धरान । वैदेशिक रोजगारीमा दुबई पुगेका छोरा जेल परेपछि प्राणरक्षाका निम्ति ताप्लेजुङको साविक थेचम्बु–९ का मनिप्रसाद लिम्बू सहरमा भौंतारिन थालेका छन् । अहिले उनी २८ वर्षीय छोरा सुजनको प्राणरक्षा गरिदिन भन्दै सञ्चारकर्मी तथा मानवअधिकारकर्मीलाई भेटिरहेका हुन् ।

२०७५ साउन २६ गते काठमाडौं चक्रपथको एनबी मेनपावरबाट क्लिनिङ कम्पनीमा दुबई पुगेका उनी २०७६ साल फागुन १० गते श्रीलङ्काली नागरिक मारेको आरोपमा जेलमा छन् । छोरा जेल परेको करिब ६ महिनापछि मात्रै आफूहरूलाई विभिन्न माध्यमबाट थाहा भएको उनले ब्लाष्टकर्मीसँग बताए ।

‘फोन गरिरहने र ३–३ महिनामा पैसा पठाइरहने मान्छे एक्कासि ६ महिनासम्म बेपत्ता भयो’ उनले भने, ‘सोधीखोजी गर्दै जाँदा झापा बिर्तामोडमा रहेका भेना जहरमान लिम्बू र विराटगरमा रहेका अन्तरे भाइ विकासले फेसबुकमार्फत् पत्ता लगाए । म त छाँगाबाट खसेको जस्तै भएँ ।’ सुजन उनको एक्लो छोरो हो ।

छोरो सुजनमाथि हत्या आरोपमा दुबईको अदालतले २ लाख डिराम ‘ब्लडमनी’ र ५ वर्ष जेल सजाय तोकेको छ । २०७८ कात्तिक १८ गते त्यहाँको अदालतले यस्तो फैसला सुनाएको हो । दुई लाख रुपैयाँ ब्लडमनी जेल परेको २२ महिनाभित्र तिरिसक्नुपर्ने उल्लेख छ ।

उक्त रकम नतिरेको हकमा मृत्युदण्डको सजाय हुने भनेर जानकारी आएको बुबा मनिप्रसादले बताए । उनले भने, ‘त्यहाँको अदालतले त सुरुमा मृत्युदण्डकै सजाय सुनाएको रहेछ, अपिल गरेपछि अर्को अदालतले २ लाख डिराम ब्लडमनी र ५ वर्ष जेल सजाय तोकेको छ रे ।’

अदालतले तोकेको क्षतिपूर्तिबापतको ब्लडमनी आजको भाउमा नेपाली रुपैयाँमा रूपान्तरण गर्दा ६२ लाख रुपैयाँ हुन आउँछ । उनले आफ्नो छोराका प्राणरक्षा गरिदिन आग्रह गरे । उनले छोराको भनाइ उद्धृत गर्दै भने, ‘ड्युटीबाट आएर सुतिरहेको समयमा ४ जना श्रीलङ्काली युवाहरूले आक्रमण गरे, त्यसको प्रतिरक्षा गर्दा भाग्ने क्रममा २६ वर्षीय एकजना श्रीलङ्काली युवा पहिलो तलाबाट खसेर घाइते भएछ । उपचारको क्रममा त्यसको मृत्यु भएपछि त्यही मारेको आरोपमा छोरा सुजनलाई जेलमा हालेको छ ।’

उनले आफ्नो छोरा कुनै पनि गल्ती गर्ने खालको प्रकृतिको नभएको दाबी गरे । ‘मेरो छोराले जहाँसम्म लाग्छ, त्यो काम कदापि गर्दैन, नमीठो नबोल्ने मान्छे हो’ उनले भने, ‘मेरो छोरालाई सरासर फसाइएको छ, ब्लडमनीका लागि यस्तो गरिएको हो कि भन्ने लाग्छ ।’

उनले आफू पनि वैदेशिक रोजगारीअन्तर्गत मलेसिया गएको अनुभव गर्दै भने, ‘नेपालीलाई धेरै कुरामा फन्दामा पारेको सुनेको, देखेको थिएँ । यो पनि श्रीलङ्काली युवाले मोटो रकम क्लेम गर्नलाई यस्तो गरेको होला ।’

छोराको प्राणरक्षाका लागि आफू पुस २० गतेदेखि आफ्नो गाउँ पाथीभरा याङ्वरक गाउँपालिका–२ बाट हिँडेका छन् । उनी आफ्नो छोराका लागि काठमाडौंसम्म पुगेर परराष्ट्र मन्त्रालय, सरकारसम्म अपिल गर्ने सोचमा छन् । उनी भन्छन्, ‘सरकारसँग अपिल गर्ने भन्ने सोचेको छु, परराष्ट्र मन्त्रालयसम्म पुग्छु ।’

उनले विभिन्न सङ्घ–संस्था तथा व्यक्ति, वैदेशिक रोजगारमा जानेहरूलाई सहयोगको अपिल गरेका छन् । ‘मेरो छोरालाई बचाइदिन सबैसँग आग्रह गर्छु’–उनले भने । उनले छोरासँग महिनामा एक पटक फोनमा बातचित गर्ने गरेका छन् ।

घटना भएको सुरुवाती दिनमा मृतकका बुबाले पनि ‘ब्लडमनी’ को आग्रह गरेको भए पनि त्यसपश्चात् चाहिँ अदालतले जे निर्णय गर्छ, त्यही मान्न तयार छु भन्दै सम्पर्कबाहिर रहेको बताए । ‘सुरु–सुरुमा भेना जहरमान लिम्बूसँग क्षतिपूर्तिको कुरा गरेको थियो अरे, पछाडि कन्ट्याक गर्दा कोर्टले जे निर्णय गर्छ, त्यही मान्छु भनेछ, त्यहाँबाट पनि कन्ट्याकमा पनि आउन छाडेको छ’ –उनले भने ।