सुनसरी । केहीदिन अगाडि इटहरी उपमहानगरपालिका घर बताउने सिजन राईलाई भारतीय एसएसबीले चेकजाँच गर्दा नगद नेपाली ५ लाख २१ हजार ८ सय ८० रुपैयाँसहित पक्राउ गर्यो । रकमको स्रोत नखुलेपछि एसएसबीले उनलाई कस्टमको जिम्मा लगायो ।

२०७७ साल असार २१ गते स्रोत नखुलेको २ लाख ७६ हजार भारतीय रुपैयाँसहित कोसी गाउँपालिका–८ भण्टाबारीस्थित सीमा क्षेत्रबाट दुई जना भारतीय नागरिक पक्राउ परेका थिए ।

सीमा सिल भएको अवस्थामा लुकिछिपी चोरबाटो हुँदै भारततर्फ जाँदै गर्दा भारत अररिया जिल्ला बस्ने वर्ष २८ का आरिफ मियाँ र वर्ष ३१ का कमरु जमा पक्राउ परेका थिए । उल्लेखित केही व्यक्ति पक्राउ परे पनि यस्तो कारोबार गर्नेहरू समातिएका उदाहरण कमै छन् ।

भारतीय रुपैयाँको अभावले यस्तो धन्दा फस्टाएको बुझिएको छ । भारतीय रुपैयाँको आवश्यकता पूरा गर्न व्यक्तिले सटही कारोबार गर्ने गरेका छन् । भारतीय रुपैयाँ साट्नका लागि लाग्ने बट्टा अर्थात् प्रतिसय रुपैयाँमा ३ देखि ५ रुपैयाँ कमाउने उद्देश्यले सीमावर्ती क्षेत्रमा पसल गर्ने नेपाली र भारतीय नागरिकले यस्तो कारोबार गर्दै आएका छन् ।

व्यापार र जागिरभन्दा बढी कमाइ हुने भएकाले सटही कारोबारमा केही पसल सञ्चालक लागेको बताउँदै कोसी गाउँपालिका–८ भण्टाबारीका एकजना स्थानीयले नाम उल्लेख नगर्ने शर्तमा भने, ‘कारोबार गर्न सजिलो छ । नेपालको बैङ्कमा नेपाली रकम राखेर पारिको बैङ्कबाट भारतीय रकम झिकेर प्रतिसय रुपैयाँमा यहाँका सटही कारोबारीहरूले ३ देखि ५ रुपैयाँको दरले बट्टा लिएर कारोबार गर्ने गर्दछन् ।’ नेपाली व्यापारीलगायतलाई भारतबाट कारोबार गर्दा भारु रकम आवश्यक पर्ने भएकाले यो धन्दा फस्टाएको हो ।

सीमापारिका भारतीयले नेपाली आफन्त, श्रीमती नातागोता,विश्वासिलो वा साझेदारमा काम गर्ने नेपालीको नाममा रहेका बैङ्क खातामा रकम जम्मा गरी पारिको बैङ्कबाट भारतीय रकम झिकेर सटही गर्ने गरेको स्थानीय बताउँछन् । अहिले प्रायःजसो सबै स्थानीय तहमा बैङ्क भइसकेकाले त्यस्तो गैरकानूनी कारोबार गर्नेहरूलाई थप सहयोग पुगेको बताइएको छ ।

कोसी गाउँपालिका–८ स्थित भण्टाबारी क्षेत्रमा पसल सञ्चालन गरेर बसेका केही व्यक्तिले समेत गैरकानूनी तवरले सटही कारोबार गर्दै आएको बताइएको छ । लाइसेन्स लिएर सटही गर्न पाउने प्रावधान भए पनि उनीहरूले गैरकानूनी तवरले सटही कारोबार गरिरहेका छन् । अर्का एक स्थानीयले भने, ‘यसमा कसैको ध्यान पुगेको छैन, जसले गर्दा दिनहुँजसो दर्जनौं व्यक्ति ठगिने गरेका छन् ।’ सीमा क्षेत्रमा अवैध रकम सटही हुने भएकाले यस्ता कारोबार रोक्न प्रहरीले सक्रियता बढाउनुपर्ने स्थानीयको भनाइ छ ।

सीमावर्ती क्षेत्रमा हुँदै आएको भनिएको हुण्डी, बट्टालगायत अवैध सटही गर्ने सङ्गठित गिरोहमाथि निगरानी बढाएको सुनसरी प्रहरीले जनाएको छ ।