वैश्विक रूपमा फैलिएको कोभिड–१९ ले संसारलाई नै पूर्णतयाः असर गरेको छ । हामी पनि यसबाट अछुतो छैनौं । तर, अब कोभिडबाट त्रस्त भएर हैन, जुधेर अगाडि बढ्नु हामी सबैको आवश्यकता र बाध्यता हो । प्रदेश १ को पर्यटनलाई पनि अब हामीले कोभिडपछाडि नयाँ तरिकाले सोचेर हाम्रा सम्भावनाहरूको खोजी नयाँ तरिकाले गरेर अघि बढ्नु जरुरी छ । हाम्रा सम्भावना र भएका गन्तव्यहरूलाई हामीले परम्परागत ढङ्गले प्रवद्र्धन गरेका छौं । अब हामीले यो विषयमा नयाँ तरिकाले विश्लेषण गर्दै अघि बढ्न श्रेयष्कर हुन्छ ।

यसै सन्दर्भमा प्रदेश १ को पर्यटनमा अधिकांश तŒवहरूमा तीनवटा कुरा महŒवपूर्ण रूपमा आउने रहेछ । यस तीन–तीनवटा आकर्षणहरूलाई प्रवद्र्धन गरेर हामीले प्रदेशलाई ब्राण्डिङ गर्न सक्ने देखिन्छ । यी तीन–तीनवटा गन्तव्य र वस्तुहरूको प्रवद्र्धन हुन सक्दा भौगोलिक, सामाजिक र आर्थिक रूपमा समुचित उपलब्धि प्रदेशभरिका नागरिकले प्राप्त गर्न सक्ने देखिन्छ ।

तीन हिमालः सर्वाेच्च शिखर सगरमाथा रहेको प्रदेश १ मा ल्होत्सेसहित आठ हजार मिटरमाथिका चार हिमाल छन् । तथापि क्षेत्रगत रूपमा तीन वटाको बढी चर्चा गरिन्छ । सगरमाथा ८,८५०, कञ्चनजङ्घा ८,५८६ र मकालु ८,४६३ मिटर अग्ला यी हिमालहरू प्रदेशको उत्तरमा लामो पर्खाल बनी पूर्व–पश्चिम फैलिएका छन् । यी हिमाललाई प्रदेश १ का व्यवसायीले प्रवद्र्धन र बजारीकरण गरी आफैले प्याकेज बनाएर बेच्ने हो भने यसले पूर्वकै पर्यटनमा क्रान्ति ल्याउन सक्नेछ । यसको बेसक्याम्प विराटनगर हुन सक्नेछ । काठमाडौंमा निर्भर हिमालको व्यापारको स्थान विराटनगरले लिन सक्छ । यसतर्फ सबैले सोच्न जरुरी छ ।

तीन नदीः प्रदेश १ मा मुख्य तीन हिमनदीहरू छन् । ती सबै नदी सप्तकोसीमा मिसिएर ठूलो नदी बन्छ । तर, पनि पूर्व कञ्चनजङ्घाबाट तमोर, मकालुबाट अरुण र सगरमाथा क्षेत्रबाट दूधकोसी बगेर आउँछ । ती नदीबाट हाम्रा सभ्यताको उदय भएको छ । तमोर नदी प्रभावित क्षेत्रबाट लिम्बू सभ्यताको उदय भएको छ । अरुण नदीको प्रभावित क्षेत्रबाट राई, याम्फु आदिको सभ्यता निर्माण भएको छ भने दूधकोसीको क्षेत्रबाट राई, सुनुवार आदिको सभ्यताको उद्गम भएको मान्न सकिन्छ । यी नदीले पानी मात्र बगाएका छैनन्, हाम्रा संस्कार, संस्कृति, जनजीवनलाई जीवन्त राख्न पनि भूमिका खेलेका छन् । यी नदीहरू वराहक्षेत्रमा आएर एक–आपसमा मिल्छन् र अझ ठूलो नदीको निर्माण गर्छन् । त्यो मिलनपछि बनेको कोसी नदीले तराईको सभ्यता र परापूर्वकालको वराहकाल खण्डको इतिहास बोकेर बसेको पाइन्छ ।

