नेपाली भाषामा सुनुवार, गुरूङ, तामाङ, थकाली, थारु, दलित, नेवार, मगर, मधेशी, याक्खा, राई, लिम्बू, शेर्पाहरुले लेखेको कविताको सङ्ग्रह ‘इतर कविता’ करिब ६८६ पृष्ठ मोटो छ, जुन आफैमा बिरलै गरिएको प्रशंसनीय काममा पर्दछ । सम्पादकीयमा पराजित पोमू जोड दिनुहुन्छ, ‘आदिम भस्मेका बस्ती र भूइँमान्छेसितको भाषा, संस्कृति, साहित्य नै हाम्रो मौलिकता हो, को दाबीमा हामीले पनि दाबी कसेका छौं । यसै आदिम भूइँ आवाजलाई एउटै खला (धाननाच, साकेला सिली, डम्फुसेलो, घाटु, रोधी, स्याब्रो, भुम्या, सखिया, लाखेनाच र अरु पनि) उभ्याउँदा हामी इतर भयौं तर, आफैमा इतर नभएर सत्ताको आँखामा चाहिँ हो पनि बुझेका छौं । यसको अतिथि सम्पादक कवि स्वपनिल स्मृति हुनुहुन्छ । शुभकामना मन्तव्यमा वैरागी काइँला लेख्नुहुन्छ, ‘नेपाल जाति, भाषा, संस्कृति र भूगोलका आधारमा बहुलता र विविधताले भरिएको मुलुक हो । यो बहुलता र विविधतालाई राज्य चलाउने वर्गले समृद्धि र शक्तिको आधार बनाउन नचाहँदा यहाँका अधिक सङ्ख्यामा मानिसहरु अझै राज्यको मूलप्रवाहबाट बञ्चितीकरणमा परिरहनु परेको छ । त्यस्ता विभेदप्रति गहिरो आक्रोस र त्यसबाट उन्मुक्त हुने उत्कट चाह बोक्ने कविता यस सङ्ग्रहमा छन् ।’

यसैमा राजन मुकारूङको विचारांश यस्तो छ, ‘इतर कविताहरुको अन्तर्यमा खास नेपालीपनको खोजी भएको छ । मौलिक दार्शनिकताको हिसाबकिताब गरिएको छ । नेपाली भनिएका वा मानक मानिएका कविताहरुले आजसम्म पढाइरहेको पश्चगामी विचारधारासित जुध्न सक्ने सामथ्र्य बलियो बनाएको छ । यो कृति पहिचानको आन्दोलनमा वयस्कताको बिम्ब हो । गुरिल्ला जस्ता लाग्ने कविताहरुमा नेपाली कविताको चेतप्रति कठोर आत्मसमीक्षा छ । गम्भीर विमर्श गरिए नेपाली कविताको तङ्ग्राइ अझ बलियो हुनेछ, हुन्छ ।’

अब हेरौं, यसरी दाबी गरिएका वैचारिकीमा स्रष्टाहरुले कसरी हातेमालो गरेर ऐक्यबद्धता जाहेर गरेका रहेछन् त ! कवि गौरी तमू–आदिम सभ्यताको सुरूवातमा र अन्नपूर्ण हिमशृङ्खलाको फेदीतिर र मेरा बाजे बराजुहरुले काटे केही बाङ्गाटिङ्गा कटुसका बोटहरु र उप्काए अक्करे पहराका ढुङ्गाहरु र सम्याए उबडखाबड जमिनहरु र जन्मियो सिङ्गो इतिहास बोकेर र मेरो संस्कृतिको धरोहर र रोधीघर । कवि मुक्तान थेबा–ककनी डाँडाको सिरानपट्टि फर्केर हेर्दै छु र ग्यालसरी मेमेको र दरबारको भग्नावशेषमाथि र बटारिँदै उठिरहेको छ धुँवाको मुस्लो । कवि आहुति तिम्रो मन्दिरको मूर्तिमा मेरो आरनको गन्ध आउँछ र ओदानमाथिको कराहीमा मेरो पसिनाको गन्ध आउँछ ।

