बाबुआमाले केटाकेटीमा माया गरेर बोलाउने नाम काले । खोटाङ्गबाट नुन बोक्न मधेश झरेको निरक्षर काले राई पछि भए डा. स्वामी प्रपन्नाचार्य वेदान्ताचार्य मुमा दिलमाया देवी र बुबा मानधम्बे राई । उनको यो पुस्तक तिनै मातापिताप्रति समर्पित छ । वेदमा के छ ? को पहिलो र दोस्रो संस्करण वनारसमा छापिएपछि वि.सं. २०५० देखि २०७२ सम्ममा नवौं संस्करण साझा प्रकाशनबाट प्रकाशित छन् । ‘ए  काले तैंले गरेर खाँदैनस’ भन्ने मातापिताको भनाइ उनलाई निकै साह्रो गढेको बुझिन्छ । त्यही इखले होला पहाडबाट भरिया भई नुनको भारी लिन धरान ओर्लेका काले राई डा. प्रपन्नाचार्य वेदान्ताचार्य भएर मात्रै फेरि एकपटक आफ्नो गाउँ पहाड पुगेका हुनसक्छन् । इख नभएको मान्छे र विष नभएको सर्प काम लाग्दैन भन्ने उखान चरितार्थ गरेका छन् उनले । उनको अठोटलाई सलाम छ ।

त्यसैले होला यस पुस्तकको प्रथम संस्करणको भूमिकामा लेखेका छन् ( यो ग्रन्थ मैले वेद जान्ने धुरन्धर विद्वान्हरूका लागि लेखेको होइन, न त ती इतिहासका पानामाथि दगुर्नेहरूका निम्ति । ती दुवैदेखि तेस्रो पङ्क्तिमा उभिने निरक्षर विवेकी पाठक एवम् वाचकवृन्दका लागि लेखिएको हो । उनले आफ्नो सङ्घर्षमय जीवनयात्रामा हिँड्दै गर्दा पञ्जावको राजधानी चण्डीगढ पुग्दाको स्मरण लेख्दै भनेका छन् भाँचिएका, टुटेका, फुटेका काम नलाग्ने चीजवस्तुहरू पनि असल कालीगढको हातमा परेर मूल्यवान हुँदा रहेछन् । ती वस्तुहरूको उपयोग गरेर कलात्मक ढङ्गले सङ्ग्राहलयमा उभ्याई दिएकाले हजारौं लाखौं देशीविदेशी पर्यटकहरूको आकर्षणको केन्द्र बन्दै आम्दानीको ठूलो स्रोत बन्न पुगेको कुराबाट उनी प्रभावित छन् । भागवतमा दत्तात्रयका छब्बिस गुरुजस्तै चण्डीगढको सङ्ग्रहालयलाई पनि उनले एउटा गुरु ठह¥याएका छन् । वेदमा के छ ? भन्ने उनको पुस्तकमा वेदको आशय र त्यसमा अङ्कित विविध ज्ञान विज्ञानका कुराहरूलाई सरल ढङ्गले वर्णन गर्दै आफ्नो ज्ञान र विवेकको राम्रो परिचय दिएका छन् उनले ।

उनले ऋगवेदलाई प्राचीन आर्यहरूको इतिहास मात्र भनेका छैनन् । अपितु समस्त मानवको पहिलो ग्रन्थ भनेका छन् । यो पुस्तक ई.स. १९७० मा लेखिसकेको हो । तथापि भारतका विभिन्न ठाउँमा जहाँ नेपालीहरू बसोबास गरेका छन् त्यहाँ–त्यहाँ पुगेर पुस्तक प्रकाशनका लागि हारगुहार मागे तापनि कतैबाट केही नपाएर निराश भई फर्केको कुरा विरक्तिपूर्ण शैलीमा उल्लेख गरेको देख्दा पाठकको मुटु छुन्छ । प्रथम र दोस्रो संस्करण प्रकाशन गर्दा गरेका र भोगेका उनका कुरा ज्यादै पीडादायी छन् । वेदमा के छ ? पुस्तकभित्र आर्यहरूको साङ्गोपाङ्ग उतारेका छन् उनले । त्यतिमात्र होइन विश्वमा प्रसिद्ध धर्मग्रन्थहरू, धर्माचार्यहरू आदिबारे पनि खुलस्त गरेका छन् । ईसा मसिह पनि आर्यपुत्र नै थिए भन्ने कुराको प्रमाण दिँदै उनले लेखेका छन्–अन्य सबै धर्महरू हिन्दूधर्मबाट फुटेर गएका हाँगाबिगा मात्रै हुन् ।

