विराटनगर । तराईका जिल्लाहरूमा चोरी भएका मोटरसाइकल पहाडी जिल्लाको ग्रामीण भेगमा बिक्री हुने गरेको रहस्य खुलेको छ । पेसेवर गिरोहले तराईमा चोरी गरेको मोटरसाइकल पहाडी जिल्लामा पुर्याएर नम्बर प्लेट परिर्वतन गरी बिक्री गर्ने गरेको खुलेको हो ।

मोरङ प्रहरीबाट सादा पोसाकमा पोसाकमा खटिएको विशेष प्रहरी टोलीले चोरिएका सातवटा मोटरसाइकलसहित पेसेवर गिरोहका व्यक्तिहरूलाई पक्राउ गरेको हो ।

प्रहरीले मोटरसाइकल चोरी आरोपमा मोरङको जहदा गाउँपालिका–१ बुधनगरका २० वर्षीय हरिओम मण्डल, सोही ठाउँका २० वर्षीय पन्नलाल राजवंशी, १८ वर्षीय विशाल राजवंशी, कटहरी गाउँपापलिका–२ का २४ वर्षीय मनिष बस्नेत र विराटनगर–४ कञ्चनबारीका २२ वर्षीय प्रकाश राजवंशीलाई पक्राउ गरेको मोरङ प्रहरीका प्रमुख एसपी शान्तिराज कोइरालाले जानकारी दिए ।

मोरङका विभिन्न ठाउँबाट चोरी गरेको मोटरसाइकल खरिद गरी बिक्री साथै व्यवस्थापन गर्ने धनकुटा साँगुरीगढी गाउँपालिका–१ का ३२ वर्षीय थामबहादुर राई र सोही ठाउँका ३५ वर्षीय मनकाजी राईलाई पनि पक्राउ गरेको छ । चोरी आरोपमा पक्राउ परेकामध्ये कटहरीका बस्नेत पटके हुन् । उनी यसअघि पनि चोरी आरोपमा पक्राउ पर्दै छुट्दै आएका व्यक्ति हुन् ।

पक्राउ परेका पाँच जनाको समूहले प्र.१–०२–०४६ प ६४० नं. को बजाज कम्पनीको २२० सिसीको पल्सर, प्र.१–०२–०४७ प ३९२४ नम्बरको बजाज कम्पनीको १२५ सिसीको पल्सर, को.१३ प ८२७५ नं. आरटीआर अपाची, बिआर.३८ डी ४५०४ होण्डा कम्पनीको साइन र प्र. १–०२–०४४ प २५७ नं. को बजाज कम्पनीको १५० सिसीको पल्सर मोटरसाइकल प्रहरीले बरामद गरेको छ । पक्राउ परेकाहरू पेसेवर मोटरसाइकल चोरीमा संलग्न रहेका प्रतिवादीहरू रहेको प्रहरीले जनाएको छ ।

‘पक्राउ परेका व्यक्तिहरूले तराईका जिल्लाबाट मोटरसाइकल चोरी गर्ने र पहाडी जिल्लामा लगेर बिक्री वितरण गर्ने गरेको पाइयो’ एसपी कोइरालाले भने, ‘पहाडी जिल्लामा पु¥याएपछि मोटरसाइकल हेरेर मूल्य निर्धारण गर्दा रहेछन् ।’ उनीहरूले ४० देखि ६० हजार रुपैयाँसम्ममा चोरीका मोटरसाइकल बिक्री वितरण गरेको पाइएको छ ।

‘अहिले प्रहरी कार्यालयहरूमा मोटरसाइकल चोरिएको भन्दै खोजी गरिदिन जाहेरी दिन आउनेको सङ्ख्यामा पनि वृद्धि भएको छ’ एसपी कोइरालाले भने, ‘त्यही भएर अहिले चोरी भएको र हराएको मोटरसाइकल खोज्न सादा पोसाकको विशेष प्रहरी टोली खटाएका छौं ।’ विराटनगरसहित विभिन्न स्थानबाट हराएका र चोरी भएका सवारी साधनको खोजतलास गर्ने विशेष अभियान सञ्चालन गरिरहेको उनले बताए  ।

‘त्यसक्रममा चोरी भएका मोटरसाइकलहरू खोजतलास गरी सम्बन्धित धनीलाई जिम्मा दिएका पनि छौं’–उनले भने । विगत लामो समयदेखि मोटरसाइकल चोरी गर्ने पेसेवर गिरोहलाई निगरानीमा राखी सादा पोसाकमा विशेष अपरेसन टोली खटाएर चोरिएका मोटरसाइकलहरूको खोजी गर्ने गरिएको उनले बताए ।

धेरैजसो विराटनगरबाट हराएका मोटरसाइकलहरू धनकुटालगायतका पहाडी जिल्लाका ग्रामीण बस्तीहरूमा पुग्ने गरेको पाइएको बताउँदै उनले त्यस्ता क्षेत्रमा निगरानी बढाइएको जनाए । सवारीधनीहरूले अतिरिक्त लक एवम् सुरक्षाका उपायहरू नअपनाउँदा चोरी हुने सङ्ख्यासमेत बढ्दै गएकोले सवारी धनी पनि सचेत हुनुपर्ने देखिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले बताए ।

आर्थिक वर्ष २०७७/०७८ मा मोरङमा १ सय ४० वटा मोटरसाइकल चोरीको उजुरी परेको थियो । उजुरीको आधारमा प्रहरीले ५८ जना चोरीमा संलग्न प्रतिवादीलाई पक्राउ गरी २७ वटा मुद्दा मोरङ अदालतमा दर्ता गरेको प्रहरीको अभिलेखमा देखिन्छ । यस्तै चालु आर्थिक वर्षको साउनसम्ममा २३ वटा मोटरसाइकल चोरी भएको उजुरी मोरङ प्रहरीमा दर्ता भएका छन् ।

त्यसमध्ये ३ जनालाई पक्राउ गरी प्रहरीले तीन वटा चोरीमा मुद्दा दर्ता गरेको छ । प्रहरीमा उजुरी आउनेमध्ये सबैभन्दा बढी विराटनगर क्षेत्रदेखि मोटरसाइकल चोरी भएको आउने गरेको मोरङ प्रहरीले जनाएको छ । यदि मोटरसाइकल चोरी भइहाले तत्काल प्रहरीलाई जानकारी दिन डिएसपी श्रेष्ठले सर्वसाधारणलाई अनुरोध गरे ।

‘कतिपयलाई चोरी भएको समयसम्म पनि थाहा हुँदैन’, उनी भन्छन्, ‘जति चाँडो हामीलाई इन्फर्मेसन दिनुहुन्छ, त्यति चाँडो खोज्न सकिन्छ ।’ साथै, उनले मोटरसाइकल राख्दा सधैँ ह्यान्डिल लक गर्न एवम् डिस्क लकको समेत प्रयोग गर्न सुझाव दिएका छन् ।