सामुदायिक विद्यालयहरूको शैक्षिकस्तर उक्सिन नसकेको भनेर बेलाबेला बहस, चर्चा परिचर्चा हुने गरेको छ । कतिपयले सामुदायिक विद्यालयहरू सुधार हुन नसक्नुमा शिक्षकलाई दोष दिने गरेको पाइन्छ भने कतिपयले अभिभावकलाई पनि दोष दिएको पाइन्छ । अझै कसैले सरकारलाई गाली गरिरहेका हुन्छन् ।

मेरो अनुभवमा यसरी एकले अर्कालाई दोष देखाएर मात्र सामुदायिक विद्यालय सुधार हुँदैन । बरु शिक्षक, अभिभावक, विद्यार्थी सबैको ‘ट्युनिङ’ मिल्यो भने विद्यालय सुधार गर्न सकिन्छ भन्ने हामी आफै उदाहरण हौं । सामुदायिक विद्यालयहरू सुधार्न सबैभन्दा महŒवपूर्ण कुरा त शिक्षकहरूको इच्छाशक्ति चाहिने रहेछ, त्यसमा अभिभावक र विद्यार्थीले सहयोग गर्नुपर्ने रहेछ । हामीले पनि सुधारको सुरुवात त्यसरी नै गरेका हौं ।

एक समय सामुदायिक विद्यालय भनेको गरिब अभिभावकका छोराछोरी पढ्ने विद्यालय हो, त्यहाँका शिक्षकहरू राजनीति गर्छन्, पढाउँदैनन् भन्ने खालको मान्यता समाजमा विकास भएको थियो । त्यसमाथि अभिभावकहरू आफ्ना छोराछोरीलाई टाई बाँधेर, अङ्ग्रेजीमा पढाइ हुने विद्यालयमा पढाउन लालायित थिए । सामुदायिक विद्यालयमा छोराछोरी पढाउन अभिभावकहरूले लाज मान्नु पर्ने समय पनि थियो । यहाँ मात्र होइन, देशका धेरै ठाउँमा यस्तो थियो ।

देशका कतिपय ठाउँमा भने सामुदायिक विद्यालयका विद्यार्थीले राम्रो पढेर चर्चा कमाइरहेका थिए । हामी शिक्षकहरूबीच पनि धरानको सबैभन्दा पुरानो विद्यालय पब्लिक हाईस्कुललाई पनि राम्रो बनाउन सकिँदैन र ? भनेर छलफल भयो । त्यसबेला प्रधानाध्यापक लेखनाथ भट्टराई हुनुहुन्थ्यो । उहाँको नेतृत्वमा २०७१ वैशाख २६ गते कार्यशाला आयोजना गरियो । त्यही कार्यशालाको योजनाअनुसार हामीले विद्यालय सुधार अभियान सुरु गर्यौं । अभिभावकहरू अङ्ग्रेजी भाषाप्रति आकर्षित भएको पाएपछि हामीले यहाँ पनि सानो कक्षादेखि अङ्ग्रेजी माध्यमबाट पढाइ सुरु गर्यौं ।

त्यसपछि विद्यार्थीहरू बढ्न थाले । हामीले विद्यालय बालमैत्री हुनुपर्ने, उनीहरूको मनोवैज्ञानिक अवस्था अध्ययन गरी व्यवहार गर्नुपर्ने, त्यहीअनुसार काउन्सिलिङ गर्नुपर्ने आवश्यकता महसुस गरी काम अघि बढायौं । जस्तो कि हामी विद्यार्थीहरूलाई मोबाइल नचलाऊ भनेर गाली गर्छौं तर, किन चलाउनु हुँदैन, त्यसका खराबी के छन् ?, कहिले चलाउने, कस्तो बेला चलाउँदा फाइदा हुन्छ भनेर बुझाउँदैनौं । हामीले उनीहरूलाई यस्तो काम नगर भन्दा किन नगर्ने त्यो पनि भनिदिनुपर्छ ।

हामीसँग धेरै पुराना शिक्षकहरू हुनुहुन्थ्यो । उहाँहरूलाई पनि विद्यालयको खर्चमा प्रशिक्षण गरायौं । कोर्षहरूमा भएका फेरबदल बारे प्रशिक्षित गरायौं । अनि नयाँपुस्ताका शिक्षकहरू आन्तरिक स्रोतबाट भर्ना गर्यौं । त्यसरी शिक्षक भर्ना गर्दा कुनै सोर्स फोर्समा होइन, क्षमतालाई प्राथमिकता दियौं । त्यसले विस्तारै विद्यालयप्रति अभिभावकको विश्वास पनि बढ्दै गयो ।

