वर्तमान अवस्थामा प्रायः सबै शिक्षालयहरू बन्द छन् । तथापि अनलाइन कक्षा भने यस पटक व्यवस्थित रूपमा सञ्चालित छन् । अनलाइन कक्षा अहिले सबैका लागि ‘नखाउँ त दिनभरिको शिकार, खाउँ त कान्छा बाबुको अनुहार’ जस्तै भएको छ । यसमा संलग्न शिक्षक, विद्यार्थी तथा अभिभावकहरूले यस तथ्यलाई मनन् गरेका होलान् । अनलाइन कक्षाका केही फाइदा र बेफाइदाहरूलाई यहाँ केलाउने प्रयास गरिएको छ ।

सूचनामा पहँुचः अनलाइन कक्षाले गर्दा चाहिने उपकरण, स्रोत जुटाउनु पर्ने हुन्छ । यसका लागि ल्यापटप, राम्रो मोबाइल, इन्टरनेट सेवा लिने त कतै डाटा लिएर पनि प्रयोग गर्न सकिन्छ । यसरी इन्टरनेटको प्रयोग गर्दा आफूलाई उपयोगी हुने विभिन्न वस्तु, क्षेत्रको घरमै बसीबसी जानकारी र सूचना लिन सक्छौं । सामाजिक सञ्जालको सदुपयोगले हामी धेरै जानकारी प्राप्त गर्न सक्ने हुन्छौं, जसलाई फाइदाको रूपमा लिन सकिन्छ ।

कक्षा चढ्ने अवसरः अनलाइन कक्षा लिएपछि विद्यालयलाई पनि आफ्ना विद्यार्थीहरूको परीक्षा लिन, आन्तरिक मूल्याङ्कन गर्न सजिलो हुन्छ । यसबाट आवश्यक प्रक्रिया पु¥याई विद्यार्थीहरूको स्तरोन्नति वा कक्षा चढाउन सकिने हुन्छ । यसरी अनलाइन कक्षा लिएर पढेका विद्यार्थीहरू वा विद्यालयसँग कुनै न कुनै रूपमा जोडिएका विद्यार्थीहरूको उमेर, पढाइ, पढाइमा गरेको लगानी, आफ्नो मिहिनेत त्यत्तिकै खेर जान पाउँदैन । गतवर्ष र यस वर्षका एसईईका विद्यार्थीहरू तथा अन्य कक्षाका विद्यार्थीहरूले यसरी नै कक्षा चढ्ने मौका पाएका छन् ।

नयाँ प्रविधिको प्रयोग र ज्ञानः केही थोरै व्यक्तिहरूबाहेक कतिपय शिक्षक अभिभावकहरूलाई पनि यस नयाँ प्रविधिको प्रयोगको ज्ञान थिएन होला । तर, कोरोनाले गर्दा नयाँ प्रविधि नजाने पनि जान्नै पर्ने र सिक्नै पर्ने अवस्था आएअनुसार ज्ञान प्राप्त गरे र सोही अनुसार अभ्यस्त पनि बने, जसलाई एउटा महŒवपूर्ण फाइदाको रूपमा लिन सकिन्छ ।

पढाइको निरन्तरताः खाने मुखलाई जुँगाले छेक्दैन भनेजस्तै पढ्ने, लेख्ने चाहना भएका विद्यार्थीहरूलाई पढ्न लेख्न कोरोनाले छेकेन । उनीहरूले अनलाइन कक्षाकै माध्यमबाट भए पनि पढ्न लेख्न पाएका छन्  ।

समयको बचतः नानीहरूलाई तयार पारेर विद्यालय पु¥याउन र लिन जाने समयको पनि बचत भएको छ । विद्यालय जाँदा आउँदा कहिलेकाहीँ लड्दापर्दा हुनसक्ने चोटपटकबाट बच्न र बचाउन पनि यसले मद्दत गरेको छ ।

