२०५० सालतिर नेपालमा राजनीतिक पार्टीहरूको आकर्षण एकदमै धेरै थियो । यस्तो लाग्थ्यो, मुलुकमा अब पार्टीले शासन गर्न थालेको छ, देशले चाँडै काँचुली फेर्नेछ । स्थानीय तह र संसद्को चुनाव भएको थियो । पार्टीका नेताहरूप्रति जनताको उच्च सम्मान थियो ।

पार्टीहरू चुस्तदुरुस्त थिए । साना छरिता कमिटीहरू बन्थे, ती कामकाजी थिए । पार्टीका नियमित बैठक बस्थे, पार्टीका निर्णयहरूको सर्कुलर तल्ला कमिटीसम्म पठाउने गरिन्थ्यो । पार्टीको निर्णय हो भनेपछि त्यसलाई सबैले स्वीकार्थे । पार्टीको आह्वानमा जनता सडकमा आउन र पार्टीले भने बमोजिम जोखिम लिन तयार थिए । नेताले पार्टीका सिद्धान्त, मूल्य र मान्यतामा विश्वास गर्थे । कार्यकर्ता र जनतामा एउटा विश्वास थियो । यदि पार्टीमा लाग्ने हो, राजनीति गर्ने हो भने पार्टीको नीति, सिद्धान्त, मूल्य, मान्यतालाई आत्मसात गर्नुपर्छ । जीवनमा अनुसरण गर्नुपर्छ । पार्टीमा काम गर्ने नेता कार्यकर्ताहरूले गलत काम गर्नु हुँदैन, पार्टीको नीति र विधिभन्दा बाहिरको आचरण र व्यवहार स्वीकार्य हुँदैन । यदि त्यस्तो भयो भने पार्टीले कारबाही गर्छ भन्ने डर मनमा हुन्थ्यो ।

ती दिनदेखि यी दिनसम्ममा झण्डै ३० वर्ष बितेको छ । अहिले पनि पार्टीहरूकै शासन चलेको छ । पार्टीको विकल्पको कल्पना अहिले कसैले गरेको छैन । तर, विगतको झण्डै तीस वर्षमा मुलुकले जुन गति लिनुपथ्र्यो, जुन विकास हुनुपथ्र्यो, त्यो हुन सकेन । केही भएन भन्ने होइन । धेरै भयो तर, यत्तिमै चित्त बुझाउनु पर्ने, खुबै भयो भन्नु पर्ने अवस्था बनेन । एसियाका अन्य मुलुक भारत, बङ्गलादेश, चीन, मलेशिया, सिङ्गापुर, भियतनाम, भुटानजस्ता मुलुकले पछिल्ला तीस वर्षमा गरेको प्रगति लोभलाग्दो छ तर, हामी त्यसको छेउमा पनि पुगेनौं । किन ?

केहीले भन्न सक्छन्, मुलुकमा दश वर्ष त सशस्त्र युद्ध नै भयो । हो, मुलुकमा दश वर्ष सशस्त्र युद्ध भयो । यसको सकारात्मक र नकारात्मक दुवै प्रभाव भए । धेरै जनधनको क्षति भयो । भौतिक विकास निर्माणमा अवरोध भयो, भएका कैयौं संरचना तोडफोड गरिए । सरकारको ठूलो धनराशि गृहयुद्ध रोक्नका लागि खर्च भयो । व्यापार– व्यवसाय, उत्पादन, सेवा आदिमा अपूरणीय क्षति भयो । यो नकारात्मक पाटो भयो । युद्धका सकारात्मक पाटा पनि छन् ।

जातीय, क्षेत्रीय, लैङ्गिक र वर्गीय विभेदको पराकाष्ठा झेलिरहेको समाजमा यही सशस्त्र युद्धको कारण एउटा उथलपुथलको अवस्था सिर्जना भयो । जनचेतनामा व्यापक परिवर्तन ल्यायो । बोल्न नसक्नेहरू बोल्न सक्ने भए, हिँड्न नसक्नेहरू हिँड्न सक्ने भए । सुतिरहेका छन् भनी ठानिएकाहरू ब्युँझिएर आफ्नो हकअधिकारको कुरा गर्न सक्ने भए । सबैमा सरकार हाम्रो पनि हो भन्ने चेत पलाएको छ । शासनको केन्द्र भत्काएर बहुकेन्द्रहरू बनेका छन् । गणतन्त्र स्थापित भएको छ । यो निकै ठूलो उपलब्धि हो ।

