विजयपुर / स्वास्थ्य मन्त्रालय र विज्ञहरूले जोखिम कायमै रहेको बताइ रहँदा धरानका विद्यालय भौतिक रूपमा सञ्चालन गर्न सबै पक्ष सकारात्मक रहेको पाइएको छ ।

भौतिक उपस्थितिमा विद्यालय सञ्चालन गर्दा जोखिम भए पनि सराेकारवाला पक्ष भने सकारात्मक रहेका छन् । विद्यालयका सरोकारवाला पक्षहरू, विद्यार्थी, अभिभावक, विद्यालय सञ्चालकलगायत प्रध्यानाध्यापकहरूले भौतिक रूपमा शैक्षिक गतिविधि गर्नुपर्ने बताउँछन् ।

त्यसका लागि स्थानीय सरकारले विद्यालयले आफ्नो आवश्यकतामा विद्यालय सञ्चालन गर्न अधिकार दिनु पर्ने प्रध्यानाध्यापकहरूले बताएका छन् ।

अभिभावक माया रसाइलीले न्यूनतम स्वास्थ्यका मापदण्ड पुरा गरेर भौतिक रूपमा विद्यालय सञ्चालन गर्नुपर्ने बताइन् । उनले भनिन्, ‘भाइरस कहिले हट्छ निश्चित छैन, कहिलेसम्म पढ्नबाट वञ्चित गर्ने ।’ अभिभावक विनोद तिमिल्सिना भौतिक रूपमा शैक्षिक क्रियाकलाप गर्नु राम्रो भएको बताउँछन् । तर, उनले व्यापारका लागि मात्रै सञ्चालन गर्न नहुने बताउँछन् ।

‘व्यापार मात्रै होइन, नयाँ भेरियण्ट आउन सक्छ, सतर्कता अपनाउनुपर्छ,  उपमहानगरले नियमित अनुगमन गरी स्वास्थ्यका मापदण्ड नअपनाउने विद्यालयलाई कारबाही गर्नु पर्यो ।’ उनले भने, ‘सतर्कता अपनाउन सकिएन विद्यालय सञ्चालन महामारीमा निम्त्याउने माध्यम मात्रै बन्छ ।’अभिभावक अमृत मानन्धर विद्यालय खोल्नै पर्ने बताए ।

कोरोना मात्रै नभएर बालबच्चा डिप्रशनमा परिसकेको बताए । उनले भने, ‘बालबच्चा बिरामीको सिकार भइसके, कोरोना भन्दा जटिल रोगहरू देखिने सम्भावना छ, परिणाम पछि देखिन सक्छ ।’

पब्लिक हाइ स्कुलका प्रधानाध्यापक इन्द्र मोहन झाले बजार पसल सबै खुल्ला रहेको अवस्था विद्यालय मात्रै बन्द गर्नुको औचित्य नरहेको बताए । उनले अभिभावकको पनि अनलाइन कक्षाको विषयमा गुनासा आइरहेकाले सञ्चालन गर्नु पर्ने बताए । तर, विद्यालयले रिक्स भने दिन नसक्ने उनले बताए ।

‘सबै विद्यालयलाई एउटै बास्केटमा राख्नु हुँदैन, विद्यालयको आवश्यकताअनुसार कक्षा सञ्चालन गर्न अनुमति दिनुपर्छ ।’ स्वास्थ्यका मापदण्ड पुरा गरी अनलाइन कक्षाको पहुचमा नभएकालाई तल्ला कक्षाका विद्यार्थीलाई भौतिक उपस्थिति अध्ययन गराउने तयारी रहेको उनले बताए । शिक्षा सदनका प्रधानाध्यापक अम्बरबहादुर बस्नेतले कोरोना भाइरसको सङ्क्रमण दर घट्दो अवस्था रहेकाले चरण चरणमा कक्षा सञ्चालन गर्न लागेको बताए ।

उनले भने,  ‘एकै चोटि सबै विद्यार्थी आउँदा स्वास्थ्य मापदण्ड अपनाउन सकिँदैन ।’ एनप्याब्सनका केन्द्रीय सदस्य तथा पूर्व एसीसी अध्यक्ष राजेन्द्र गुरुङले स्वास्थ्य मापदण्डलाई पूर्ण पालना गरेर सञ्चालन गर्नुपर्ने बताए । कक्षा सञ्चालन चरणगत रूपमा सञ्चालन गर्ने उनले बताए । उनले आफ्नो मात्रै निर्णयले सञ्चालन गर्ने नभई स्थानीय सरकारसँगको सहकार्यमा भएकाले जोखिम बहन गर्न नसक्ने बताएँ ।

तेस्रो लहरको उच्च जोखिम हुनेः जनस्वास्थ्य

दोस्रो लहरको कोरोनाको संक्रमण दर केही नियन्त्रण भए पनि तेस्रो लहर आउने भएकाले विद्यालय तत्काल भौतिक रूपमा सञ्चालन गर्न जोखिम नै रहेको छ ।

जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्र सुनसरीले शैक्षिक संस्था भौतिक रूपमा सञ्चालन गर्ने निर्णय गर्न स्थानीय तहलाई दिए पनि स्वास्थ्य मन्त्रालय तथा विज्ञहरूले भने विद्यालय भौतिक रूपमा सञ्चालन गर्न जोखिम रहेको बताउँदै आएका छन् । जनस्वास्थ्य कार्यालय सुृनसरीका प्रमुख उमेश पर्साइले कोराना भाइरसको दोस्रो लहर घट्दै गएपनि जोखिम भने कायमै रहने बताए ।

उनले भाइरस सधैभरी नरहने र स्वास्थ्यका मापदण्ड पुरा गरेकाले पनि नियन्त्रण भएको बताए । ‘नयाँ किसिमको भाइरसमा आउने डर छ, अर्को चरण झन् कडा आउन सक्छ, सतर्क रहनुपर्छ ।’ उनले भने, ‘तेस्रो भेरियण्ट अहिलेसम्म आएको छैन, आए विद्यालय सञ्चालन गर्दा ठुलो जोखिम हुन्छ ।’

भारतमा नयाँ भाइरस देखियो भने नाका सिल गर्नुपर्ने र आउनेलाई कोरेन्टाइनमा राख्नुपर्ने उनको भनाई छ । उनले स्वास्थ्य मन्त्रालयले पनि तत्काल विद्यालय भौतिक रूपमा सञ्चालन नगर्न आग्रह गरेको बताए ।  धरान उपमहानगरका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले  धरानमा हाल उच्च जोखिम नरहेको बताए ।

उनले भाइरस आफै कमजोर भएको र अनुगमन गरी स्वास्थ्यका मापदण्डमा कडाइ गरेकाले नियन्त्रण भएको बताए । उनले भने, ‘एक वर्षपछि भाइरस आफै कमजोर हुन्छ, स्वास्थ्य मापदण्ड कडाई नगरेको भए सात आठ जनाको मृत्यु हुन सक्थ्यो ।’