विजयपुर । निर्वाचन नजिकिएसँगै राजनीतिक दलहरूलाई स्थानीय तहका प्रमुख र उपप्रमुख पदहरूमा उम्मेदवार छान्न सकस परिरहेको छ । धरानमा प्रमुख र उपप्रमुख पदका लागि एउटा दलबाट तीनदेखि एक दर्जनसम्म आकाङ्क्षी देखिएका छन् । धरान उपमहानगरका प्रमुख पदका लागि नेकपा (एमाले) बाट ११ जना र उपप्रमुखमा ६ जना आकाङ्क्षी देखिए । एमालेले प्रमुख र उपप्रमुख आकाङ्क्षीहरू धेरै भएर सर्वसम्मत उम्मेदवार टुङ्गो लगाउन नसकेपछि सबैको नाम सिफारिस गर्यो ।
त्यस्तै नेपाली काङ्ग्रेसले पनि धरान उपमहानगर प्रमुखमा ९ जना र उपप्रमुखमा १० जनाको नाम सिफारिस ग¥यो । उपप्रमुखमा नेकपा (माओवादी केन्द्र) बाट ४ जना आकाङ्क्षी देखिएका छन् । जनता समाजवादी पार्टी (जसपा) बाट पनि ३ जना आकाङ्क्षी देखिएका छन् ।
धेरै आकाङ्क्षी देखिनुमा राजनीति व्यवसाय बन्नु, आर्थिक उपार्जन गर्ने उद्देश्य हुनु, शक्ति आर्जन र सञ्चय गर्नु, लोकप्रियता, जनप्रतिनिधिले काम गर्न नसक्नु र लामो समय निर्वाचन नहुनु प्रमुख कारणका रूपमा देखिएका छन् ।
बुद्धिजीवी डा. राजेन्द्र शर्माले राजनीतिक दलमा संसदीय मोर्चा र राजनीतिक गरी २ वटा मोर्चा हुने बताउँदै भने, ‘संसदीय मोर्चामा आर्थिक उन्नति, राजनीतिक शक्ति वृद्धि हुनु, बोली बिक्ने, शक्ति प्राप्त हुने भएकाले आकाङ्क्षी बढे ।’
उनले राजनीतिक मोर्चामा लामो समयदेखि काम गर्ने असली कार्यकर्ताको बोलवाला नहुनु, आर्थिक अवस्था नसुध्रिनु र समाजले नपत्याउनाले यस्तो अवस्था आएको बताए । उनले भने, ‘यो संसदीय व्यवस्थाको उपज हो ।’ डा. शर्मा लामो समयसम्म निर्वाचन नभएकाले आकाङ्क्षी बढेको भन्ने विषयमा सहमत छैनन् । उनले भने, ‘नेपालका राजनीतिक दलमा तहगत रूपमा माथि पुगेका नेता कमै छन् । गुटबन्दीका आधारमा टपक टपक टिपेर लाने चलन छ ।’
उनले पुस्तान्तरणका कारणले आकाङ्क्षी नबढेको बताए । प्रा.डा. टङ्क न्यौपानेले राजनीति व्यवसाय बनेकाले पनि अहिले आकाङ्क्षी बढेको बताए । उनले भने, ‘अहिले राजनीति कमाइखाने भाँडो भयो । कमाउन पाइन्छ भनेर आकाङ्क्षी बढेका हुन् ।’ उनले जनप्रतिनिधिको पूजा गर्छन् भन्ने बुझाइले पनि आकाङ्क्षी बढेको बताए । तर, उनले राजनीति सेवा भएको बताउँदै भने, ‘कमाइखाने भाँडो होइन ।’ उनले कुनै पनि राजनीतिक दलका नेताको लक्ष्य राम्रो नदेखिएको बताए ।
त्रिभुवन विश्वविद्यालयका राजनीति शास्त्रका सह–प्राध्यापक डा. अमृत श्रेष्ठले प्रभावशाली, चामत्कारिक नेता र नेतृत्व नभएकाले आकाङ्क्षी बढेको बताए । ‘क्षमतावान् नेता नहुँदा धेरैले आकाङ्क्षा राख्छन्’ उनले भने, ‘निर्वाचित जनप्रतिनिधिले कार्यक्षमता नदेखाउनाले पनि यस्तो भएको हो ।’
उनले जनप्रतिनिधिको असक्षमताको उपजको रूपमा लिँदै भने, ‘जनप्रतिनिधिले चामत्कारिक काम गरेका भए आकाङ्क्षी कम हुन्थे । जनप्रतिनिधिले काम नगरेकाले यति त हामी पनि गर्न सक्छौँ नि, किन नजाने भन्ने भयो ।’
इतिहास बनाउनका लागि आकाङ्क्षी धेरै भएको पनि उनले बताए । उनले स्थानीय तहमा ठूलो बजेट परिचालन गर्न पाइने, सेवा सुविधा राम्रो भएकाले पनि आकाङ्क्षी बढेको बताए । उनले समाजले सबैभन्दा बढी निर्वाचित जनप्रतिनिधिलाई महŒव दिएकाले पनि आकाङ्क्षी धेरै भएको बताए ।
उनले भने, ‘राम्रो गीत गाउनेलाई सम्मान गरेनौँ । राम्रो सिकर्मीलाई सम्मान गरेनौँ । असक्षम राजनीतिकर्मी भए पनि सम्मान गर्यौँ ।’ उनले राजीनीतिकर्मीलाई अनावश्यक रूपमा बढी महत्व दिएकाले अन्य पेशा तथा व्यवसायका मान्छे पनि आकाङ्क्षी बनेको बताए ।