धरान/  धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसको जग्गामा प्रायोजित मोही देखिएको क्याम्पसको जग्गा बचाउ समितिले जनाएको छ । धरान–११ स्थित स्वस्तिकको १७ कठ्ठा १८ धुर जग्गाको स्वामित्व क्याम्पसको नाममा रहेको छ ।

उक्त जग्गामा ४१ वर्षपछि षड्यन्त्रपूर्वक मोही देखा परेपछि समितिले कडा आन्दोलन गर्ने र मोही कायम गरेमा भोगचलन गर्न कुनै हालतमा नदिने जनाएको छ । क्याम्पसमा सोमबार पत्रकार सम्मेलन गर्दै समितिका संयोजकसमेत रहेका पूर्वक्याम्पस प्रमुख कुमार बहादुर कार्कीले भने, ‘इनरुवास्थित भूमिसुधार तथा मालपोत कार्यालयले दशैंको बिदाको बेला असोज २५ गते प्रायोजित मोहीको नाममा कुल जग्गाको आधा नै पाउने गरी फैसला गरेपछि त्यसविरुद्ध समिति सङ्घर्षरत रहेको छ । ‘हामी कुनै पनि हालतमा प्रायोजित मोहीको नाममा क्याम्पसको जग्गा जान दिनेछैनौं । प्रायोजित मोहीलाई बोक्ने भूमाफियाहरू होसियार भए हुन्छ’–उनले भने ।

उनका अनुसार ०३४ सालमा तत्कालीन क्याम्पस प्रमुख लोकेन्द्रप्रसाद आचार्यको कार्यकालमा धरानकै श्यामगोविन्द श्रेष्ठबाट १ लाख २५ हजार ३ सय रुपैयाँमा उक्त जाग्गा खरिद गरिएको हो । त्यसबेला जग्गा विक्रेता श्रेष्ठले मोहीका रूपमा रहेका डम्बरबहादुर घिमिरेलाई चित्त बुझाएर फरफारक गरिसकेका थिए । तर, भूमिसुधार तथा मालपोत कार्यालयले भने मोही नभएको भनेर लगत कट्टा नगरेपछि अहिले विवाद सतहमा देखिएको हो । उनले भने, ‘कित्ता नम्बर २६६ रहेको १७ कठ्ठा १८ धुर जग्गा क्याम्पसलाई बिक्री गर्दा जग्गाधनी श्रेष्ठले उतिबेलै डम्बरबहादुर घिमिरेलाई चित्त बुझाएर फरफारक गरेकोमा ४१ वर्षपछि मोहियानी हक दाबी गर्दै उनको छोरा यज्ञबहादुर घिमिरे देखापरेका छन् । डम्बरको ०५६ सालमा मृत्यु भइसकेको छ ।’

क्याम्पसले जग्गा खरिद गरेपछि कसैले पनि त्यहाँ खेतीपाती, हेरचाह नगरेको उनले बताए । ४१ वर्षसम्म कुनै मोही नदेखिएको बेला एक्कासि प्रायोजित मोही यज्ञबहादुरले दाबी गर्नुको पछाडि भूमाफियाहरूको हात रहेको उनले बताए ।

बाबुको मृत्यु भएको १९ वर्षपछि एक्कासि क्याम्पसको सार्वजनिक सम्पत्तिमा मोहियानी हक खोज्दै भूमाफियाहरूको सहयोगमा यज्ञबहादुर घिमिरेले भूमिसुधार तथा मालपोत कार्यालयमा दिएको निवेदनको आधारमा मोही हक नामसारी गरेको फैसलाप्रति समितिको घोर आपत्ति रहेको क्याम्पस प्रमुख दामोदर भण्डारीले बताए । उनले भने, ‘यज्ञबहादुरले मोहियानी हकका लागि आफ्नो स्वर्गीय बाबु डम्बरबाट नामसारी गराई पाउँ भन्दै अर्धन्यायिक निकाय भूमिसुधार तथा मालपोत कार्यालयमा दिएको निवेदनको आधारमा हचुवाको भरमा उनैको पक्षमा फैसला गरेको छ । उक्त फैसलापछि क्याम्पसले गत पुस १४ गते अर्धन्यायिक निकाय भूमिसुधार तथा मालपोत कार्यालयले गरेको फैसला बदर गर्न माग गर्दै विराटनगरस्थित उच्च अदालतमा पुनरावेदन गरेको छ ।’

