१. विषय प्रबेश
समसामयिक नेपाली वाङ्मयमा पहिचानको स्वर अत्यन्तै वाचाल देखिएको छ । विशेष गरेर २०६२/६३ को जनआन्दोलनपछि पहिचानको मुद्दा सतहमा देखिन आयो । शदियौंदेखि उत्पीडनमा पारिएका आदिबासी जनजाति, सीमान्तकृत, दलित, मधेसी र लैङ्गिक आवाजहरु सर्वत्र मुखरित हुन थाले । विस्तारै पहिचानको विषय राजनैतिक पार्टीहरुदेखि सामाजिक सङ्घ संस्थाहरुमा समेत प्रवेश भयो । विकट मोफसलको सडकदेखि सिंहदरबारको सदनसम्म विश्लेष्य विषयको केन्द्र बन्यो । सिङ्गै नेपाली सिनेजगत्देखि साहित्यका सबै विधाहरुमा घुस्न पुग्यो र तातो बहसको वातावरण सिर्जना गर्यो । समयान्तरमा आएर अहिले पहिचानको विषय सामयिक नेपाली साहित्यको प्रमुख प्रवृत्तिको रुपमा स्थापित भएको छ ।

नेपाली वाङ्मयको क्षेत्रमा कविताको प्रयोगवादी धारासँगै सुषुप्त रुपमा स्वपहिचानको खोजी हुन थालेको हो । सर्वप्रथम आयामेली कवि वैरागी काइँलाले आफ्ना कविताहरुमा प्रचुर किराती मिथकहरुको प्रयोग गरेको पाइन्छ । त्यसपछि महाकवि थाम्सुहाङ पुष्प सुब्बा, जसराज किराती, भूपाल राई लगायतका अग्रणी पुस्ताहरुले आफ्ना काव्यहरुमा सर्वाल्टनका विषय, मिथक र प्रतीकहरुको सघन प्रयोग गरेका छन् । अघिल्ला पुस्ताहरुलाई पछ्याउँदै सामूहिक रुपमा सिर्जनशील अराजक साहित्यिक आन्दोलनका अभियन्ताहरु फरक विचारसहित हाङयुग अज्ञात, राजन मुकारूङ र उपेन्द्र सुब्बाहरुले आवाज थप बुलन्द गरे । रङ्गवादी कविहरुः धर्मेन्द्रविक्रम नेम्वाङ, स्वप्नील स्मृति, चन्द्रवीर तुम्बापो, चन्द्र योङ्या र उत्तरवर्ती सोचका अभियन्ताहरु थाम्सुहाङ पुष्प सुब्बा, राज माङ्लाक, भवानी तावा, यलम्बर थाम्सुहाङ र सगुन सुसाराहरुले आन्दोलनमा थप हास्टेमा हैंसे पु¥याउने काम गरे । त्यसपछि कुकुर कविता आन्दोलन लिएर सङ्गम सुहाङ, मधुराज केरूङ, टङ्क सेलिङ, विवश बेनाम र सुनिल आङ्बोहरुले कुकुरीय स्वभावमा आफ्ना आवाजहरु चर्को रुपमा उराले । शनैः शनैः आदिबासी जनजाति पहिचानको मुद्दा साहित्यमा देशव्यापी सल्कियो । अहिले आदिबासी जनजाति समुदायका छिमले सर्जकहरुमा पहिचानको लेखन प्रमुख विषय बनेको छ । 

१.१. कवि सन्देश सुब्बाको परिचय
कवि सन्देश सुब्बा (२०४६) साहित्यमा अपरिचित नाम होइन । साठीको दशकदेखि नै कविता, गीत, गजल र पत्रकारिता क्षेत्रमा उदाएका प्रतिभा हुन् उनी । उनले हालसम्ममा आगोको सौन्दर्य (कविता सङ्ग्रह २०७३), सम्झनाको आँधी (गजल सङ्ग्रह २०७८) गरी दुई कृतिरत्नहरु प्रकाशित गरिसकेका छन् । दोस्रो विश्वव्यापी खुला कविता प्रतियोगिता (२०१५) मा प्रथम, पूर्वाञ्चलव्यापी खुला कविता प्रतियोगिता (२०७२) दोस्रो, फिदिम नगर पत्रकारिता पुरस्कार (२०७८) लगायतका पुरस्कारहरु हातलागि गरिसकेका छन् । स्थानीय पत्रपत्रिका, विभिन्न अनलाइन र राष्ट्रियस्तरका म्यागजिन पेपरहरुमा उनका प्रशस्त रचनाहरु छापिएका छन् । उनी यतिबेला आफ्नो जन्मथलो पान्थर सिवाको बाह्रमुरेमा बसेर निरन्तर साहित्य साधना गरिरहेका छन् । उनका हरेक रचनाहरुमा आदिबासी जनजातिको पहिचानलाई केन्द्रीय विषय बनाएर कलम चलाएको पाइन्छ । यस बसाइमा सुब्बाको कविता सङ्ग्रह आगोको सौन्दर्य कविता सङ्ग्रहलाई उधिन्ने प्रयास गरिएको छ ।