ईसाले १८ वर्षको आफ्नो जीवन भारत खण्डको जम्बुदीपमा बिताएका थिए । यो कुरा डा. नोटोबीचले ४० वर्षसम्म खोज गर्दै तिब्बतको हिमोस बौद्धलामाहरूको गुम्बामा पुगी पत्ता लगाएका थिए । यो तथ्यलाई स्मिथ, विन्टरनीज, ईलियट तथा अरू पनि विद्वान्हरूले स्वीकार गरेका छन् । साथै रामसुखदासद्वारा लिखित ‘क्या इसाका धर्म पहिले भारत में चला ? डिसेम्बर १९७८ को लेखमाला पनि मनन् योग्य छ । यसमा लेखकले ईसा फिलिस्तानमा सुलीमा मरेका होइनन् भन्ने कुरा पनि सिद्ध गरेका छन् । डा.जकालियटको इन्डिया इन वाइवलमा वेदशास्त्र, पुराण, गीता, महाभारत, रामायण आदि ग्रन्थहरूबाटै ईसाको न्यू टेस्टामेन्ट बनेको हो भनेर पुष्टि गरिएको छ ।

यसै प्रकारले मुसलमानहरूको धार्मिक ग्रन्थ कुरानमा ‘सुरते निशा पारा’ भन्ने प्रकरणमा पनि ईसा सुलीमा मरेनन् । अन्यत्रै गए भनिएको पाइन्छ । विश्वका झण्डै सय करोड इसाईहरूको धर्माचार्यमाथि लेखिएका प्रमाणहरूबाट इसा हिन्दू नै सिद्ध भएको देखिन्छ । त्यसैगरी स्वामी डा. प्रपन्नाचार्यले उनको वेदमा के छ ? भन्ने ग्रन्थमा इस्लामधर्मका आदि प्रवर्तक पनि हिन्दू कै सन्तान थिए भनी लेखेका छन् । हिन्दू धर्म अत्यन्तै पुरानो र सनातनी भएकाले यी सबै प्रमाणहरू सत्य होइन भन्ने कुनै आधार देखिँदैन । उनको पुस्तकमा वेद शब्दको अर्थ वर्णन यसरी गरिएको छ–जसबाट धर्मादि पुरूषार्थलाई राम्रोसँग जान्न, बुझ्न, केलाउन सक्छौं त्यसलाई वेद भनिन्छ ।

उत्तिष्ठत ज्याग्रत प्राप्य वरान्नी बोधतः अर्थात् अज्ञानरूपी आलस्यरूपी पौरषहीन निन्द्राबाट जाग्ने, जगाउने बाटो देखाउने ज्ञानराशीको नाम वेद हो । हिन्दू शब्दलाई अत्यन्त आधुनिक हो भन्ने केही अधकल्चा विद्वान्हरूले हावामा बकेको पनि सुनिन्छ । तर यस कुराकोे उनीहरू कुनै प्रमाण पेश गर्न सक्तैनन् । जेम्स हेस्टिङ्गसद्वारा लिखित ‘इनसाइक्लोपेडिया अफ रिलिजन्स एण्ड एथिक्स’ नामक ग्रन्थको पृष्ठ ३८६ मा हिन्दू शब्दको प्राचीनता दर्शाउँदै इसापूर्व ४८६ वर्ष पहिले लेखिएको शिलालेखमा हिन्दू र हिन्दुस दुवै उल्लेख पाइन्छ भनेका छन् ।