कुलत, कुसङ्गतबाट छुटकाराः घरबाटै शिक्षा लिन सक्ने भएपछि यो वा त्यो बहानामा नानीहरू बाहिर निस्कन पाएनन् । यसले गर्दा सम्भावित कुलत तथा कुसङ्गतबाट पनि आफ्ना नानीहरूलाई सहजै रूपमा बचाउन सजिलो भएको मान्न सकिन्छ ।

सामिप्यमा नानीहरूः आफ्नै आँखाअगाडि नानीहरू पढ्न, लेख्न बसेका हुन्छन् । कसरी पढ्दैछ, के पढ्दैछ, के गर्दैछ भनेर आफैले आफ्ना नानीहरूको निरीक्षण गर्न सकिन्छ । केही गलत गरेमा वा पढ्न नमानेमा आफैले पनि पढ्न लगाउन सकिने अवसर प्राप्त हुन्छ । नानीहरूको पढाइ मात्र होइन, कुन शिक्षक शिक्षिकाहरूले कसरी पढाइरहेका छन् भन्ने कुरासमेत थाहा पाउन सकिन्छ ।

अरू बेला आफ्ना नानीहरूलाई समय दिन नसक्नेहरू अनलाइन पढाइको बेलामा मनग्य समय दिन सकिने हुन्छ । यसबाट आफ्ना नानीहरूमा अझ धेरै माया, प्रेम बढ्नुका साथै आत्मीयता पनि बढाउने अवसर प्राप्त हुन सक्दछ ।

थप खर्चबाट जोगिनेः आफूसँग मिल्ने साथीहरू समेत मिलेर एउटै घरमा कक्षा सञ्चालन अवधिभर बसेर इन्टरनेटको सेवा प्रयोग गर्न सकिने हुन्छ । यसबाट लाग्ने खर्च सहभागीहरूसँग बाँड्दा खर्च घट्न पुग्छ र दुवैलाई फाइदा पनि हुन्छ । घरमै बसेर पढ्न थालेपछि विद्यालयको पोसाक लगाइरहनु परेन ।

घरकै सामान्य लुगा लगाएर पनि पढ्न लेख्न नानीहरूलाई रोकटोक भएन । खाजा, टिफिन तयार गर्न वा त्यसका लागि थप रकम खर्चिन परेन । विद्यालयमा पुग्न यातायातको व्यवस्था गर्नु परेन । पठाइएको खाजा खाए कि खाएनन्, खाजा किन्ने पैसाले खाजै किने कि किनेनन् भनेर चिन्ता गरिरहनु परेन । सधैँ वा हप्ताको तीन पटकसम्म विद्यालयको पोसाक धोइरहनु परेन । यसरी यी थुप्रै शीर्षकबाट हुने थप खर्चबाट पनि सहजै बच्न सकिने हुन्छ ।

जहाँ बसेर पनि पढ्न सकिनेः धरानका विद्यार्थीहरू कहिलेकाहीँ आफन्तका साथ धरान बाहिर वा घरदेखि अन्यत्र घुम्न वा पाहुना बन्न जान्छन् । आफू गइएको स्थानबाट पनि समय तालिका मिलाएर अनलाइन कक्षा लिन सकिने हुन्छ । यही कुरा पढाउनुहुने शिक्षक शिक्षिकाहरूमा पनि लागू हुन्छ । अनलाइन कक्षाका फाइदाहरू मात्र छैनन् । यसका पनि केही बेफाइदाहरू छन्, जसलाई यसरी चर्चा गर्न खोजिएको छ ।

शारीरिक, मानसिक विकासमा बाधाः विद्यालय बन्द रहेकोले विद्यालयमा हुने विभिन्न प्रतियोगिताहरूबाट विद्यार्थीहरू बञ्चित भएका छन् । यसले गर्दा उनीहरूको शारीरिक र मानसिक विकासमा बाधा पुगेको छ ।