तीन करिडोरः प्रदेश १ को पहाडी प्रवेशद्वार र पहाडी सहर जानका लागि तीन करिडोर प्रचलित छन् । मेची कोरिडोरमा इलाम, फिदिम र ताप्लेजुङ मुख्य पहाडी बजारहरू पर्दछन् भने कोसी कोरिडोरमा धरान, धनकुटा तेह्रथुम र सङ्खुवासभा पर्दछन् । भोजपुरका लागि पनि कोसी कोरिडोर नै प्रयोग हुने गर्दछ । उदयपुरको कटारी, ओखलढुङ्गा, सल्लेरी, हलेसी र दिक्तेललाई सगरमाथा कोरिडोरले समेट्ने गरेको छ । आजभोलि पर्यटनका लागि र व्यावसायिक प्रयोजनका लागि प्रदेश १ मा यी क्षेत्र बुझाउन कोरिडोर भन्ने वाक्य प्रयोग हुन थालेको छ ।

तीन पहाडी पर्यटन केन्द्रः प्रदेश १ को मध्य पहाडमा पर्ने तीन आकर्षक गन्तव्यहरू छुटाउन नहुने छन् । इलाममा पर्ने सन्दकपुर अत्यन्त आकर्षक हिल स्टेशन हो । भारतीय पर्यटकसामु प्रख्यात यो सन्दकपुरबाट नेपालले भने त्यति फाइदा लिन सकेको छैन । त्यस्तै कोसी क्षेत्रमा पर्ने गुफापोखरी पूर्वको नेपालीहरूका लागि परिचित गन्तव्य हो । गुराँसको राजधानी पनि मानिने तीनजुरे– मिल्के–जलजलेको केन्द्र भागमा रहेको गुफापोखरीले तेह्रथुम, सङ्खुवासभा र ताप्लेजुङको पनि सिमाना छोएको छ । त्यस्तै ओखलढुङ्गाको नजिकमा पर्ने सोलुखुम्बुको पताले अर्काे आकर्षक हिल स्टेशन हो । सगरमाथा क्षेत्रका सबै हिमाल एकै नजरमा हेर्नका लागि यो क्षेत्र प्रसिद्ध छ । यो ठाउँको प्रवद्र्धन गर्नसके रानी विराटनगरबाट र वीरगञ्जबाट प्रवेश गर्ने भारतीयलाई यसले आकर्षित गर्न सक्छ । यो क्षेत्रले उनीहरूलाई सिमला/मनालीको टेष्ट दिन सक्नेछ ।

तीन हिल स्टेशनः प्रदेश १ को तराईबाट नजिकमा तीन हिल स्टेशन छन् । धनकुटा र सुनसरीको बीचमा पर्ने भेडेटार, मोरङ र धनकुटाको सिमानामा पर्ने जेफाले र इलामको कन्याम । यी हिल स्टेशनमध्ये कन्यामले प्रायः सधैं प्रशस्त भीड बटुल्ने गरेको छ भने भेडेटार बिहारका पर्यटकका लागि चर्चित स्थान बनेको छ । तराईको गर्मी छल्न र पिकनिक मनाउन पनि यी हिल स्टेशन प्रख्यात छन् । जेफालेमा भने कालोपत्रे सडक पुग्न लागेको छ । यहाँको होम–स्टे र चियाबगान र दृश्यावलोकनले गर्दा प्रदेश १ कै पर्यटकहरूको रिफ्रेस गर्ने राम्रो थलो बनेको छ ।

तराईका तीन जङ्गलः प्रदेश १ मा निकुञ्जको अभाव छ । नेपालको तराईको मुख्य पर्यटकीय प्रोडक्ट निकुञ्ज नै हो, यदि लुम्बिनी र जनकपुरलाई एकछिन बिर्सिने हो भने । विभिन्न प्रदेशका तराई भागमा निकुञ्ज छन् । आरक्षणहरूलाई निकुञ्ज बनाएर भए पनि अन्य सबै प्रदेशमा वन संरक्षण र पर्यटन विकासका लागि निकुञ्ज स्थापना गरिएको छ तर, प्रदेश १ मा निकुञ्जको अभाव छ । प्रदेश २ मा पर्सा, बाग्मती प्रदेशमा चितवन, प्रदेश ५ मा बर्दिया र सुदूर पश्चिममा शुक्लाफाँटा निकुञ्ज छन् । प्रदेश  १ मा पनि तराईमा निकुञ्ज बन्न सक्ने तीन ठूला जङ्गलहरू छन् । कोसीटप्पु वन्यजन्तु आरक्षको जङ्गल जुन उदयपुर र सुनसरी जिल्लामा अवस्थित छ । त्यस्तै अर्काे चारकोसे झाडी हो । चारकोसे झाडीको चतरा नहरदेखि बेलबारीसम्मको वन जोडिएको छ । यो जङ्गलको दक्षिणतर्फ पूर्व–पश्चिम नै लहरै पानीका स्रोतहरू छन् । मोरङ र सुनसरीमा पर्ने यो जङ्गलले निकुञ्ज स्थापनाका लागि आफूलाई सक्षम बनाउन सक्छ ।