प्राचीन ग्रिक, मिश्र आदिको इतिहासमा पनि हिन्दू शब्दको उल्लेख पाइन्छ । हिन्दूमा सङ्किर्णता छैन । प्राचीन मानवको समस्त इतिहास लुकेको छ । तसर्थ समस्त आर्य वाङ्गमयमा मात्र होइन, विश्वको प्राचीन इतिहास, भूगोल, पुरातत्व शिलालेख इत्यादि सम्पूर्ण ग्रन्थ र दस्तावेजहरूमा हिन्दुत्वको उल्लेख पाइन्छ । अतः हिन्दू धर्मशास्त्र भन्दा प्राचीन अर्को शास्त्र छैन । पाश्चात्य विद्वान्हरूले पनि यसलाई स्वीकारेका छन् । काल्से राक्स भन्छन्–हामीले वेदहरूबाट धेरै कुरा सिक्छौं । वेदले हामीलाई ज्ञान मात्र दिएको छैन । वेदले विज्ञान पनि सिकाउँछ । सबैभन्दा महत्वपूर्ण कुरा हामी ईश्वरलाई कसरी जान्ने भन्ने कुरा वेदबाट सिक्छौं ।

त्यसैगरी ज्याकलियटले आफ्नो ग्रन्थ ‘दि बाइवल इन इण्डिया’मा प्रष्ट लेखका छन् । ईश्वरीय ग्रन्थहरूमा वेदमात्र यस्तो ग्रन्थ हो जसको विचार वर्तमान विज्ञानसँग पूर्णतया मेल खान्छ किनभने वेदमा विज्ञानका अनुसार श्रष्टिको क्रमिक रचनाको प्रतिपादन छ ।

पुस्तकभित्र विश्वतच्छिरोमणि धर्मगुरु निलकण्ठ शास्त्री, दार्शनिक प्रवर वेदानन्दझा प्राचार्य, मोतिनाथ संस्कृत महाविद्यालय, इतिहास मर्मज्ञ आँशुकवि योगी नरहरिनाथ शास्त्री, पण्डित शेषराज शर्मा रेग्मी पूर्व अध्यक्ष नेपाली विभाग, हिन्दू विश्वविद्यालय वाराणसी, पण्डित जगन्नाथ शर्मा कण्डेल, नेपाली विभागध्यक्ष, सम्पूर्णणान्न्द संस्कृत विश्वविद्यालय वाराणसी । डिल्लीराम तिमिल्सिना पूर्व विभागाध्यक्ष नेपाली विभाग काँशी हिन्दू विश्वविद्यालय, वाराणसी । आदिका सम्मति शुभेच्छा र पुस्तकको महत्वबारेका लेख एवम् विचारहरू पनि समावेश छन् ।

ऋगवेदमा जम्मा दश मण्डल छन् । प्रत्येक मण्डलमा उष्टक, अध्याय, वर्ग, अनुवाक, सूक्तरूपमा विभाजित गरिएका छन् । प्रत्येक सूक्तमा पनि कैयौं मन्त्र हुन्छन् । ऋगवेद आर्यपुर्खाहरूको सर्वश्व नै हो र यो विश्वभरिकै प्राचीनतम ग्रन्थ पनि मानिएको छ । वेद चार संहितामा बाँडिएको छ । तीमध्ये सबैभन्दा ठूलो र प्राचीन ऋगवेद नै हो । यजुर्वेद संहिता र सामवेद संहिता यसै ऋगवेदको मध्यमा पाइन्छ । तर यजुर्वेद र सामवेदको बेग्लावेग्लै पुस्तक र अस्तित्व पनि छ । यजुर्वेदमा कर्मकाण्ड प्रधान मन्त्रहरूको सङ्ग्रह भएको छ र यसमा ४० अध्याय छन् ।

अथर्ववेद संहिता चाहिँ ऋगवेद जस्तै छ । यसभित्र २० काण्ड छन् । यसमा पनि झारफुक, ओखति, मारण, मोहन, उच्चाटन, सिउने, बुन्ने आदिदेखि लिएर समस्त राष्ट्रको हित विचार आदिको वर्णन छ । अतः स्वामी प्रपन्नाचार्यको विचार अनुभूति आधुनिक समाजका लागि प्रेरणाको स्रोत बन्न पुगेको छ ।