सरकारले सामुदायिक विद्यालयहरूमा खाजा कार्यक्रम सञ्चालन गरेको छ । त्यसबापत प्रतिविद्यार्थी १५ रुपैयाँ आउँछ तर, अहिलेको समयमा त्यति पैसाले कस्तो खाजा आउँछ र ? तर, हामीले विद्यालयबाट थप गरेर साना विद्यार्थीलाई राम्रै खाजा दिइरहेका छौं । त्यसले पनि विद्यार्थीलाई आकर्षण गर्दोरहेछ । हामी पढाइमा मात्र होइन, अतिरिक्त क्रियाकलापमा पनि विद्यार्थीलाई प्रोत्साहन गर्छौं । फुटबल, भलिबलका स्कुलस्तरीय खेलहरूमा धरानमा हाम्रो विद्यालयका विद्यार्थीहरू छात्र र छात्रा दुवैतर्फ विजेता बन्ने गरेका छन् । हामीसँग कम्प्युटर ल्याव, साइन्स ल्याव, म्याथ ल्यावहरू छन् । यसमार्फत् प्रयोगात्मक शिक्षामा जोड दिन्छौं । यस्ता ल्यावहरूको सङ्ख्या बढाइरहेका छौं । यसले पढाइको गुणस्तर बढाउन सहयोग पुर्याएको छ ।

किताबको पढाइसँगै हामी चाँडै सङ्गीत, नृत्य र योगाका कक्षाहरू पनि सञ्चालन गर्ने तयारीमा छौं । सरकारले दुई दिन बिदा दिने निर्णय गरेको छ । हामी इच्छुक विद्यार्थीलाई यो दुई दिनको समयमा यस्तो कक्षामा पढाउने बारे योजना बनाउँदैछौं ।

विद्यालय सुधार्नका लागि अभिभावकको विश्वास जित्नु पनि उत्तिकै महŒवपूर्ण छ । अभिभावकलाई  सामुदायिक विद्यालयमा पनि राम्रो पढाइ हुन्छ । सुरक्षित वातावरणमा पढाइ हुन्छ भन्ने विश्वास दिलाउनु आवश्यक छ । पब्लिक स्कुलमा पनि शिक्षकहरूले आफ्ना छोराछोरी यहीँ ल्याएपछि अभिभावकहरू अझ विश्वस्त हुनुभयो । हामीले स्कुलको कम्पाउन्ड बाहिरका मान्छे छिर्न नमिल्ने गरी सिल गर्यौं । गेटमा सेक्युरिटी गार्ड राख्यौं ।  यसले अनावश्यक बाहिरका मान्छे पस्न पाएनन् । त्यसले पनि अभिभावकलाई सुरक्षाको महसुस गरायो । पढाइमा गुणस्तर बढाउन विषयगत शिक्षकहरूको व्यवस्था गर्नेदेखि शिक्षकहरूलाई आवश्यक तालिम दिने काम गरेका छौं । हामीले धरानभरका गणित शिक्षकहरूलाई तालिम दियौं । त्यसबाट पनि विद्यार्थीलाई धेरै फाइदा भयो ।

यसरी शिक्षक, अभिभावक र विद्यार्थीहरूको सहयोग पाएर नै हामीले ८२ जना शिक्षक आफ्नै स्रोतबाट राखेका छौं । सरकारी दरबन्दी यहाँ जम्मा ४० जना मात्र छ । सबैको सहयोगले नै हामीसँग अहिले ४ वटा बस छन् । यसबाट टाढाका विद्यार्थीलाई सजिलो भएको छ । हाम्रो टिमवर्ककै कारण सरकारले पनि नमुना विद्यालयका रूपमा छनोट गरेर सहयोग गरिरहेको छ । तर, स्थानीय सरकारबाट भने हामीले पर्याप्त सहयोग पाउन सकेका छैनौं । अहिले संविधानले नै स्थानीय सरकारलाई माध्यमिक तहसम्मको शिक्षाको अधिकार प्रदान गरेको छ । स्थानीय सरकारले हाम्रो आवश्यकतामा हातेमालो गरेर अघि बढ्ने हो भने यसलाई अझै राम्रो र देशमै नमुना बनाउन सकिन्छ भन्ने विश्वास छ ।

हाम्रो आफ्नै सिकाइको अनुभव के हो भने देशभरका सामुदायिक विद्यालयहरू यसरी नै सुधार गर्न सकिन्छ । तर, त्यसका लागि शिक्षक एक्लैले पनि केही गर्न सक्दैन, अभिभावक वा विद्यार्थी एक्लैले पनि हुँदैन । सबै पक्षको इच्छाशक्ति आवश्यक पर्छ । सबै मिलेर अघि बढ्ने हो भने सामुदायिक विद्यालयलाई नमुना बनाउन सकिन्छ ।
(लेखकः पब्लिक हाईस्कुलका प्रधानाध्यापक हुन् ।)