कतिपटक अन्जानमा वा हतारमा तपाईंहरु सडक ‘लेनक्रस’ गर्दा कारबाहीमा पर्नु भएको होला । प्राय काठमाडौं उपत्यका बाहिर ‘लेन’ अनुशासनविरुद्ध कमैमात्रामा कारबाहीमा परेको सुनिन्छ । तर उपत्यकामा सवारी चलाउनु हुन्छ भने पक्कै तपाईंले लेन अनुशासनमा सजग रहेको हुनुपर्छ । 

अत्यधिक सवारी चाप भएका ठाउँमा सवारी व्यवस्थापन गर्न र सडक अगाडि परसम्म नदेखिने ठाउँ, घुम्ती र मोडहरुका सडकमा ‘लेन’ छुट्याउन प्राय ‘सोलिड लाइन’ वा ‘कन्टिनियस लाइन’ (सिधा तेर्सो सेतो धर्को) तानेको देखिन्छ । यसको अर्थ हुन्छ आफ्नो ‘लेन’ अर्थात् आफू गुडिरहेको सडकको भाग भन्दा अर्को भाग (लेन) मा जान हुँदैन । तर यो सिधा धर्को पार गर्न सक्ने अवस्था पनि हुन्छ । 

सडक अगाडि कुनै सवारी बिग्रिएको छ भने, रुख ढलेको छ भने, कुनै बाधा छ भने र आफ्नो अवस्था सुरक्षित भएपछि ‘सोलिड लाइन’ क्रस गरेर अर्को लेनमा प्रवेश गर्न सकिन्छ । सडक छाड्ने वा प्रवेश गर्ने समयमा, आकस्मिक बिसौनी, सडकको विपरीत दिशामा पार्किङ छ भने पनि सोलिड लाइन पार गर्न सकिन्छ ।

अन्यथा सिंगल सोलिड लाइन प्रवेश गर्न सकिंदैन ।  

सुनसरीको धरान उपमहानगरपालिकाको भोटेपुलदेखि वरगाछीसम्म सिंगल सोलिड लाइन भएका ठाउँमा अर्को तेर्सो धर्को पनि तानिएको छ । यो डबल सोलिड लाइनले सवारी चालकलाई पनि तनाव थपिएको छ । यदि सवारी चालक लेन अनुशासनको पालना गर्छन्, ट्राफिक नियमसम्बन्धी जानकार छन् भने भोटेपुल आइपुगेका सवारी चालकले भानुचोक फर्कन वरगाछी प्रहरी बिटसम्म आइपुग्नु पर्छ । किन भने भोटेपुलदेखि वरगाछीसम्म ‘डबल सोलिड लाइन’ वा ‘डबल कन्टिनियस लाइन’ तानिएको हुन्छ । यसको अर्थ कुनै पनि हालतमा यो रेखा तानिएको ठाउँमा लेन क्रस गर्न पाइँदैन । यो डिभाइडरजस्तै हो, जसलाई सवारीले पार गरेर जान सक्दैनन् । 

doubble solid line dharan


‘यो नौलो प्रयोग हो, धेरै सावारी चालकले यो बुझ्नु भएको पनि हुँदैन,’ क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रवक्ता डिएसपी सुमन तिम्सिनाले भने, ‘यो लाइनको काम डिभाइडरको जस्तो हो ।’

सडक डिभिजन कार्यालय विराटनगरबाट ‘सर्ट टर्म’का लागि डिभाइडर आवश्यक पर्ने ठाउँमा यस्तो रेखा खिचिएको डिएसपी तिम्सिनाले बताए । ‘रोडहरु स्पाम हुने अवस्था, अन्डर कन्स्ट्रक्सन रोडहरुमा ‘सर्ट टर्म’का लागि यस्तो लाइन खिचिन्छ,’ उनले भने, ‘यसले नो राइट टर्न, नो ओभरटेक दुवै लाई जनाउँछ, यसले डिभाइडरको काम गर्छ ।’

यही ‘डबल सोलिड लाइन’ तानिएकै सडक खण्डमा जिल्ला ट्राफिक प्रहरी कार्यालय पनि छ । सडकले समन्वयबिनै लाइन तानेको प्रहरी स्रोत बताउँछ । भोटेपुलदेखि वरगाछीसम्म थुप्रै ठाउँमा सहायक मार्गहरु छन् । त्यसतर्फ जानका लागि पनि ‘लेन’  क्रस गर्नुपर्ने हुन्छ । यो व्यवहारिक देखिंदैन ।  

‘चालक सचेत भएको अवस्थामा ती एरियामा ओभरटेक गर्न, जहीँतहीँबाट राइट टर्न लिन कमि हुन्छ । यसले गति नियन्त्रण गर्छ । र दुर्घटनामा कमि गराउँछ,’ क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रवक्ता डिएसपी तिम्सिना भन्छन्, ‘सर्ट ट्रम प्रोग्राम’ भएकाले व्यवहारिकता हेर्नु भएन, ट्राफिक कार्यालयबाट लेफ्ट लागेपछि वरगाछी तलबाटमात्रै टर्न लिएर भानुचोक जानु पर्ने अवस्था छ ।’ 

तिम्सिनाका अनुसार कोशी हाइवे निर्माणका क्रममा रहेकाले यो लाइन खिचिएको हो । उनका अनुसार यो सडकमा चौडाइ नबढी पुनःमर्मत हुन नसक्ने अवस्था भए त्यहाँ डिभाइडर राखिन्छ । डिभाइडर राखिएपछि त्यहाँको अप्ठ्यारो सम्बोधन हुन्छ । 

‘सडकले हामीसँग, नगरसँग, स्थानीय बजार व्यवस्थापनसँग समन्वयात्मक काम गर्छ, अहिलेलाई ‘नर्मल्ली’ दुर्घटना न्यूनीकरण र ‘नो राइट टर्न प्राक्टिस’ गर्न यो स्किम ल्याइएको अवस्था छ ।’ डिएसपी तिम्सिनाले भने । 

धेरै सवारी चालक भने लेन छुट्याउने यो डबल लाइनका बारे अनभिज्ञ जस्तै छन् । यो डबल सोलिड लाइनको लेन अनुशासनअनुसार पालना भएको पाइएको छैन ।