फेरि पनि किन भएन अपेक्षाकृत समृद्धि ? यो प्रश्नमा घोत्लिँदा,मेरो विचारमा देश चलाउने सरकारहरू (तीनै तहमा) पार्टीहरूले बनाउने गर्छन् । नेपालमा भएका राजनीतिक पार्टीहरूको अवस्थाअनुसार नै देशको अवस्था हुनु स्वभाविक हो । पार्टीहरू पारदर्शी छैनन् । सुशासनमा चलेका छैनन् । नीतिविधिमा चलेका छैनन् । पार्टीहरू आफ्नै पार्टीको विधानलाई पालना गर्दैनन् । पार्टीको आयस्रोत के हो ? प्रष्ट खुलाउँदैनन् । खर्चको हिसाब राख्दैनन् । आम्दानी खर्चको विवरण कहिल्यै सार्वजनिक गर्र्दैनन् ।

पार्टीभित्र आफ्नै नेता कार्यकर्ताको सही मूल्याङ्कन गरेर जिम्मेवारी लिनेदिनेभन्दा कसले कसलाई समर्थन गर्छ, को कसको मान्छे, कसले भनेको मान्छ, कसलाई पार्टीमा ल्याउँदा वा पदमा पुर्याउँदा पार्टीलाई होइन, आफूलाई फाइदा हुन्छ जस्ता कुराले पार्टीको जीवनमा महत्व पाउने भएपछि पार्टीमा पार्टीका लागि आवश्यकभन्दा नेता कार्यकर्ताका लागि आवश्यक मानिसले ठाउँ पाउनु स्वभाविक हो । अहिले सबै पार्टीमा भइरहेको यही हो । यो अहिले मात्र भएको होइन, पार्टीको गठन भएदेखि नै यस्तो चरित्र भएको देखिन्छ । पुराना पार्टीमा मात्रै होइन, नयाँ–नयाँ बनेका र बन्न खोजेका पार्टीमा पनि यही चरित्र देखिन्छ । पार्टीमा देशको आवश्यकता, पार्टीको आवश्यकताभन्दा पनि नेता बन्ने र बनाउनेहरूमा आफ्नो आवश्यकताले प्राथमिकता पाएको कारण यस्तो भएको हो ।

यो धेरै अस्वभाभिक होेइन, जहाँ सबै राम्रो मात्रै छ भन्ने ठानिएको हुन्छ, त्यहाँ पनि केही नराम्रो अवश्य भेटिन्छ । जस्तैः एउटा स्वस्थ मानिसमा कुनै समस्या नै छैन भन्ने हुँदैन, राम्रोसँग चलिरहेका सङ्घ–संस्थामा पनि केही न केही समस्या त हुन्छन् नै । ती राम्रा देखिएका सङ्घ–संस्था हुन् वा स्वस्थ देखिएका मानिस त्यस्ता सबैले नराम्रो हुन नदिन निरन्तर काम गरेका हुन्छन् । नराम्रो केही हुन लागे रोक्ने विधि अवलम्बन गर्छन् । नराम्रो केही भइहाले त्यसलाई सच्याउने गरिन्छ । नराम्रो गर्नेलाई सजाय गरिन्छ, नराम्रो हुने प्रक्रिया रोकिन्छ ।

जस्तैः सुगर बढी हुन लागेको मानिसलाई गुलियो खान कम गर्ने वा नखाने भन्ने सल्लाह डाक्टरले दिन्छन् । कुनै सङ्घ–संस्थामा संस्थागत अहित हुने काम हुन लागेको रहेछ भने राक्ने काम गरिन्छ । व्यक्ति स्वस्थ रहन वा सङ्घ–संस्था राम्रो हुन र निरन्तर प्रगति गर्न दैनिक जीवनमा यस्ता काम निरन्तर गरिन्छ, गर्नुपर्छ । त्यसैले ती स्वस्थ र राम्रा देखिन्छन् । त्यहाँ कहिल्यै कुनै समस्या थिएन, छैन र हुँदैन भन्ने होइन । नराम्रो हुन नदिन निरन्तर काम गरेका कारण मात्रै राम्रो भइरहन सकेका हुन् ।

अब विचार गरौं हाम्रा राजनीतिक दलहरू जसले देश चलाउने गर्छन्, तिनले विधान नमान्दा, अनुशासनको पालन नगर्दा, हिसाब पारदर्शी नगर्दा, नीति नियमको पालना नगर्दा कसरी सच्याउने गर्छन् ? सच्याएनन् भने कसरी बाध्य पार्न सकिन्छ ? संवैधानिक व्यवस्थाअनुसार आवधिक अधिवेशन गर्नुपर्छ, त्यो पनि पार्टी केन्द्रको मात्रै, वार्षिक आय–व्यय लेखा परीक्षण गरेर सार्वजनिक गर्नुपर्छ, चुनावमा भएको आय–व्यय सार्वजनिक गर्नुपर्छ, सम्बन्धित निकायमा बुझाउनु पर्छ ।

