सङ्खुवासभा । बिहीबार वाट लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको छ । विगतबाट बर्सेनि रूपमा मनाउने गरेको यो अभियान मनाउनको लागि मात्रै मनाइने गरेको छ । पूर्वी पहाडी जिल्ला सङ्खुवासभामा बर्सेनि धेरै सङ्ख्यामा हिंसाका घटनाहरू भइरहेको छ । भने हिंसाको सिकार महिला तथा बालबालिकाहरू तथा एकल महिलाहरूले भोग्नु परिरहेको छ । 

‘घरैबाट सुरु गरौँ, महिला हिंसा अन्त्य गरौँ भन्ने नाराका साथ देशैभरि लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु भएको छ । सङ्खुवासभा जिल्ला सदरमुकाम खाँदबारीमा बिहानैबाट प्रभात फेरीसहित विभिन्न कार्यक्रमको आयोजना भएको छ ।  

महिला तथा बालबालिकाको मानव अधिकारको संरक्षण गर्न, जन निर्वाचित संस्थाहरूमा महिलाहरूको उल्लेख्य सहभागिता सहित राजनीतिमा महिलाको सशक्तीकरणलाई तीव्रता गराउन यो अभियान हुने गरेको छ । तर, हरेक वर्ष अभियान सञ्चालन भए पनि महिला तथा बालबालिकामाथि हुने हिंसा भने रोकिएको छैन । अभियानको पहिलो दिन खाँदबारीमो पोखरी पार्कमा प्रभात फेरीपछिको कोण सभामा जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक सुभेश अधिकारीले जिल्लामा लैंगिकहिंसाको अवस्थाको बारेमा तथ्याङ्क पेस गरेका थिए । उनका अनुसार ०७५/७६ मा जबरजस्ती करणी सम्बन्धी २३ वटा, २०७६/७७ मा २० वटा, ०७७/७८ मा २७ वटा र ०७८/७९ को कार्तिक मसान्तसम्ममा ६ वटा मुद्दा दर्ता भएको छ । त्यस्तै जबरजस्ती करणी उद्योग अन्तर्गत ०७५/७६ मा १३, ०७६/७७ मा  २, ०७७/७८ मा ६ र ०७८/७९ मा ४ वटा मुद्दा दर्ता भएको छ । प्रहरीमा बहुविवाह सम्बन्धी ०७५/७६ मा ११ वटा, ०७६/७७ मा ४ वटा, २०७७/७८ मा ९ वटा,  र २०७८/७९ मा हालसम्म मुद्दा दर्ता नभएको प्रहरी निरीक्षक अधिकारीले बताए । बाल यौन दुब्र्यबहार सम्बन्धीमा ०७५/७६ मा १, २०७६/७७ मा १, २०७७/७८ मा १, २०७८/७९ मा हालसम्म कुनै मुद्दा नरहेको बताए । कर्तव्य ज्यान  सम्बन्धी मुद्दा ०७५/७६मा कुनै मुद्दा दर्ता नभएको ०७६/७७ मा २, २०७७/७८ मा ३ र २०७८/७९ को  हालसम्म १ वटा दर्ता भएको जनाएको छ । प्रहरी निरीक्षक अधिकारीका अनुसार ज्यान मार्ने उद्योग सम्बन्धी २०७५÷७६ मा कुनै मुद्दा दर्ता नभएको २०७६÷७७ मा  १ र २०७७/७८ र २०७८/७९ को हालसम्म मुद्दा नआएको जनाएको छ ।  

मानव बेचबिखन सम्बन्धी २०७५/७६ मा१ वटा मुद्दा आएको जनाएको छ । र महिला बालबालिका माथि हुने गरेका घरेलु हिंसा सम्बन्धी २७६/७७ मा ११ वटा मुद्दा परेकोमा सबै फर्स्योट भइसकेको जनाएको छ । त्यस्तै २०७७/७८ मा ३३ मुद्दा परेकोमा ३२ वटा फर्स्योट भएको र २०७८/७९ मा १६ वटा मुद्दा परेकोमा १२ वटा मेलमिलाप गरिसकेको र ४ वटा बाँकी रहेको प्रहरी निरीक्षक अधिकारीले बताए । उनका अनुसार पछिल्लो समय नेपाली जनमानसमा हिंसा सहेर कोही पनि बस्नु हुँदैन भन्ने चेतनाको स्तर समेत बढेको छ । कुनैपछि किसिमको हिंसा भएमा नेपाल प्रहरीको तर्फबाट उद्धार तथा कारबाहीको निमित्त कुनै कसर बाँकी नरहने उनले जिकिर गरे ।

एकल महिलालाई मानसिक हिंसा

एकल महिलाहरूमा मानसिक रूपमा हिंसा हुने गरेको बताइएको छ । एकल महिलाले केही गर्नै सक्दैन भन्ने क्रूर मानसिकता बोकेका समाजका कारण उनीहरू हिंसाकाको सिकार हुने गरेको हो । एकल महिलाहरूलाई आर्थिक तथा सामाजिक हिसाबले हिंसा हुने गरेको एकल महिला सङ्घ सङ्खुवासभाका अध्यक्ष लिला देवी खनालको भनाई छ । एकल महिलाको हकहितमा काम गर्दै आएको सङ्घका पदाधिकारीहरूले समाजका मान्छेहरूले नबुझ्ने हर हिसाबले सहयोग नगर्ने, घृणा गर्ने गरेको गुनासो गर्छन् । 

अभियानको सुरुवात खाँदबारी नगरपालिका ७ नयाँ बजारबाट सुरु भएको मौन र्याली देवकोटा चोक, भानुचोक, अस्पताल चोक, जिल प्रहरी गेट, चाँदनी चोक हुँदै पोखरी बजारमा आएर कोण सभामा परिणत भएको थियो । विभिन्न सचेतनामूलक ब्यानर तथा प्लेकार्ड सहित प्रभात फेरी कार्यक्रम गरिएको थियो । कार्यक्रममा जिल्ला समन्वयन समितिका प्रमुख सुमन शाक्य, प्रमुख जिल्ला अधिकारी, खाँदबारी नगरपालिकाका उपप्रमुख डेगेश्वरी श्रेष्ठले लैङ्गिक हिंसा अन्त्यका लागि सबै एक हुनुपर्ने बताए । कार्यक्रम खाँदबारी नगरपालिका, नेपाल रेडक्रस सोसाइटी, माट्स नेपाल, समाज विकास केन्द्र सोडेक, जिल्ला प्रहरी कार्यालय, एकल महिला समूह लगायतको सहभागितामा भएको थियो ।

संयुक्त राष्ट्रसङ्घको सन १९९९ को महासभाले नोभेम्बर २५ तारिखलाई महिला हिंसाविरुद्धको दिवसका रूपमा मनाउने निर्णय गरेपछि अभियानकै रूपमा विश्वभर यो दिवस मनाउन थालिएको हो । नेपालमा भने २०५४ सालदेखि दिवस मनाउन थालिएको हो ।