विजयपुर । आफन्तबाटै हुने हत्यालाई घटाउनका लागि समाजमा रहेका संयन्त्रहरू उतिसाह्रो चिन्तित बनेका पाइँदैनन् तर, आङ नै जिरिङ्ग हुने प्रदेश १ को त्रिवर्षीय तथ्याङ्क हेर्दा न्यूनीकरणमा चासो दिनुपर्ने बेला आएको मनोचिकित्सक तथा समाजशास्त्रीहरू बताउँछन् ।

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका मनोचिकित्सक डा. सुरेन लिम्बूले समस्याको पहिचान सुरुमै गर्नसके केही हदसम्म घटनालाई न्यूनीकरण गर्न सकिने बताउँछन् । उनका अनुसार शङ्का उपशङ्का, आवेग, रिस र मानसिक समस्याका कारणले आफन्तबाटै हत्या हुने गरेका छन् ।

त्यो लुप्त अवस्थामा रहेको एक प्रकारको रोग नै हुनाले समयमै पहिचान गर्न सकेमा घटनालाई न्यूनीकरण गर्न सकिने उनको भनाइ छ । उनले भने, ‘जो हत्यामा संलग्न हुन्छ, उसले मलाई नराम्रो सम्झिरहेको छ भन्ने ठान्छ अनि हत्या गर्न पुग्छ ।’ मनोचिकित्सककहाँ समयमै पु¥याई परामर्श दिनसकेमा घटना हुनबाट जोगिन सक्ने उनको भनाइ छ ।

१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७७÷७८ मा प्रदेशका १४ जिल्लामा ७ हजार ३ सय ८४ वटा मुद्दा दर्ता भएकामध्ये १ सय ४३ वटा कर्तव्य ज्यान मुद्दा रहेका थिए । जसमा परिवारका सदस्य तथा आफन्तबाटै भएको हत्याका मुद्दा मात्रै ५५ वटा रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख डिआइजी अरुणकुमार बिसीले जानकारी दिए । हत्या हुनेमा महिलामात्रै ४६ जना रहेका छन् ।

सबैभन्दा बढी झापा र सुनसरीमा हत्या भएको छ । यस्ता आपराधिक घटनालाई न्यूनीकरण गर्नका लागि प्रहरी परिचालन मात्रै भरपर्दो हुँदैन । त्रिभुवन विश्वविद्यालयअन्तर्गत हाल पृथ्वीनारायण क्याम्पस पोखरामा अध्यापक रहेका समाजशास्त्री विज्ञान शर्मा लुइँटेलले सामाजिक, आर्थिक सन्तुलन कायम नहुँदाको परिणाम भएको बताए । उनी भन्छन्, ‘सामाजिक बेमेल, आर्थिक अभावमा आवश्यकता पूरा नहुँदा बढी हत्या हुन्छन् ।’ उनले न्यूनीकरणका लागि योग्यताअनुसारको आर्थिक उपार्जन तथा अन्य कुरामा सामाजिकीकरण गर्नुपर्ने बताए ।

‘आर्थिक उपार्जनका विषय खोज्नुपर्छ । रोजगारी पाएपछि व्यस्त हुन्छन् । आवश्कता पनि पूरा हुन्छ र घटना न्यूनीकरण हुन्छ’ उनी भन्छन्, ‘सकारात्मक प्रभावका लागि दण्डसजाय पनि गर्नुपर्ने हुन्छ ।’ दीर्घकालीन रूपमा समाधान गर्नका लागि समाजका व्यक्तिलाई चरित्रवान बनाउनुपर्ने उनी बताउँछन् ।

महिलाहरू बढी पीडित हुनुका पछाडि पुरुषवादी चिन्तन र सोच रहेको महिलावादीहरू बताउँछन् । पुरुषले महिलाहरूलाई विभिन्न माध्यमले नियन्त्रण गर्न खोज्ने भएकाले पनि हत्यामा जुनसुकै घटनामा पनि महिला बढी पीडित हुने गरेका छन् । समाजशास्त्री शर्मा भन्छन्, ‘पुरुषले महिलालाई विभिन्न माध्यमले नियन्त्रण गर्न खोज्छ । जस्तैः शिक्षा, आम्दानी तर, विपन्न परिवारको पुरुषले शिक्षा, आम्दानीबाट नियन्त्रणमा राख्न नसकेपछि बलपूर्वक आफ्नो वशमा राख्न खोज्छ । जसले गर्दा हत्यासम्मको अवस्थामा पुर्याउन सक्छ ।’

१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख डिआइजी बिसीले हत्याको कारण खोतल्दै भने, ‘लकडाउनका कारण बेरोजगार हुनु, घरबाहिर निस्कन नपाउनु, घरमा बसिरहँदा घरासयी कुरा उजागर हुनु, प्रेमसम्बन्ध, मादक पदार्थ सेवन, अंशबण्डा आदिमा वादविवाद हुनुले यस्ता घटना निम्त्याएका छन् ।’ उनले न्यूनीकरणका लागि प्रहरीले पनि सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको बताए ।

सरकारको तर्फबाट रोजगारी सिर्जना, मदिरा सेवनलाई निरुत्साहित गर्ने हो भने पक्कै पनि केही हदसम्म न्यूनीकरण हुने डिआइजी बिसीको भनाइ छ । उनले भने, ‘हामी अपराध नियन्त्रण गर्ने निकाय हौं, हामीले मात्रै गरेर कमी हुँदैन, प्रदेश र सङ्घीय सरकारले नीति लिएर आउनु पर्छ ।’