प्रभावकारिताको अभावः भौतिकरूपमा पढाइनुभन्दा अनलाइन कक्षा लिनु दिनुमा धेरै मिहिनेत पर्छ । मिहिनेत अनुसारको फल प्राप्त थोरैलाई हुन सक्छ । विद्यार्थी वा शिक्षकले पढ्दा पढ्दै भिडियो अफ गरेमा, नदेखिने गरी बसिदिएमा कसैको केही लाग्दैन । त्यस्तै पढाउने क्रममा झिमिक झिमिक गर्दै लाइन गएमा इन्टरनेटमा फेरि जोडिन समय लाग्छ । त्यस्तै इन्टरनेट पनि कहिलेकाहीँ गइरहने हुन्छ, कतै यसको सिग्नल कमजोर हुन्छ ।

यता बोलेको उता नसुनिने, उता बोलेको यता नसुनिने त कहिले जोडिन नै नसकिने हुन्छ । यसले गर्दा पनि पढाइको प्रभावकारितामा निकै नराम्रो असर पर्दछ । सेवाप्रदायक कम्पनीले ग्राहकमात्र बढाउने तर, स्तरीयता र सेवा लिने ग्राहकलाई शतप्रतिशत नभए पनि कम्तीमा नब्बे प्रतिशत सन्तुष्टि दिन सक्नु पर्ने हो तर, यथार्थमा त्यस्तो छैन । अझ कम भोल्टेज भए यसले विद्युतीय उपकरणहरू बिग्रने हुँदा पनि समस्या बढाउने गर्दछ ।

आँखा र पैसाको क्षतिः सबै शिक्षक र अभिभावक सम्पन्न हुँदैनन् । अनलाइन कक्षा हुने भएपछि शिक्षक, अभिभावकले ल्यापटप वा कम्तीमा अनलाइन कक्षा चल्ने किसिमको मोबाइल किन्नु पर्ने हुन्छ । सके इन्टरनेट जोड्नु प¥यो नसके डाटा लिएर भए पनि कक्षा लिनु प¥यो । यसबाट थप रकम अवश्य खर्च हुन्छ । त्यस्तै शिक्षक, अभिभावक तथा सम्बन्धित विद्यार्थीहरूले लामो समयसम्म मोबाइलमै पढ्नु, पढाउनु पर्दा आँखा कमजोर हुन सक्छ, दुख्न सक्छ, एकै ठाउँमा बसेर पढ्नु लेखाउनु परे पछि शारीरिक अभ्यासको कमी, रोग र अल्छीपन वृद्घि हुने तथा एकोहोरोेपनको विकास हुन सक्ने सम्भावना हुन्छ, जसलाई बेफाइदाको रूपमा लिन सकिन्छ ।

अत्यधिक संलग्नताः कतिपय विद्यार्थीहरू पढ्ने निहुँले मोबाइलमा अत्यधिक मात्रामा गेम खेल्ने, नचाहिने र हेर्न नमिल्ने विषयवस्तु हेर्ने, मोबाइलमै धेरै समय बिताउने पनि हुन्छन्, जुन पटक्कै राम्रो होइन । कतिपय विद्यालयहरूले अभिभावकहरूलाई सजिलो होस् भनी बिहान, दिउँसो गरी दुई सिफ्टमा अनलाइन कक्षा सञ्चालन गरिरहेका हुन्छन् । यसले अत्यन्त थोरै अभिभावकलाई मात्र सुविधा भएको र शिक्षक शिक्षिकाहरूको बिजोक भएको तिनीहरूले देख्नै सक्दैनन् ।

सानादेखि ठूला नानीहरू भएका अभिभावकहरू बिहानैदेखि दुवै सिफ्टमा अनलाइन कक्षाको निम्ति व्यस्त हुनुपर्ने, खाना पकाउनेदेखि अन्य महŒवपूर्ण काम गर्नसमेत नभ्याउने हुन सक्छन् । त्यस्तै शिक्षक शिक्षिकाहरू पनि बिहानैदेखि अनलाइन कक्षामा व्यस्त हुनुपर्दा उनीहरूको पनि महŒवपूर्ण कामहरू सम्पन्न गर्न असमर्थ हुन्छन् । त्यस्तै वर्गशिक्षकहरूले विषय शिक्षकहरूसँग विद्यार्थीहरूको हाजिरा मागी आँखा तन्काई तन्काई मोबाइलबाटै हाजिरा मिलाउनु पनि कम सकसपूर्ण र दुःखदायी हुन्न ।