तर, यसो गर्ने गरेका छैनन् । कसैले गरिहाले पनि त्यो नाम मात्रको हुन्छ । नगर्दा कसैले प्रश्न उठाउने हिम्मत गर्दैनन् । नगरेकोमा कसैलाई कुनै सजाय हँुदैन, कसैले कतै गएर जवाफ दिनु पर्र्दैन । संवैधानिक व्यवस्थाअनुसार सार्वजनिक पद धारण गर्ने मानिसले निश्चित दिनभित्र आफ्नो र परिवारको नाममा भएको सम्पत्ति सार्वजनिक गर्नुपर्ने नियम छ तर, यहाँ प्रधानमन्त्री, मन्त्रीले नै यो काम गर्दैनन् । जो प्रधानमन्त्री, मन्त्री हुन्छन्, तिनले नै पार्टी चलाउँछन् । पार्टीमा हर्ताकर्ता भएका मानिस नै यस्ता सार्वजनिक पदमा पुग्ने गर्छन् ।

पार्टी सञ्चालन गर्ने काम विधिले कम र नेताले धेरै गर्छन् । तिनै नेताले पार्टी र देश चलाउँछन् । जहाँ विधि सधँै निम्छरो र लुरे हुने गरेको छ । पार्टीभित्र सुशासन, पारदर्शिता कमजोर हुन्छ । नेताले विधि मिचेको, विधिको पालना नगरेको कुरा कार्यकर्ताले खुलेर विरोध गर्न डराउँछन् मात्रै होइन, नेतालाई खुसी पार्न नेताले सुन्न चाहेको कुरा मात्रै गर्छन् । यसो गर्दा पार्टीभित्र पार्टीलाई कमजोर पार्ने गतिविधि निरन्तर हुन्छन् । तिनलाई सच्याउन, शुद्धीकरण गर्न अपनाइने विधि अवलम्बन गरिँदैन । पार्टीभित्र व्यक्तिका स्वार्थ हावी हुन्छन् । अन्ततोगत्वा पार्टी रोगी र अस्वस्थ हुन्छ । जब पार्टी रोगी हुन्छ, अस्वस्थ हुन्छ, तब उसले चलाउने सरकार रोगी हुन्छ । उसले गर्ने काम रोगले भरिएको हुन्छ ।

अहिले सबै पार्टीमा पार्टी जीवनलाई स्वस्थ राख्न गरिने धेरै काम निलम्बनमा परेका छन् । अर्थात् वर्षौंदेखि पार्टी शुद्धीकरणका कुनै कामै भएका छैनन् । बसिरहेको पार्टी परित्याग गरेर अर्को पार्टीमा लाग्नेलाई बाहेक अरू कसैलाई पार्टीले आचरण राम्रो नभएको, अनुशासन नमानेको, नीति विधि नमानेको आदि भनेर कसैलाई कुनै पार्टीले कारबाही गरेका छन् र ? मानौं हामी बस्ने घर, अफिस वर्षौंदेखि सफा गरिएको छैन । जब पार्टी जीवन राम्ररी चलेन, पार्टीमा पार्टी र देशको स्वार्थका लागि भन्दा आफ्नो स्वार्थका लागि काम गर्ने मानिसको बाहुल्यता बढ्दै गयो, तब पार्टी रोगी बन्दै गयो । पार्टीमा एक प्रकारले स्वार्थी मानिसको जमघट मात्रै हो कि जस्तो देखिन थाल्यो ।

पार्टीमा लागेका मानिसले भनेजस्तो पद, जिम्मेवारी, ठाउँ पाएनन् भने पार्टीलाई नै क्षति पुग्ने गरी गतिविधि गर्न कत्ति पनि अप्ठ्यारो मान्दैनन् । आपूmलाई फाइदा हुने काम मात्रै गर्ने, आपैmलाई फाइदा हुने गरी बोल्ने, आपूmलाई फाइदा पु¥याउने मानिसलाई मात्रै स्थान दिने गरेपछि पार्टी रोगी हुन्छ नै । मुखलाई मीठो लाग्ने खाना मात्रै खाने हो भने शरीरको हालत के होला ? केही दिनलाई त रमाइलो नै हुन्छ ।

