झापा । झापामा मतदाता बढे  पनि मतदान गर्नेको सङ्ख्या घटेको पाइएको छ । वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा झापामा ७०.४८ प्रतिशत मत खसेको छ ।

२०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा झापामा ७३ दशमलव ७ प्रतिशत मत खसेको थियो । २०७४ मा झापामा पाँच लाख १० हजार २ सय १६ मतदाता रहेका थिए । जसमध्ये तीन लाख ७२ हजार ८ सय ४० ले मतदान गरेका थिए ।

१५ वटा स्थानीय तह रहेको झापामा हाल ६ लाख ४६ हजार २ सय ६४ मतदाता रहेका छन् । पुरुषको तुलनामा महिला मतदाता धेरै रहेको झापामा पुरुष मतदाताको सङ्ख्या ३ लाख २१ हजार ५ सय २० रहेको छ भने महिला मतदाताको सङ्ख्या ३ लाख २४ हजार ७ सय ५ रहेको छ । त्यस्तै अन्यमा नौ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसीकुमार नेपालले जानकारी दिए ।

झापामा सबैभन्दा धेरै मत झापा गाउँपालिकामा ७४.६६ प्रतिशत खसेको छ । यो गाउँपालिकामा २३ हजार ९ सय ४४ मतदाता रहेका थिए । मतदातामध्ये पुरुषको सङ्ख्या आठ हजार २० रहेको थियो भने महिलाको सङ्ख्या आठ हजार ५ सय ९७ रहेको थियो । कुल मतदातामध्ये १७ हजार ८ सय ७७ ले यो गाउँपालिकामा मतदान गरेका छन् । यो कुल मतदाताले खसालेको मतको ७४.६६ प्रतिशत रहेको मुख्य निर्वाचन कार्यालय झापाका सहायक मतदान अधिकृत तथा सूचना अधिकारी गणेश पाण्डेले बताए ।

त्यस्तै झापापछि बाह्रदशी गाउँपालिकामा धेरै मत खसेको छ । यो पालिकामा ७४.४१ प्रतिशत मत खसेको हो । यहाँ मतदाताको सङ्ख्या २५ हजार ८ सय २६ रहेको छ । कुल मतदातामध्ये यो गाउँपालिकामा १९ हजार २ सय १७ ले मतदान गरेका छन् ।

त्यस्तै सबैभन्दा कम मत भद्रपुर नगरपालिकामा ६६.३६ प्रतिशत खसेको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ । यो नगरमा ५१ हजार २ सय ६० मतदाता रहेकोमा ३४ हजार १५ ले मात्रै मतदान गरेका छन् । यो कुल मतदाताको ६६.३६ प्रतिशत मात्र हो ।

आठ नगरपालिका र सात गाउँपालिका रहेको झापामा यो वर्ष २ सय ८६ वटा मतदानस्थलका ७ सय ५५ मतदान केन्द्रबाट मतदान भएको थियो । अघिल्लो निर्वाचनमा २ सय ८३ मतदानस्थल र ६ सय ३७ मतदान केन्द्र कायम थिए ।

झापामा ६ सय ८५ जना जनप्रतिनिधि चयनका लागि दुई हजार ७ सय ८६ ले उम्मेदवारी दिएका थिए । त्यसमध्ये आठ–आठ जना नगर प्रमुख र उपप्रमुख तथा सात–सात जना अध्यक्ष र उपाध्यक्ष पदका लागि मात्रै १ सय ६९ जनाको उम्मेदवारी रहेको थियो ।

झापामा प्रमुख र अध्यक्ष १५ जना, उपप्रमुख र उपाध्यक्ष १५ गरी ३० जना, वडाध्यक्ष १ सय ३१, महिला सदस्य १ सय ३१ र दलित महिला सदस्य १ सय ३१ गरी ३ सय ९३ जना र खुला सदस्य २ सय ६२ गरी जम्मा ६ सय ८५ जना जनप्रतिनिधि चयन हुनेछन् ।

कचनकवल गाउँपालिका र मेचीनगरमा भने एक–एक जना उम्मेदवार यसअघि नै सर्वसम्मत भएका छन् तर, मुख्य निर्वाचन अधिकृतको कार्यालय झापाले आधिकारिक घोषणा गरेको छैन । कचनकवल गाउँपालिका–४ मा नेपाली काङ्ग्रेसकी दलित महिला सदस्य पदकी उम्मेदवार विजली दाशको मात्रै उम्मेदवारी परेपछि उनी सर्वसम्मत निर्वाचित भएकी छन् ।

मेचीनगर–११ मा भने नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट दलित महिला सदस्य पदकै उम्मेदवार रञ्जिता नेपाली सुन्दासको मात्रै उम्मेदवारी परेपछि उनी पनि सर्वसम्मत भएकी हुन् ।