कवि जयन्ती मगर सरगम भन लाफार तिम्रो पहिरन यो माटोसँगै हुर्किएको र तिम्रो शरीरबाट कसरी हरायो ? र तिमो लवज तिम्रै जिब्रोबाट कहाँ बेपत्ता भयो...? कवि राजेश विद्रोही युगौं भयो नबोलेको अब त म बोल्छु र गुम्सिएका पिर पोखी मनको बह खोल्छु । वनको चरी हिजोसम्म पिँजडामै थिएँ, भत्काएर बारहरु आकासमा उड्छु.... कवि अञ्जना इछम्फुङ मैले तिम्रो रामायणको श्लोकमा, मुन्धुम र रिसिया थपेर गाऊ भनेको छैन, तिम्रो चरू हवन गर्ने अग्निमा केही थोपा सरूवा चढाऊ भनेको छैन.... ।

कवि चन्द्रवीर तुम्बापो म निदाएपछि नै पृथ्वी नामको यो बगैँचामा बाह्रैमास शिशिर फुलेर र वसन्त रोइरहेको हो । यसरी निदाउँदा निदाउँदै म फक्ताङ्लुङ कुम्भकर्ण हुँदै गएँ... कवि रामगोपाल आशुतोष सोधौं सनातन तानाशाहहरुसँग सोधौं, भोकाहरुले कुन धर्म खान्छन् ?  नाङ्गाहरुले कुन मन्दिर ओढ्छन् ? पीडितहरुले कुन वेदको भजन गाउँछन् ? यिनीहरुलाई बताइदिऊँ कि भोक र रिस संसारकै खतरनाक वेद हुन्..... ।

यी त थोरै उदाहरणमात्र हुन् । अब प्रश्न उठ्छ– यस्ता कविता किन लेखिन्छन् ? यो केवल रहरमात्र हो कि मनमा बल्झिरहने जहर हो ? स्रष्टाहरु सामाजिक संवाहक हुन् भने यस्ता मुद्दाहरुको सामाजिक, राजनैतिक, ऐतिहासिक एवम् मनोवैज्ञानिक अन्वेषण र त्यसको सम्बोधन आवश्यक छ, नत्र फेरि पनि एकखाले संवादहीनता तगारो बनेर सँगसँगै तेर्सिरहन्छ । बदलिँदो सामाजिक परिवेश अनि समाजले यसको छिनोफानो गर्नेछ । परिवर्तनको शास्वत स्वर अब मुखरित हुनुपर्छ । यदि हामीले भोग्दै बुझ्दै आएको परिवर्तन परिवर्तनकामी छ भने । हामी साँच्चै न्याय समानता हक समावेशिताको पक्षपाती हौं भने यी आवाजहरुमाथि एक गम्भीर विचारविमर्श गर्दै यी आवाजहरुमाथि समाजका सबै तप्काका मानिसहरुले सरोकार लिनुपर्छ नत्र हामीले कागजमा देखेका सपनाहरु ब्युँझिएर विपनामा उठ्ने छैनन् ।

इतर कविता बारे डा. लाल प्याकुरेल रापचा गोर्खा राज्य र गोर्खा राजाको त्यसबेलाको त्यस्तो राजनीतिक मनोवैज्ञानिक दबावका कारण औपनिवेशिक तथा सामन्तीलगायत विभिन्न प्रकारका समस्याहरुले नेपाली समाजलाई गाँज्न सुरू गरेको र अहिलेसम्म गाँजिरहेको छ । त्यसै कूटनीतिलाई मलजल गर्न केही समयपछि राममणि आ.दी., कृष्णचन्द्र अर्याल र वैद्यनाथ जोशी (सेढाइँ) भाषाको बारेमा यसो भन्थे, ‘आजसम्म एकहि गोरखा भाषाको सर्वव्यापकता हुन सकेको छैन किन्तु नेवार, भोटे, मगर, गुरूङ, लिम्बू, सुनुवार ।’ कवि चन्द्र गुरूङ कथ्य साहित्य अन्तर्गत कर्मकाण्डहरुमा धार्मिक गुरूहरु पच्यु, क्लहेप्री र लमले उच्चारण गर्ने मौलिक प्ये (शास्त्र) तथा छ्याँ (संस्कार) का मन्त्रहरु गुरूङ जनजीवनको सुन्दरता दर्शाउने विराट साहित्यका रुप हुन् ।