कवि सन्देश सुब्बाकृत कविता सङ्ग्रह ‘आगो’ को सौन्दर्यलाई विभिन्न शीर्षकहरुमा पर्गेल्न सकिन्छ । तथापि यहाँ सिङ्गो कृतिलाई समष्टिगत रुपमा केलाउने सततः प्रयत्न मात्र गरिएको छ । भनिन्छ, कवि, गीतकार, गायक, सङ्गीतकारहरु आफ्ना समाज र परिवेशभन्दा पर उभिएर काव्य सिर्जना गर्न सक्दैनन् । आफ्ना कवितामा आफूले बाँचेको परिवेश, युग, काल र समयको तरङ्गहरु नै प्रतिबिम्बित भएका हुन्छन् । प्रस्तुत सुब्बाका कविताहरुमा पनि आफ्नो लिम्बू जातिसँग सम्बद्ध मुद्दाहरुलाई नै मुख्य विषय बनाएर कविताहरु सिर्जेका छन् । अङ्ग्रेजी कवि टि.एस.इलियटले प्रत्येक कवि मन आफ्नो जातीय संवेदनाप्रति नतमस्तक हुन्छ भनेका छन् । यहाँ सुब्बा पनि नतमस्तक भएर सबै जाति, भाषी, धर्म र समुदायको समावेशी र साझा लिम्बुवान राज्यको माग गरेका छन् । आफ्नो एक विद्रोहीको वक्तव्य कवितामा ।
मैले आकाशको जून मागेको छैन
मैले स्वर्गको साङ्ग्रिला भनेको छैन
मात्र सदर हुनुपर्छ भनेको हुँ
सबै जाति अट्न सक्ने
सबै भाषा फुल्न सक्ने
सबै धर्म हाँस्न सक्ने
इतिहासको मेरो लिम्बुवान । (पृ. ४०)  

सुब्बा लिम्बुवानको गाउँबस्तीमा खेली हुर्केका कवि हुन् । उनको आँखामा आफ्ना परिवेशको चित्र कैद गरेर राखेका छन् । उनलाई वरिपरिको डाँडाकाँडा, खोलानाला, झरना, पहाडपर्वत, छाँगा, छहरा र पाखापखेराहरुको खुब माया लाग्छ र त द्रविभूत भएर थुप्रै कविताहरुमा स्थानिकताको प्रष्ट चित्र उतारेका छन् । जस्तैः
उस्तै उभेको छ सिलौटी डाँडा
बगिरहेको छ सिवा खोला । (साथीलाई चिठी, पृ. १४)
मान्छेहरु छन्
गाडीहरु छन्
जि.वि.स. छ
प्रशासन छ
स्वयम् समयसँग बेखबर घण्टाघर छ
सरकारी अड्डा अफिसहरु छन्
एन.जि.ओ. का कार्यालयहरु छन्
र पनि केही छैन जस्तो
रित्तो–रित्तो लाग्दछ
फेदेन । (फेदेन, पृ. २९)

उद्धृत कवितांशहरुबाहेक थुप्रै कविताहरुमा स्थानिकताको चित्र खिचेका छन् । आफ्ना कविताहरुमा केवालुङ, फक्ताङ्लुङ, सुम्हा?लुङ, बूढासुब्बा जस्ता सांस्कृतिक बिम्बहरुको पर्याप्त प्रयोग गरेका छन् । यस किसिमका बिम्बहरुले कवितामा सौन्दर्यको सृष्टि गर्नुका साथै थप उजिल्याउने काम गर्छ र कवितालाई मौलिक कलर दिन्छ ।