त्यस्तै तेस्रोमा झापाको रतुवादेखि माईसम्मको वृक्षरोपण आयोजनाको जङ्गल हो । सेतो हात्तीका रूपमा रहेको आयोजनाको क्षेत्रलाई संरक्षण गरी प्राकृतिक रूपमा छोड्ने हो भने त्यो जङ्गल पनि ठूलो छ र यसले पनि निकुञ्ज स्थापनाको अभाव पूरा गर्न सक्ने आँकलन गरिन्छ ।

तीन सम्प्रदायका मुख्य तीर्थस्थलः हिन्दु धर्मावलम्बीका धेरै सम्प्रदायमध्ये तीन सम्प्रदाय सबैभन्दा प्रचलित छन् । भगवान् विष्णुलाई मान्ने वैष्णव सम्प्रदाय, भगवान् शिवलाई मान्ने शैव सम्प्रदाय र दुर्गा भगवतीलाई मान्ने शाक्त सम्प्रदाय । यी सम्प्रदायहरूभित्र पनि धेरै उपसम्प्रदाय हुन्छन् । तथापि यी तीन मुख्य हुन् ।

प्रदेश १ मा यी तीनवटै सम्प्रदायका मुख्य धार्मिक तीर्थस्थल छन् । सुनसरीको कोसी तटमा रहेको वराहक्षेत्र वैष्णवहरूको पवित्र तीर्थस्थल हो । यसैगरी हलेसी शिवको आराधना गर्नेहरूका लागि मुख्य तीर्थस्थल हो । भवानी दुर्गालाई मान्नेका लागि पाथीभरा मुख्य तीर्थस्थल हो । तथापि यी तीनवटै तीर्थस्थल सबै हिन्दुहरूका लागि पवित्र र प्रख्यात छन् । यहाँ सबै हिन्दुहरू आराधना गर्न जाने गर्दछन् । हलेसीलाई  हिन्दु, किरात राई र बौद्ध धर्मावलम्बीको त्रिधार्मिक स्थल भनेर मानिन्छ ।

भारतसँगको मुख्य तीन नाकाः प्रदेश १ का लागि भारतबाट नेपाल प्रवेश गर्ने मुख्य तीन नाका छन् । पर्यटक आवागमन र व्यापार तथा पारवहनका लागि यी नाका प्रयोग हुन्छन् । प्रदेश १ को मुख्य पर्यटकीय स्रोत भनेको भारत हो ।

मोरङको विराटनगर प्रदेशकै सबैभन्दा ठूलो सीमा नाका हो । त्यस्तै झापाको काँकडभिट्टा र इलामको पशुपतिनगर भारतबाट पर्यटक भिœयाउने मुख्य नाकाहरू हुन् । प्रदेशमा भारतीय पर्यटहरूको आकर्षण पनि छ । भारतीयहरूका लागि यी तीन नाकामा आफ्नै सवारी साधन लिएर नेपाल प्रवेश गर्ने र भन्सार कार्यालयसमेत भएकोले प्रदेशका लागि आयात निर्यात पनि यहीँबाट हुने भएकोले यी तीन नाका प्रदेशका लाइफलाइन पनि हुन् ।

तीन महँगा कृषि उत्पादनः झापा, मोरङ, सुनसरी प्रदेशको अन्न भण्डार हो । यस्तै यहाँका पहाडी जिल्ला महँगा र विदेश निर्यात हुने कृषिउपज उत्पादन गर्छन् । ताप्लेजुङको अलंैची, इलामको चिया र सङ्खुवासभाको रुद्राक्ष विदेशी निकासी हुने महंगा उपज हुन् । हुन त चिया पाूचथर, झापा मोरङ धनकुटामा पनि उत्पादन हुन्छ । यस्तै अलैची पनि अधिकांश पहाडी जिल्लामा उत्पादन भइरहेको छ । यसैगरी रुद्राक्ष भोजपुर र धनकुटामा पनि प्रशस्त उत्पादन हुने गरेको छ ।

