विजयपुर । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरलाले पार्टीको १४ औँ महाधिवेशनमा आफू सभापतिको उम्मेदवार हुने बताएका छन् ।

नेपाली काङ्ग्रेसको १४ औँ अधिवेशन अन्तर्गत प्रतिनिधिसभा तथा प्रदेशसभा क्षेत्रीय अधिवेशनबाट निर्वाचित पदाधिकारीहरूलाई बधाइ तथा प्रमाण–पत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दैै डा. कोइरालाले आफू सभापतिमा उठ्ने बताएका हुन् ।

यद्यपि उनले सभापतिको उम्मेदवार निश्चित भए पनि समूहमा वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका अग्रज नेताहरू भएकाले छलफलबाट सभापतिको उम्मेदवार टुङ्गो लगाउने बताए । उनले उक्त समूहको छलफलबाट टुङ्गो लगाउँदा युवाहरू पनि रहने बताए । उनले हालको संस्थापन पक्षकै नेतृत्व आए युवाहरू बञ्चित हुने बताए ।

उनले पार्टीलाई युवापुस्तामा रूपान्तरण कसरी गर्ने भन्ने चुनौती रहेको बताए । हालको नेतृत्वदेखि पार्टीका नेता कार्यकर्तामा उकुस–मुकुस भएको र मङ्सिर २७ गतेदेखि हलुङ्गो हुने बताए । त्यसका लागि महाअिधवेशन प्रतिनिधिहरूले नेतृत्व परिवर्तन गर्न लाग्नुपर्नेछ ।

महाधिवेशनको निर्वाचन मिति सर्नेबारे आफू अनभिज्ञ रहेकोे उनले बताए । उनले सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण सिटौलाले महाधिवेशनको मिति २ दिन सारेको बताए । महाधिवेशनको मिति सर्दा अन्य कुरामा असर नपरे पनि राष्ट्रियसभाको निर्वाचनमा असर पर्ने उनले भनाइ थियो ।

जारी जिल्ला, क्षेत्रीय तथा पालिका अधिवेशनबाट निर्वाचित नेतृत्वहरू आफू र आफ्नो समूहले स्वीकार गरे पनि अर्को समूहले स्वीकार नगरेको आरोप लगाए । उनले जिल्ला, क्षेत्रीय र पालिकाको अधिवेशनमा गोली चल्नु, झडप हुनु, वादविवाद र धाँधली सभापति शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाणको निर्देशनमा भएको आरोप लगाए । उनले सभापतिले प्रहरी प्रशासन लगाएर निर्वाचन गरेको बताए ।

पार्टीको विधानमा सभापति र निर्वाचन अधिकृत सल्लाह गरी निर्वाचन गर्नुपर्ने प्रावधान भए पनि समन्वय नगरी निर्वाचन गरेको उनले बताए । एक फरक सन्दर्भमा उनले आगामी ३ तहको निर्वाचनमा कसरी कम्युनिष्टलाई पराजित गर्ने भन्ने चुनौती रहेको बताए । उनले धरान पहिलेदेखि नै कम्युनिष्टको गढ रहेको र हाल नेपालमा नै कम्युनिष्टको वर्चस्व रहेकाले मुख्य कुरा कम्युनिष्टलाई पराजित गर्नु रहेको बताए । उनले भने, ‘टिकट कसले पाउँछ, त्यो महत्वपूर्ण कुरा होइन । महत्वपूर्ण कुरा त ६५ प्रतिशत कम्युनिष्टहरूलाई जित्नु हो ।’ उनले त्यसका लागि काङ्ग्रेस एक भएर लाग्नुपर्ने बताए ।

तर, हाल नेपाली काङ्ग्रेसको संस्थापन पक्ष आफ्नो पार्टीलाई छाडी अर्को पार्टीलाई सहयोग गर्न लागेको आरोप लगाए । उनले संस्थापन पक्षले विधि प्रक्रियालाई नमान्ने गरेको आरोप पनि लगाए । उनले आउने ३ तहको निर्वाचनमा सबैलाई टिकट दिन नसके पनि अन्यायमा नपार्ने बताए ।

उनले भने, ‘सबैलाई टिकट दिन सक्दिन होला तर, अन्यायमा पार्दिनँ ।’ उनले अधिवेशनबाट निर्वाचित पदाधिकारीहरूलाई दम्भ नदेखाउनसमेत आग्रह गरे । उनले भने, ‘जित्नेले दम्भ नदेखाउनु र हार्नेले हिम्मत नहार्नू ।’ १ नं. प्रदेशसभा सदस्य तथा नेता चन्द्रप्रसाद श्रेष्ठले आशीर्वादमा नेता भएकाहरूलाई पार्टीको माया नहुने बताए ।

कार्यक्रममा नवनिर्वाचित जिल्ला सभापति केदार भण्डारीले संस्थापन पक्ष आफ्नो पार्टीभन्दा पनि अर्को पार्टीको भलाइमा लागेको आरोप लगाए । उनले अन्य प्रदेशमा आलोपालो मुख्य मन्त्री हुने सहमति भए पनि १ नं. प्रदेशमा संस्थापन इतर पक्षको संसदीय दलको नेता भएकाले पूरा समय माधव नेपालको पार्टीलाई सरकारको नेतृत्व दिएको आरोप लगाए । उनले संस्थापन पक्षका कार्यकर्ताले राज्यकोषमा रजाइँ गरेको र इतर पक्षका कार्यकर्ता भने बिजोक भएर बसेको बताए ।

सुनसरी क्षेत्र नं. १ का नवनिर्वाचित सभापति सुजेन्द्र तामाङले सुनसरी जिल्लाको मत गणना गरी सम्पन्न भएको अवस्थामा पुनः मत गणनाको माग गर्नु प्रतिनिधिहरूको अपमान भएको बताए । उनले भने, ‘पुनः मत गणनाको माग केन्द्रीय नेताको हस्तक्षेपबाट भएको छ । यसले गलत नजिर बस्छ । केन्द्रीय नेताहरूले विचार गर्नुपर्छ ।’ नवनिर्वाचित जिल्ला सचिव महेन्द्र प्रधानले ज्ञानेन्द्र कार्कीले सङ्गठनलाई मिलाउन नसकेको आरोप लगाए । उनले त्यही कारणले भोजपुरमा पराजित भएपछि निर्वाचन क्षेत्र परिवर्तन गरेको बताए ।