध्यै विकृत र बोझिलो बन्दै गइरहेको छ । जसरी पनि चुनाव जित्नै पर्ने शर्तमा यो असङ्गति र विसङ्गतिको गोलचक्करमा घुमिरहेको छ । अर्थात् चुनाव जित्ने नाममा उम्मेदवारहरूले मनगढन्ते र मनोगत प्रतिबद्धताहरू धेरैनै बाँड्ने गर्दछन् । आकाश–पाताल जोड्ने विभिन्न सपनाहरू देखाइदिन्छन् । चुनावअघि गरिने यस्ता प्रतिबद्धताहरू वस्तुवादी आधार र सम्भावनाको धरातलमा उभिएको हुँदैन । परिणामतः उनीहरूको कार्यकालमा पूरा हुँदैनन् । यसरी वाचा–कसमहरू पूरा नभएपछि जनतामा चरम् वितृष्णा, अविश्वास र निराशा पैदा हुन्छ । चिया पसलदेखि चौतारीहरूसम्म तीव्र विरोध र आलोचना बढ्दछ । पार्टी र नेताहरूलाई एकाएक आशङ्काको नजरबाट हेर्न थालिन्छ । अनि ‘जुन जोगी आए पनि कानै चिरेको’ भन्ने उखान चरितार्थ हुन पुग्दछ । यसरी राजनीतिप्रति चरम् असन्तुष्टिसँगै विकल्पस्वरूप यस्तो संवेदनशील अवस्थामा कुनै अमूक संस्था, अभियन्ता र पात्रहरूप्रति भावनात्मक सदासयता बढ्दै जान्छ ।

यही सिलसिलामा गैर–राजनीतिक सामाजिक अभियन्ता, व्यावसायिक वा व्यापारिक व्यक्ति व्यक्तित्व अनि विभिन्न सामाजिक सङ्घ–संस्थाहरूमा जोडिएका एकल पात्रहरूमाथि नजर पर्दछ । यद्यपि दलका नेताहरूले वर्षौंसम्म नगरेको काम कुनै अमूक पात्रले जादुगरले छडी घुमाएसरी सम्भव देख्नु दृष्टिदोष, बनिबनाउ चाहना, पूर्वाग्रह र दिग्भ्रमबाहेक अरू केही होइन । उनीहरू सम्भावनाको वस्तुवादी गुण वा आधार विना केवल नयाँ अनुहार फेर्न र हेर्न लालायित हुन्छन् । माहौल र चर्चाजन्य भावनाको गहिराइमा डुब्छन् । यस्तो सामाजिक–मनोवैज्ञानिक जगमा स्वतन्त्र उम्मेदवारहरू चुनावी वृत्तचित्रको नयाँ रोलमोडेल बन्न पुग्दछन् ।

चौथो, नेपाली समाजको सांस्कृतिक चरित्र उपभोगवादी रहेको छ । यस्तो चरित्रद्वारा निर्देशित समाजमा बनिबनाउ आकाङ्क्षा र चाहनाको चाङ असाध्यै बढी हुन्छ । उपभोगवादी नजरमा जनताका मागहरू रातारात पूरा हुनुपर्दछ । माग र आवश्यकता वस्तुवादी छ÷छैन, विधि र प्रक्रिया के के हुन्, सम्भावना कस्तो छ, लागत कति लाग्छ, प्रतिफल कस्तो पाइन्छ अनि समय पर्याप्त छ÷छैन भन्ने तथ्यपरक लेखाजोखा गरिँदैन । यो धरातलीय यथार्थभन्दा नितान्त भिन्न लम्पट उपभोगवादी मनोविज्ञानद्वारा निर्देशित हुन्छ, जुन आजको भोलि उपभोगयोग्य हुनुप¥यो र तुरुन्तै स्वाद लिइहाल्नु छ, वश यति हो ।  यस्तो सांस्कृतिक परिवेशमा प्रयोगमा आइसकेको पार्टी वा नेताहरूभन्दा यस्तै अमूक व्यक्ति वा संस्थाहरूको आवरणीय नयाँ सौन्दर्यद्वारा प्यास मेटाउने चाहना राखिन्छ । जटिलता विनाको सहजता मात्र देख्ने गरिन्छ । सम्भावना र प्रतिकूलताको द्वन्द्वात्मक मूल्याङ्कन गरिँदैन । नयाँ नै निरपेक्ष हल हो भन्ने भाष्य बनाइन्छ । मनोगतरूपमा उनीहरूको मौखिक भाषण र वाणीमा विश्वास गरिन्छ । अर्थराजनीतिक पद्दति र संस्कृति उही भएपछि भिन्न संस्था वा व्यक्ति भए पनि प्रक्रिया र परिणाम उस्तै हुन्छ भन्ने सचेतना उनीहरूमा देखिँदैन । तब कुनै अमूक स्वतन्त्र व्यक्तिबाट बनिबनाउ समाधान खोज्छन् जुन दृष्टिदोष र अल्पज्ञान मात्र हो ।

त्यसैले विद्यमान विकृत राजनैतिक संस्कृतिको दीर्घकालीन समाधान स्वतन्त्र उम्मेदवार हुन सक्दैन । यो त केवल क्षणिक असन्तुष्ट भावना बिसाउने चौतारी मात्रै हो । राजनीतिमा देखिएको समस्या राजनीतिले मात्रै हल गर्न सक्छ । यो साश्वत् नियम हो । यसको लागि राजनीतिको आधारभूत चरित्र, पद्दति र विधिलाई बदल्नु पर्दछ । असङ्ुगत पक्षहरूलाई रूपान्तरण गर्नु पर्दछ । तर, स्वतन्त्रले पनि एकपटक चाखोस् न त, पालो गरोस् न त, पार्टीइतरलाई पनि सत्तामा पु¥याइदिउँ न त । विचरा उनीहरूलाई पनि रहर होला भन्दै भावनामा बगेर भोट दिनेप्रति भन्नु केही छैन । तर, वर्तमान गन्जागोल राजनीति र भद्रगोल विकासे अवधारणाको निकास ठानेर मत दिनु भनेको महामूर्खता, दिग्भ्रम र सचेतनागत दरिद्रताबाहेक केही होइन । किनकि जोसुकै बहादुर र अद्भूत क्षमताधारीहरू सत्तासीन भए पनि औसत पुरानै अर्थराजनीतिक प्रणाली, पद्दति र सांस्कृतिक आयामभित्र रूपान्तरण सम्भव हुँदैन । कसैले त्यस्तो सोच्छ भने पनि त्यो उडन्ते  कल्पना र मनगढन्ते सपना मात्र हुनेछ । खैर स्वतन्त्र उम्मेदवारहरूप्रति जनताको क्रेज बढ्नुले जिम्मेवार राजनैतिक पार्टी र नेताहरू गम्भीर ढङ्गले झस्किनु पर्दछ । यही झस्काइको अनुभवसँगै अब उनीहरू सच्चिएर जनतामाझ जानु पर्दछ । होइन भने असन्तुष्टि, विरोध, वितृष्णा, अविश्वास र निराशाको पराकाष्ठासँगै भावी दिनमा स्वतन्त्र उम्मेदवारहरू अझ हावी नहोलान् भन्न सकिन्न । चेतना भया !