कुमारी लामा राज्यले लामो समय जनजातिहरुमा लादेको शासन, मेटाइदिएको उनीहरुको भाषा, संस्कृति र सत्ता मठाधीशहरुकै इशारामा बितेका उनीहरुको लामो कालखण्ड आज प्रतिरोधी चेतना भई उठेको छ। रोशन शेरचन– व्यक्तिगत अनुभूतिहरु कवितामा आएका छन् तर, प्रतिरोधी चेतनाको फाँटमा थकाली कविहरुले काम गर्न धेरै बाँकी छ । कृष्णराज सर्वहारी इतर कवितामा थारु कविताले समयको आवाज बोल्ने प्रयास गरेका छन् । थारु समुदायको पेशा खेतीकिसानी हो । त्यसैले थारु कवितामा प्रायः किसानका पीडा व्यक्त छन् । जेबी विश्वकर्मा– राज्यले नीति र कानून नै बनाएर बहिष्करण विरूद्ध सङ्घर्षको आह्वान गर्दै लेखिएका कवितालाई साहित्य रचनाको मान्यता नै दिएन । यद्यपि विभेदकारी राज्यसत्ता र सामाजिक दबदबाबीच दलित समुदायका प्रतिभावान कविहरु सशक्त कवितासहित उदाए ।

रामगोपाल आशुतोष– नेपालको सरकार र सरकारी निकायले इतिहासदेखि वर्तमानसम्म सबैभन्दा बढी थिचोमिचो, अन्याय, अत्याचार र विभेद कुनै जातिलाई गरेको छ भने त्यो नेवार जातिमाथि गरेको छ । संस्कृति र सभ्यता मास्न अनेक नियम र कानून लादेर प्राचीन सभ्यताको मूललाई नै निस्तेनाबुद पार्न खोजिएको छ । नवीन विभास– माओवादी आन्दोलनले भूइँमान्छे, किनारीकृत समुदाय र क्षेत्रलाई स्पेस खोज्न उद्देलित गराएको छ ।

तर, यतिको लागि अथवा उही संसद्मा फर्कन यति धेरै रगत जरूरी हो वा होइन ? बहस जरूरी छ । धीरेन्द्र प्रेमर्षि– नेपालमा तराई मधेसको कुरा गर्ने हो भने शाहवंशको उदयसँगै देशका अन्य भाषाहरुमाथि प्रत्यक्ष परोक्ष रुपमा गर्न थालिएको दमनले नै स्वर्णिम इतिहास भएको धरातल पनि हरेक दृष्टिले पछि परेको वा पतनोन्मुख छ । कुवेर लिम्बुखिम– समाविष्ट याक्खा कवितामध्ये विषयवस्तुका दृष्टिमा पहिचानवादी, पुस्तान्तर र आत्मसत्ता, विश्वयुद्ध संत्रास, प्रवासी जीवन र हुटहुटी, विकास निर्माणका नाममा सिर्जित विध्वंश देखिन्छन् ।

कैलाश राई– इतर कवितामा प्रगतिशीलता, पहिचानबोध र समकालीन समाज र राज्यसँगको अन्तरक्रियाको प्रभाव रहेको छ । प्रकाश थाम्सुहाङ– नेपाली समाजमा विभेदको फेहरिस्त लामो छ । कविता लेख्नु समाजप्रतिको उत्तरदायित्व पनि हो भने यी विभेदमाथि लेखिनुपर्छ । आफ्नो समुदाय, भाषा, संस्कृति सीमान्तमा पारिएको तीतो यथार्थ लिम्बू कविहरुको कविताको साझा विषय हो ।