वास्तविक कविहरु गरिबगुरूवा, असहाय र पिँधमा परेका भूईंमान्छेका पक्षधर हुन्छन् । न्याय र सत्यको पक्षमा उभिएर वकालत गर्छन् भनेर साहित्यका महारथिहरुले भनिसकेका छन् । समाजका शोषित पीडित हुँदा खानेहरुको गुनासो र दुःखहरुलाई विषय बनाएर काव्य सिर्जना गर्न उद्यत हुन्छन् । फान्सेली विद्वान मिसेल फुकोले भने जस्तै लेखक भनेको एउटा कर्म हो, क्रिया हो । ऊ एउटा पाठ खेल्छ भने जस्तै सुब्बा उम्दा शब्द खेलाडी हुन् । मसिना विषयहरुलाई पनि कलात्मक पाराले कविता कथुर्न खप्पिस छन् । सुब्बाका कवितामा दैनिक ज्यालादारीमा काम गर्ने एक मिस्त्रीका आक्रोसहरु आफ्ना मिस्त्री कवितामार्फत् अभिव्यक्त गरेका छन् । यस कविताले संसारका सम्पूर्ण मिस्त्रीहरुको प्रतिनिधित्व गरेको छ ।
म हुँ एक मिस्त्री
प्रत्येक दिन खेलिरहेको हुन्छु
सुता, तगारी, कर्नी र टक्टकेसँग
ढुङ्गा, माटो, बालुवा र सिमेन्टसँग
यो परजीवी सहरमा
कति बनाएँ हुँला आलिशान महलहरु ? हिसाब छैन
तर, बनाउन सकेको छैन आफ्नै सपनाको एउटा छाप्रो ।
कसले बनायो ती अत्याधुनिक महल र कोठाचोटा ?
उपभोक्ताको ढाड सेक्ने सुपरमार्केट बसेको होस्
चाहे गरिब जनताको पसिनाको कमाइले भोज चल्ने मन्त्रालय
दाताको पैसा खान पल्केका एन.जि.ओ. का साइनबोर्ड झुन्डिएको होस्
चाहे अरु नै के के थोक
ती अग्ला–अग्ला घर र कोठाचोटा त मैले बनाएको हुँ मैले
तर, आज त्यसभित्र छिर्न पनि
पालेको अनुमति चाहिन्छ मलाई
बज्यालाई त्यै घर बनाउँदा चलाएको टक्टकेले
खप्परमै हान्दिउँ जस्तो झोंक चल्छ । (पृ. २५ र २६)

मूलतः कवि सन्देश सुब्बा बौद्धिकभन्दा पनि हार्दिक पक्षका कवि हुन् । उनका कवितामा कारूणिकता र भावुकता बढी झल्किन्छ । विद्यमान नेपाली समाजमा युवापुस्ताहरु वैदेशिक रोजगारीमा पलायन हुनुपर्ने दुःखद् अवस्था छ । विदेश जाने नेपाली दाजुभाइहरु धेरैजसो रातो बाकसमा फर्कन्छन् । यस विषयलाई लिएर मनमाया कवितामा कारूणिक दृश्यबिम्ब उतारेका छन्–
साँच्चै आज
पसिना बेचेर सपना किन्न गएको
उसको लोग्नेको मृत शरीर
आफ्नै अगाडि आइपुग्दा
उनी अर्थात् मनमाया
न त हाँस्न सकेकी छ
न त रून सकेकी छ
बरू उसलाई लाग्दैछ
कि, उसले टेकेको यो धरती नै
क्रमशः तल तल भासिँदै–भासिँदै गइरहेको छ (पृ. २४)

यथार्थमा म कवि सुब्बाको दौंतरी र सुख–दुःखको साक्षी हुँ । उनी कस्तो सोच्छन् ? के गर्छन् ? के खान्छन् र कस्तो लाउँछन् ? उनको फेहरिस्त म राम्रोसँग ज्ञातव्य छ । असलमा भन्ने हो भने उनी एकतर्फी प्रेमी पनि हुन् । धेरैचोटी प्रेमप्रणयमा परेको छ र प्रेममा ज्युँदै मरेर बाँचेको छ । कतिपटक हाँसेर रोएको छ । ती आफ्ना यथार्थ भोगाइका प्रेमील अनुभव र अनुभूतिहरुलाई आफ्ना प्रेम तिमी, माया, बूढो प्रेमी र प्रेमीका, उपहार, हजुरको नाममा, कविताहरु मार्फत् यसरी व्यक्त गरेका छन्–

