सूचना प्रविधि एक्काइसौं शताब्दीको सुनौलो उपहार हो । सूचनालाई शक्तिको रूपमा पनि हेर्ने गरिएको छ । अहिले Fast, smart, thin and competent खोजिरहेको जमना हो । यही सूचनाको सञ्चारमार्फत् भौतिक उपस्थिति विना नै कक्षा सञ्चालन गर्ने प्रक्रिया अनलाइन कक्षा हो ।

शिक्षक विज्ञ तथा जानकार व्यक्तिले विद्यार्थीहरूलाई तथा प्रशिक्षार्थीहरूलाई विद्युतीय माध्यमबाट ज्ञान हस्तान्तरण गर्न तथा छलफल गर्न अनलाइनको प्रयोग गरिन्छ । अहिले कोभिडलगायतका महामारीको कारण उच्च अभिलाषा बोकेर सुन्दर भविष्यको खोजी गरिरहेका बालबालिकाहरू विविध प्रविधिको माध्यमबाट अनलाइनका भित्ताहरूमा चियाइरहेका छन् ।

विश्वका विकसित देशहरूमा यसको प्रयोग पहिलादेखि नै धेरै प्रयोग हुँदै आएको भए पनि हाल हाम्रो देशमा यसको उपयोगिता ह्वात्तै बढ्दै गएको छ । जब विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण नेपालमा पनि बढ्यो, त्यसपछि यसको व्यापकता झन् फराकिलो हुँदै गएको छ ।

कार्यालय सञ्चालन, राजनीतिक दलको कार्यक्रम सञ्चालन तथा औपचारिक र अनौपचारिक  विभिन्न कार्यक्रम सञ्चालन र विद्यालयको कक्षा सञ्चालनमा अनलाइनको प्रयोग हुँदै आएको छ । सबैतिर लकडाउनको समस्या भइरहँदा पनि विद्यार्थीको पढाइलाई निरन्तता दिँदै शैक्षिक गतिविधि सञ्चालन गर्न अनलाइन कक्षा प्रभावकारी माध्यम बन्दै आएको छ । यसले विद्यालय सञ्चालन र विद्यार्थीको भविष्य निर्माणमा सहयोग पु¥याएको छ । अनलाइन कक्षाको राम्रा र नराम्रा पक्षहरू यस प्रकार छन्:

अनलाइन कक्षाका फाइदाहरू
–विद्यार्थी र शिक्षकलाई विद्यालय गइरहनु पर्ने झन्झटबाट मुक्त गराउँछ ।
–विद्यार्थीमा अनावश्यक सरुवा रोगको खतरा न्यून हुन्छ ।
–विद्यार्थीमा स्वअध्ययन गर्ने बानीको विकास हुन्छ ।
–विद्यार्थी दुर्घटना हुने खतरा कम हुन्छ । –अनावश्यक झोला तथा खाजा बोक्नुपर्ने झन्झट कम हुन्छ ।
–विद्यार्थी र शिक्षकको समयको बचत हुन्छ ।
–शिक्षक जुन स्थानमा भए पनि प्रविधिको माध्यमबाट कक्षा सञ्चालन गर्न सकिन्छ ।
–विद्यार्थीलाई सूचना प्रविधिसँग परिचित हुन सहज हुन्छ । शिक्षा खोजमूलक हुन्छ, जसको कारण हामीलाई शैक्षिक क्षेत्रमा विश्व बजारमा समायोजन हुन सहज हुन्छ ।
–विद्यार्थी सिर्जनशील हुन्छ । आफ्नो प्रतिभा सहज तरिकाले नडराइकन प्रस्तुत गर्न सक्छ ।
–अनावश्यक र खराब बानी भएका साथीको सङ्गत नहुँदा कुलतबाट बच्न सजिलो हुन्छ ।
–आफ्नै परिवारसँग बसेर शिक्षा हासिल गर्न पाइन्छ ।
–सरकारको नीतिमा पनि प्राविधिक शिक्षामा जोड दिँदा सबैको आकर्षण बढ्दै गएको छ ।
अनलाइन कक्षाका बेफाइदाहरू
–दुर्गम ठाउँ, नेटवर्क र विद्युत् भएको र बिजुली गइरहने स्थानमा अप्रभावकारी हुन्छ ।
–विद्यार्थी शिक्षकको नियन्त्रणबाहिर हुँदा अनावश्यक कुरामा अलमलिएर पढाइमा ध्यान नदिने हुन्छ ।
–विद्यार्थीको निरन्तर कम्प्युटर तथा मोबाइलको प्रयोगले आँखामा समस्या हुन सक्छ ।
–प्रत्यक्ष रूपमा गरेर सिक्ने वातावरण र सामग्री नहुन सक्छ ।
–विद्यार्थीको अनावश्यक कुरामा ध्यान गई अनावश्यक भिडियो गेमलगायतका कुरामा लत बस्न सक्छ ।
–कमजोर प्राविधिक ज्ञानको कारण शिक्षण सिकाइमा समस्या उत्पन्न हुन सक्छ ।
–सरकारको नीति पूर्ण प्रविधिमैत्री नभएको कारण गरिब विद्यार्थीलाई कम्प्यूटर मोबाइल तथा त्यसमा खपत हुने डाटाको उपलब्धतामा समस्या हुने गरेको छ ।
–विद्यार्थी र शिक्षकबीच निकट सम्बन्ध नहुने, अनुशासन र नैतिक शिक्षा कमजोर बन्दै जान्छ ।

यो युग कम्प्युरटरको युग हो । यही प्रविधिको कारण विश्व एउटा कुनामा रूपान्तरण भएको छ । जसको परिणाम स्वरूप हामीले सीमाविहीन रूपमा विश्वव्यापी शिक्षासँग परिचित हून पाएका छौँ ।

अनलाइन कक्षालाई नीतिगतरूमा नै व्यवस्था गरी यसका कमजोरीलाई सुधार्दै यसको प्रभावकारितालाई जोड दिने हो भने शिक्षालाई थप सशक्त, प्रभावकारी, व्यावहारिक तथा वैज्ञानिक बनाउन सकिन्छ । यसमा सम्बन्धित सरोकारवाला सबैले भूतको समीक्षा, वर्तमानको आवश्यकता पहिचान र भविष्यको आँकलन गरी आवश्यक कदम चाल्नु जरुरी छ ।