यसो भनिरहँदा जात, थरले इतर भएका तर, इतरले उठाएका मुद्दाहरुबाट अलग बसेका शालीन कविताहरु समेटिनु पनि यो सङ्ग्रहको अर्को सौन्दर्य बनेको छ । सुगमताको लागि केही कविहरु– तोया गुरूङ– तातो न्यानोका रेसाहरु र सहर छाना–छाना, सहर छानै मात्र छानाहरु र टायलको । सुदीप पाख्रीन– किनारमै घरहरु बनाओस् कैयौं  मतलव छैन र भाँचेर छेउकुनाहरुबाट कुलो लगोस्, नहर लगोस् र या लगोस् घरघरमै, मतलव छैन र चुपचाप बगिरहन्छ नदी ।

सरस्वती प्रतिक्षा– लोग्नेको मृत्युमा र किरीया बसेकी स्वास्नीमान्छेलाई भेट्न जाँदा, तपाईंका पूर्व निर्धारित सम्पूर्ण अनुमानहरु, गलत साबित हुन सक्छन् । राखी गौचन– थिएन कुनै मानवजनित रङहरुको वर्णन न थियो । मानवजनित सौन्दर्यको चर्चा र प्रकृतिको अनन्त गर्भबाट, अनायासै उदाएको थियो रे, एउटा माटोको फूल । शशी लुमुम्बू– मौन मौन बाँचिरहन विवश, म एक थुँगा वनफूल, कहिले सुशोभित हुन पुगूँला ? इतिहासको भव्य बगैँचामा बल्दा धपक्क यो सुन्दर पृथ्वी । तुलसी दिवस– हृदयको अँध्यारो मेट्न, हृदयकै उज्यालो चाहिन्छ । अविनाश श्रेष्ठ– आँटिलो मान्छेलाई सूर्यले सापटी दिने गर्छ आफ्नो तेज, उष्मा र ऊर्जा....।

मौन आवाज– किनकि यतिखेर यो देशका शासकले हेरिरहेको फिल्म पनि निलो छ । विष्णु सन्यास– स्वयम् ईश्वरहरु नै आन्दोलनमा छन् अचेल अस्तित्वको । देवान किराती– मान्नु न उहिले उहिले देवताले बोकेर हिँडेकै हो, आफ्नो प्रेमिकाको लाश । मेरो लाश– प्रेम तिमीलाई अर्पण । सीता तुम्खेवा– पृथ्वी गोलो छ भने झैं हिँड्दा हिँड्दै त्यही ठाउँ आइपुगेछु, जहाँ लडेको थिएँ, नमज्जासँग । हेमन यात्री– बाँचेकाहरुसँग त छँदै छैन, म मरेकाहरुसँग पनि छैन ।

इतर कविताको अर्को सौन्दर्य भनेको मौलिक जातजातिका मौलिक बिम्ब प्रतीक मिथक कथा मुन्धुमलाई समातेर कविहरुले जीवन्त कविता लेख्न सक्नु पनि हो । उदाहरणको लागि खोम गुरूङ– तोइउइङ ढुङ्गाको डोरी खोलेर र घले राजाले करेली र जीन कसेको घोडा..., फुलमान बल– हो मित्र, वर्षौंदेखि तिम्रो इतिहासले विस्मृतिको बरण्डामा बाँधिराखेको आखे म्हेम्हेको उही पुरानो टुङ्ना बजाउँदै रगाएको हुँ मैले, नयाँ युगको म्हेन्दोमाया । सङ्गीत मगर– तिमी त गयौ नफर्की गयौ, उक्लेर बुजुघोङ धुरी आइपुग्छ हरदिन एउटा बिहान ।, काङ्माङ नरेश– तायामा र खियामाको आँसु, हेत्छाकुप्पाको भोको पेट, काँचो केराको पातले छोपिएको थङ्थिलो ज्यान । प्रदीप मेन्याङबो– तेत्लारा लहादङ्ना र सोधुङ्गेन लेप्मुहाङकी पुल्पुलिएकी एक्ली सुन्दरी छोरी, ए नियारा लिङ्पङ्हाङ्मा तिमी मेरो फुङ्लामाए हौ ।