कापी जाँचमा सुस्तताः अनलाइन कक्षा सञ्चालन हुँदा लेख्ने अभ्यासहरू पनि दिइन्छन् । ती अभ्यासहरू सही गरे कि गलत भनेर त्यसको मूल्याङ्कनका निम्ति कापी जाँच गर्नुपर्ने हुन्छ । त्यसका लागि निकै थोरै अभिभावक र विद्यार्थीहरू मात्र सक्रिय हुने गर्दछन् तर, धेरै जनाले कापी जँचाउन अल्छी गरेका पनि पाइन्छन् ।

सबैको पहुँचमा कमीः सबै विद्यार्थीहरूका पहुँचमा इन्टरनेटको सुविधा छैन । भएका सबै विद्यार्थीहरू पनि अनलाइन कक्षामा जोडिएका हुँदैनन् । अनलाइन कक्षा लिए शुल्क तिर्नु पर्ला भनेर पन्छिन खोज्ने पनि हुन सक्छन् तर, कक्षा भने चढ्न खोज्छन् । कतिपय अभिभावकहरू यही मौकामा सकेसम्म शुल्क नतिरौं भन्ने सोचका पनि हुन्छन् । तिर्नै परे पनि कमै तिरौं भन्ने सोचका पनि होलान् । अनलाइन कक्षा सञ्चालन गर्दा शिक्षक, विद्यालयले गरेको मिहिनेत र प्रयासलाई चटक्क बिर्सन खोज्छन् । शिक्षक र विद्यालयहरूको विषयमा सकारात्मक ढङ्गले सोच्नु आवश्यक देखिन्छ ।

गोप्यता भङ्गः शिक्षक विद्यार्थीहरूले अनलाइन कक्षा लिँदा दिँदा आफ्नो घरको कोठामा बसेर लिएका हुन्छन् । कुनै बेला दुवै पक्षका व्यक्तिहरू नचाहँदा नचाहँदै कक्षाकै दौरानमा अरूसँग बोल्नुपर्ने अवस्था आउन सक्छ, जुन अरूले पनि थाहा पाउँछन् । त्यस्तै सो ठाउँको वस्तु स्थितिबारे पनि अन्यले चाल पाउने गर्छन् । यसरी व्यक्तिको नैसर्गिक अधिकारको रूपमा रहेको गोप्यता अनलाइन कक्षाले भङ्ग पनि गर्न सक्छ । अनलाइन कक्षाको फाइदा बेफाइदा जे जस्तो भनिए तापनि भौतिकरूपमा विद्यालयमा पढ्न पाउनु नै सर्वोत्तम हो।

विद्यालयमा पढाए जस्तो अनलाइन कक्षा प्रभावकारी मान्न सकिन्न । शतप्रतिशत विद्यार्थीहरूको पहुँच यसमा छैन । त्यस्तै यसले विकृति, विसङ्गति तथा गलत क्रियाकलाप तथा शारीरिक, मानसिक रोग शिक्षक विद्यार्थीहरूमा समेत ल्याउन सक्ने सम्भावनालाई सायद कसैले पनि नकार्न नसक्ला । तैपनि बन्द कोठामा बसी एक्लै पढाउँदै कोरोनाबाट बच्दै बचाउँदै  यस्तो विषम परिस्थितिमा समेत अनलाइन कक्षा सञ्चालन गर्नु महŒवपूर्ण पक्ष हो ।

शिक्षक विद्यार्थीहरूको सम्पर्क रहनु, एकापसमा दोहोरो संवाद गर्न पाउनु यसका राम्रा पक्ष हुन् । यस्तो अवस्थामा पनि नौलो प्रविधि प्रयोग गर्दै शिक्षा दिन तल्लीन रहनु शिक्षक शिक्षिकाहरू लगायत आफ्ना नानीहरूको शिक्षाप्रति सचेत भई सक्रिय भूमिका खेल्ने अभिभावकहरूको कदमलाई पनि अति नै सह्रानीय मान्नै पर्दछ ।