तीन फलफूलः प्रदेश १ मा तीन मुख्य फलफूलहरू उत्पादन र बिक्रीका हिसाबले प्रसिद्ध छन् । सुन्तलाका लागि धनकुटाको खोकु र इलामको सन्दकपुर अलि बढी चर्चित छन् । तथापि धनकुटा र भोजपुर सुन्तला उत्पादन गर्ने मुख्य जिल्ला हुन् । पछिल्लो समय प्रदेशमा अलि धेरै प्रतिफल आउने विदेशी फलफूल प्रति कृषकको आकर्षण बढेको देखिन्छ । मुलुकका अन्य स्थानको तुलनामा यहाँको स्थानीय सरकार र कृषकहरू कृषि उत्पादनमा विविधीकरण गरेर समृद्ध बन्ने लक्ष्यमा लागेको देखिन्छ । धनकुटाको एभोकाडो र इलामको किवी यसैका प्रतिक हुन् । पछिल्लो समय किवी र एभोकाडो निकासी गर्ने उद्देश्यका साथ उत्पादन भइएरहेका छन् । यिनीहरूको पनि पर्यटक सामु प्रवद्र्धन गर्न सक्दा यसले अझ धेरै प्रतिफल दिन सक्ने देखिन्छ ।

तीन मुख्य परिकारः खानाको लागि पूरै नेपालमा धेरै विविधीकरण छ । हरेक ५० किमिको फरकमा केही न केही फरक परिकार भेटिन्छ । तथापि प्रदेश १ मा तीन अलग–अलग परिकारका लागि नेपालभित्र चर्चित छन् । ती हुन्ः धरानको कालो बङ्गुर, हिलेको तोङ्वा र ताप्लेजुङको सुकुटी । धरान आएर बङ्गुरको सेकुवा, कान र खुट्टाको सुप खान नपाए धरान आएकै जस्तो हुँदैन भन्ने पर्यटकको बुझाइ छ । त्यस्तै हिले पुग्ने प्रायः सबैको रोजाइ त्यहाँको तोङ्वा हुने गर्दछ । यस्तै ताप्लेजुङमा पाइने सुकुटी पनि त्यहाँ पुग्नेका लगि र त्यहाँबाट पाइने कोसेलीका लागि प्रख्यात छ । यी बाहेक तराईको घोंघी पनि प्रदेश १ को विशेष परिकार हो ।

तीन हेल्थ सिटीः प्रदेश १ का धरान, विराटनगर र बिर्तामोड स्वास्थ्य सहरका रूपमा विकास हुँदैछन् । धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान दक्षिण एशियाकै राम्रोमध्येको मेडिकल कलेज हो । विराटनगरमा दुईवटा मेडिकल कलेज छन् । नोवेल मेडिकल कलेज र विराट मेडिकल कलेजले विराटनगरलाई हेल्थ सिटी बनाउन भरपूर प्रयास गरेका छन् । त्यस्तै झापाको बी एण्ड सी मेडिकल कलेज सम्बन्धनको पर्खाइमा छ, तर उसको अस्पताल भने कोभिडको समयमा राम्रो उपचारका लागि धेरै प्रसिद्ध भएको थियो । पूर्वमा स्तरीय क्यान्सर अस्पतालका रूपमा बी एण्ड सीले आफूलाई परिचित गराएको छ ।

अन्त्यमा, तीन मुख्य पर्यटकीय केन्द्र (ट्रायङ्गल) का रूपमा प्रवद्र्धन गरिने चलन  । जसलाई गोल्डेन ट्रयाङ्गल भनिन्छ । नेपालको काठमाडौं, पोखरा र चितवन गोल्डेन ट्रायङ्गलका रूपमा प्रख्यात छन् भने पछिल्लो समय पोखरा, लुम्बिनी र चितवनलाई समेटेर सिल्भर ट्रयाङ्गलको रूपमा प्रवद्र्धन गरिँदैछ ।

यस्तै हामीले पनि प्रदेश १ को ट्रयाङ्गल घोषणा गरेर एकीकृत प्रवद्र्धन गर्न जरुरी छ । ६ वर्ष पहिलेबाट सुरु भएको प्रदेश १ को टयाङ्गललाई ग्रीन इष्टको नाम दिइएको छ । ग्रीन इष्टमा धरान, इलाम र ताप्लेजुङ समेटिएको छ । तीनवटै क्षेत्रमा आकर्षण, पहुँच, पूर्वाधार र नागरिकको पर्यटन लगानीका कारण पनि यो क्षेत्र ट्रयाङ्गलका रूपमा विकास गर्न र प्रवद्र्धन गर्न सकिने देखिन्छ । यसरी प्रदेश १ का विविध विषयहरूका तीन–तीनवटा चिजको प्रवद्र्धन गर्न सकेको खण्डमा हामीले छिटो प्रतिफल प्राप्त गर्न सक्ने आँकलन गरिन्छ ।