बिहानै दुबोका पातहरुमा टल्किने

शीतको अनुहार

तरूनी फूलको मादक सौन्दर्य

अर्थात्

मध्यरातमा पश्चिम क्षितिज ताकेर

एकसुरले हिँडिरहेको जून

सबै–सबैमा छौ तिमी । (पृ. ५०)

कि यै हातले रङ्गिएको भए तिम्रो सिउँदो

जीवन रहुञ्जेल तिमीलाई

यस्तै माया गरिरहन सक्थेँ । (पृ. ५३)  

तिमी हिँड्ने बेलामा

तिम्रै हातमा राखिदिएको हुँ

तिमीले लेखेका प्रेमपत्रहरुको पोको

तिमीले नमाने पनि

तिम्रै शिरमा सिउरिदिएको हुँ

प्रणय दिवसको दिन

तिमीले दिएको रगतरङ्गे गुलाफको फूल

र, फिर्ता गरेको हुँ

जीवनको कविता लेख है भनेर

तिमीले सप्रेम दिएको निलो डायरी र कलम

अनि तिम्रा जम्मै फोटोहरु (पृ. ५४ र ५५)

मलाई माफ गर मेरी जून

आज यै कविता मात्र छ

तिमीलाई सप्रेम समर्पण गर्छु (पृ. ६०)

कहिलेकाहीँ त झोंक चल्छ हजुर सम्झेर

झोंक चल्छ

हजुरको मनलाई पानी पानी बनाउने चिठी लेखुँ है भन्दा

दश कक्षा फेल भएको सम्झेर

झोंक चल्छ

सल्लेरी वनमा हजुरलाई सम्झिँदै घाँस काटुँ है भन्दा

हातको औंला मात्रै काटेको सम्झेर (पृ. ६३)

अन्य कविताहरु ढुङ्गा र ईश्वर, मन्दिर र माग्ने,  कविको धर्म, बी.पी. पार्क, साथीलाई चिठ्ठी, इक्साहाङ्मा, एउटा कविता बहिनीको नाममा, फागुन १७, ०६४ र चैत ६, ०६४, युद्ध अस्तित्वको, कविताको तरबार लगायतका कविताहरुमा समसामयिक विषयहरुको उठान गरेका छन् । साथीलाई चिठ्ठी एउटा कविता बहिनीको नाममा र युद्ध सह–अस्तित्वको शीर्षकका कविताहरु मौलिक, सांस्कृतिक रङ्गले लेखेका कविताहरु हुन् । कविले मुन्धुमी अधिचेतनामा लिम्बू लवजका कविताहरु पस्केका छन् । कविताहरु पाठ गर्दै जाँदा खाँटी लिम्बू कविले नै लेखेको कविता हो भन्ने अनुभूति हुन्छ । 

२. निष्कर्ष
कवि सन्देश सुब्बा जति राम्रो कविता लेख्छन्; त्योभन्दा झन् राम्रो वाचन गर्छन् । उनले कविता वाचन गर्दा मन्त्रमुग्ध नहुने श्रोता सायदै होलान् । कविताहरु कोमल शब्द र पदावलीहरुले बुनिएका हुन्छन् । मसिनो र प्राञ्जल भाषाशैलीको प्रयोगले सर्वसाधारण पाठकहरुले पनि बुझ्न सक्ने पठनीय बनेका छन् । आफ्ना सांस्कृतिक मिथक र बिम्बहरुले नवीन सौन्दर्यको सृष्टि गरेका छन् । कवितामा बढो भद्रतापूर्वक शालिन भाषामा पहिचानका स्वरहरु सुसेलेका छन् । यद्यपि उनका कवितामा जति विचार पक्ष सबल भएर आउनुपर्ने हो; त्यो हुन सकेको छैन । आफ्ना समुदायका अग्रणी कविहरुको ठाडो प्रभावबाट भने आफूलाई जोगाउन सकेका छैनन् । आगामी दिनहरुमा अझै सुन्दर र शक्तिशाली कविताहरु सिर्जना गर्न गम्भीर अध्ययन र चिन्तन गर्न जरूरी देखिन्छ ।