हाल उक्त चोक आसपास धुरको कम्तिमा १० लाख रुपैयाँ देखि १५ लाख रुपैयाँको दरले जग्गा खरिद बिक्री भइरहेको अवस्था छ । उनका अनुसार क्याम्पसले ०७५ सालमा आफ्नो जग्गामा छात्रावासका लागि  भवन निर्माण गर्न धरान उपमहानगरपालिका र नापी तथा मालपोत कार्यालयमा नक्सा र धनीपुर्जा देखाएपछि एक्कासि प्रायोजित मोही देखाएर भूमाफियाहरू सार्वजनिक शैक्षिक सम्पत्ति हडप्न सल्बलाएका छन् ।

उक्त जग्गा खरिद गरेपछि क्याम्पसले ०३५ सालमा प्राध्यापकहरू बस्ने आवास गृह, ०४० सालमा २० जना क्षमताको छात्रावास भवन, ०४७ सालमा  भान्साघर र चौकीदार आवास गृह, ०६१ सालमा कर्मचारी सङ्घको भवन र ०७२ सालमा व्यावसायिक प्रयोजनका लागि दुई तले पक्की भवन निर्माण गरिएको भण्डारीले बताए । भूमिसुधारको फैसलाअनुसार जग्गा भोगचलन गर्न पाएमा यज्ञबहादुर घिमिरेको स्वामित्वमा ८ कठ्ठा १९ धुर अर्थात् कम्तिमा साढे २२ करोड रुपैयाँको जग्गा जानेछ ।

भण्डारीले भने, ‘तर, उनले मोहियानी हक दाबी गर्न भूमिसुधार ऐनको अनुसूची १ अनुसार मोहीको तथ्याङ्क सङ्कलन भएको र अनुसूची २ अनुसार तत्कालीन नगरपञ्चायतले दिएको कागजपत्र, क्याम्पसलाई कुनै कुत नबुझाएकाले उनको दाबी सही ठहर हुँदैन । भूमाफियाले चलखेल मात्र गरेका छन् । क्याम्पसको जग्गा जोगाउन हामी कुनै पनि चुनौतीको सामना गर्न तयार छौं ।’ जग्गा बचाउ समितिका सदस्य डा. आनन्द आचार्यले कथित मोहीले मुद्दा फिर्ता गर्नुपर्ने बताए ।

जग्गा बचाउन समितिमा ऐक्यबद्धता जनाउँदै प्रदेश १ का सभामुख प्रदीप भण्डारी, प्रतिनिधिसभा सांसद् जयकुमार राई, सांसद मीन विक, प्रदेश सांसद् भीम आचार्य, प्रतिनिधिसभा सांसद् मीना सुब्बा, प्रदेशसभा सांसद् सावित्री श्रेष्ठ जोशी, सांसद् चन्द्रप्रसाद श्रेष्ठ, सांसद् उमिता बराइली, नगरप्रमुख तिलक राई, उपप्रमुख मञ्जु भण्डारी सुवेदी, जसपा धरानका अध्यक्ष ताजुव लिम्बू, सङ्घीय लिम्बुवान राष्ट्रिय मञ्च धरानका अध्यक्ष सञ्जुहाङ पालुङ्वा, पूर्व नगरप्रमुख मनोजकुमार मेन्याङ्बो, पूर्व नगरप्रमुख केपी पालुङ्वा, उद्योग वाणिज्य सङ्घ सुनसरीका अध्यक्ष गिरिधारी सापकोटा, नागरिकसमाज धरानका अध्यक्ष राजेन्द्र शर्मा, नेपाली काङ्ग्रेस धरानका सभापति श्याम पोखरेल, नेकपा (एमाले) धरान अध्यक्ष हर्क एभेङ,  नेकपा (माओवादी केन्द्र) का धरान अध्यक्ष सुदर्शन श्रेष्ठलगायत ६२ जना लब्धप्रतिष्ठित व्यक्ति, राजनीतिक दलका नेता, समाजसेवी, उद्योगी व्यवसायी, कानून व्यवसायी, विद्यार्थी नेता र विभिन्न सङ्घ–सङ्गठनका प्रतिनिधिहरू सल्लाहकार र सदस्यका रूपमा रहेका छन् ।