तर, शरीरले गुलियो, मीठो पचाउन नसक्ने भएपछि अन्ततोगत्वा शरीर नै रोगी बन्छ । शरीरका महŒवपूर्ण अङ्गहरूले काम गर्न छाड्छन् । अझ हजुरलाई मिठाई मन पर्छ भनेर कार्यकर्ताले नेतालाई मिठाई कोसेली लगिदिने र नेताले मीठो मानेर खाइदिने हो भने नेताको शरीरको के हालत हुन्छ ? नेताले डाक्टरको सल्लाह नमान्ने, खान नछाड्ने हो भने केही दिन त शरीर चल्छ, त्यसपछि शरीरले समस्या देखाउन थाल्छ । अहिले हाम्रा पार्टी शरीर हुन् र नेता मुख हुन् । यस्ता शरीर वडावडामा छन्, पालिका, प्रदेश हुँदै केन्द्रसम्म छन् । जहाँ शरीर हुन्छ, त्यहाँ मुख हुन्छ । शरीरलाई रोगी बनाउने मुखलाई नियन्त्रण गर्ने विधि, पद्धति, नीति नियम पार्टीभित्र बन्नुपर्छ र त्यो निरन्तर सक्रिय हुनुपर्छ ।

देशको हालत सुधार्न सबै तहका सरकार पारदर्शी र सुशासनमा चलेको हुनु अनिवार्य हुन्छ । सरकार पारदर्शी र सुशासनमा चल्न तिनको स्रोतको रूपमा रहेका पार्टीहरू व्यवस्थित, पारदर्शी र सुशासनमा चलेको हुनुपर्छ । पार्टी पारदर्शी र शुशासनमा चल्न पार्टीमा जिम्वेवारीमा बसेका नेताको जीवन शैलि, आर्जन, खर्च, पारदर्शी हुनुपर्छ । नेताले नीति विधिको पालना गरेको हुनुपर्छ । नेता खराब भए त्यसलाई सच्याउन राज्यका निकायले काम गर्नुपर्छ ।

राज्यका निकाय सरकार नियन्त्रित हुने र तिनले सरकारको नीतिअनुसार काम गर्नेभन्दा नेताको आदेश पालन गर्ने काम बढी गर्छन् । संवैधानिक निकाय स्वतन्त्र त छन् तर, ती नेताका अगाडि नतमस्तक भएर बसेका छन् । कारण पहिलो त ती संयन्त्रमा पुग्ने मानिसको नैतिकता कमजोर छ, उनीहरू नेताकै चाकरी गरेर त्यहाँ पुगेका हुन्छन्, दोस्रोमा ती आपैm भ्रष्टाचारमा डुबेका र अपारदर्शी छन् । तिनलाई जोगाउन नेता चाहिन्छ, पार्टी चाहिन्छ । त्यही भएर नेताको खराब चरित्रका विरुद्ध उभिन सक्तैनन् । बरु छाता ओडाएर नेता जोगाउन लाग्छन् ।

यस्तो अवस्थामा कसरी हालको अवस्थामा सुधार ल्याउन सकिन्छ त ? यसको भरपर्दो उपाय भनेको चुनाव हो । चुनावमा अपारदर्शी जीवनशैली भएका, नवधनाढ्य, खर्चिला, विधिविधानलाई सधैँ चुनौती दिने, संस्थागत हित र सार्वजनिक हितमा भन्दा व्यक्तिगत र गुटगत हितमा लाग्ने मानिसलाई पार्टीले उम्मेदवार बनाए पनि भोट नदिने र पराजित गर्ने ।

पार्टीको शुद्धीकरण, नेताको शुद्धीकरण, नेताको रूपान्तरण र नयाँ नेताको खोजी अहिलेको आवश्यकता हो । खराब चरित्र भएका मानिसलाई नेता बनाइरहने, तिनैबाट केही झर्ला भनेर हात थाप्न नछाड्ने, तिनकै पछि लागेर आफ्नो निहित स्वार्थ पूरा गर्न लाग्ने जमात सक्रिय रहने र इमान्दार मानिस रमिते मात्रै बन्ने हो भने अभैm खराब अवस्थाको लागि तयार भएर बस्दा हुन्छ ।

पार्टी र सरकार खराब मानिसको हातमा हुँदा मुलुकमा केही सीमित आर्थिक र सामाजिक अपराधीहरू रातारात धनी हुन्छन्, समाज र सत्तामा तिनको पकड बलियो बन्दै जान्छ । अर्थतन्त्रमा तिनैको कब्जा हुन्छ । राज्यका स्रोतमाथिको दोहन अभैm बढ्दै जान्छ । आम मानिसको जीवनयापन थप सङ्कटमा धकेलिनेछ । यस्तो सङ्कटपूर्ण अवस्थातिर बगिरहेको समाज र देशलाई रोक्न र सुशासनको मार्गमा हिँडाउन इमान्दार नेता र स्वच्छ चरित्रको पार्टी आवश्यक हुन्छ ।