कवि मन न हो, बहकिँदो रहेछ आफै । नेपाल एकीकरणसँगै पराजित राज्य र त्यसका नयाँ प्रजाहरुमाथि शासकहरुको धर्म, भाषा, संस्कृति इत्यादिमा थिचोमिचो हुँदै आएको इतिहास साक्षी छ । (हिजो यसरी लेख्नु, बोल्नु भनेको राजद्रोह थियो) । हुन त शासकहरुलाई त्यसो गर्दा शासन अनुकूल हुँदो हो । तर, भनिदै आएको बहुलताको सौन्दर्य भने कुरुप हुँदोरहेछ, समाज अपाङ्ग हुँदोरहेछ र पुस्तौंपुस्ता सन्ततिहरुले असन्तुष्टि कुनै न कुनै रुपमा पोखिरहँदारहेछन् ।

अहिले समकालीन नेपाली समाजमा यो कुरो निकै खड्किएको छ । नेपाली समाजमा अर्को धक्का– शाहहरुलाई खोपीमा राखेर आएका राणाहरुले पनि त्यही गरे, जो नगर्नु पर्ने थियो । वि.सं. १९१० को मुलुकी ऐन यसको पराकाष्ठामा नाङ्गो नाच हो । त्यसैले होला, यो ऐन सङ्ग्रह दुर्लभ र करिब करिब गोप्य छ । महेन्द्रको राजनैतिक ‘कू’ पछिको भाष्य– एउटै भाषा, एउटै भेष र एउटै राजा, एउटै देश... उदेकलाग्दो छ । जहाँ १ सय २५ जाति र १ सय २३ भाषी छन् । कसरी खप्यो होला समाजले ? यस्तो किन हुन्छ ? सायद सत्ताको उन्माद संसारभर नै यस्तै हुन्छ । कमजोरमाथि थिचोमिचो र शासन ।

२०४६ सालको प्रथम जनआन्दोलन नेपाली जनतामा आएको चेतनाको ठूलो लहर बन्यो । यसले सम्भावनाका ढोकाहरु खोलिदियो । २०६२/६३ को दोस्रो जनआन्दोलनले अनपेक्षित मुद्दाहरुलाई खरो रुपमा प्रस्तुत ग¥यो । परम्परागत रुपमा हालीमुहाली गरिआएका सामाजिक ठेकेदारहरुको यसले निन्द्रा हराम गरिदियो । यसले ल्याएका अनेक परिवर्तनहरुको माझबाट इतर साहित्यलाई जोडेर हेर्न सकिन्छ । मान्छे जन्मजातै कहाँ पिछडिएर जन्मिदो रहेछ र ? ऊ बाँचेको समाज, उसलाई कज्याएर राख्ने सामाजिक, राजनीतिक साङ्लाहरुले भुमिका खेल्दोरहेछ । नत्र एक समय थियो, जहाँ राज्यको हरेक कुरामा खास जात, वर्ग र मान्छेको मात्र वर्चस्व थियो (अझै पनि छ) । अब समयले कोल्टे फेरेको छ ।

इतर साहित्य चिन्तन लेखन आन्दोलनका विभिन्न पहलुहरुमा पटाक्षेप भइसकेको छ । यसको छटा स्वरुप र सौन्दर्य वास्तवमै इन्द्रेणी छ । यसले हिजोको एकलकाँटे समाजलाई विस्थापित गरेर आधुनिक समाज निर्माण गर्छ । अब यसरी आलेखको बिट मार्दैछु– संसारमा हरेक समाजमा प्रभुत्वशाली वर्गको विचार विमर्श र संस्कृति हाबी छ । हरेक समाजमा इतर आवाज हुन्छ । यसलाई दार्शनिक फुको र प्रसिद्ध माक्र्सवादी समालोचक ग्राम्सीले आफ्ना कृतिहरुमा सविस्तार गरेका छन् ।