इटहरी । १४ वर्षको उमेरदेखि फर्निचर बनाउँदै आएका भारतको विहार स्थित दरभङ्गाका २८ वर्षीय दिलिप शर्माले इटहरीमा बसेर मासिक ६० हजारभन्दा बढी कमाउँदै आएका छन् ।

रोजगारीको सिलसिलामा इटहरी आएका दिलिपको परिवारलाई यही पेशाले धानेको छ । घर तथा इन्टरियल डिजाइनमा सिपालु दिलिपलाई काम नपाउने समस्या पनि छैन ।

लामो समयदेखि इटहरी क्षेत्रमा घर सजाउने फर्निचर बनाउँदै आएका उनको लागि विदेश भनेकै इटहरी हो रे । दिलिप भन्छन्, ‘म भारतबाट आएको मान्छे, मेरो लागि साउदी, कतार यही हो ।’ पुख्र्याैली पेशा नै फर्निचरमा काम गर्ने बताउने उनी भन्छन्, ‘मैले यही पेशाबाट मासिक ६० हजारभन्दा बढी कमाउँदै आएको छु ।’ फर्निचर तथा फर्निसिङले घरभित्रको सौन्दर्य झल्काउँछ । घरभित्रको वातावरण सुन्दर र आकर्षक बनाउन फर्निचर तथा फर्निसिङको प्रयोग गर्ने गरेकाले आफ्नो काम बाह्रै महिना हुने गरेको दिलिपको भनाइ छ । दिलिपले विशेषगरी प्लाइबाट अत्यन्तै सुन्दर फर्निचर निर्माण गर्ने गरेको दाबी गर्छन् । उनी नेपाल बसेको पनि करिब ७ वर्ष भइसक्यो तर, उनले काम नपाएर भौंतारिनु परेको छैन ।

आयस्रोत वृद्धि र परिवर्तित जीवनशैलीले व्यापार बढ्दो छ । ‘घर सजाउनका लागि फर्निचर अत्यावश्यक भइसकेको कारण काम नपाइने कुरै छैन’ उनी थप्छन्, ‘पहिलाजस्तो फर्निचर खरिद गर्न दशैं पर्खिने चलन छैन ।’

बेडरुम, किचन, डाइनिङ रुम, अफिस सेटिङ, मोडुलर दराजलगायत सामग्री बनाउने गरेको उनी बताउँछन् । उनले विद्यालय शिक्षा पढेका छैनन् । तर, आफ्नो कामको लागि दक्ष छन् । घर र कोठाको आकारअनुसार फर्निचर बनाउन आफू सिपालु भएको बताउने उनी भन्छन्, ‘कोठा सुहाउँदो फर्निचर बनाउन मलाई आउँछ ।  उचित डिजाइनका फर्निचर छनोट गर्दा धेरै कुरामा ख्याल राख्नुपर्छ ।’ प्लाइका फर्निचरहरू बनाउँदै आएको उनी आफ्नो काम र कमाइमा खुसी छन् ।

भारत दरभङ्गाकै टुनटुन कुमार पनि उमेरले १८ वर्ष मात्र लागे । तर, उमेर कमै भए पनि उनी पनि आफ्नो पेशामा मिहिनेत गरिरहेका छन् । नेपाली २० देखि ३० हजारसम्म मासिक कमाउने गरेको उनी सुनाउँछन् । दिलिपका आफन्तसमेत रहेका टुनटुन भविष्यमा ठूलो मिस्त्री हुने लक्ष्य राखेको बताउँछन् ।

दिलिपले नै यहाँ राम्रो कमाइ हुन थालेपछि अहिले आफन्तहरूलाई यही पेशामा उत्साहित गर्न थालेका छन् । स्थानीय तहमा फर्निचर व्यवसाय एउटा महŒवपूर्ण सम्भावना भएको क्षेत्र देखिएको छ । गाउँमा घरहरू निर्माण क्रम बढेकाले यस फर्निचरजन्य वस्तु बनाउन र निर्माणाधीन घर–घरमा गएर समेत राम्रो आम्दानी गर्न सकिने सम्भावना रहेको लामो समयदेखि इटहरी आसपासमा काम गर्दै आएका भारतकै अजय शर्मा बताउँछन् । यसरी गाउँ–गाउँमा पनि फर्निचरका काम गर्न सकिने र प्रशस्त आम्दानी गर्न सकिने भएकाले आफुहरु यो व्यवसायमा लागेको उनीहरु बताउँछन ।

इन्टेरियर डिजाइनरले सजाउँदा आकर्षक हुन थालेपछि सेवाग्राहीले आफू बस्ने कोठा मात्र होइन किचन, बाथरुम, घरको बरण्डादेखि लिएर बगैंचासम्म सजाउने क्रम बढेको छ, जसका कारण डिजाइनरहरूको व्यस्तता पनि बढेको छ । त्यसकारण ४० हजार रुपैयाँ कमाउन मेनपावर धाएर विदेश जाने नेपाली युवा जमातले यहीँ केही गर्न सिक्ने हो कि ? अर्काको देशमा गएर रोजगारी खोज्नेहरू आफ्नै देशमा मिहिनेत गर्न किन लजाइरहेका छन् ?