बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुधार आन्दोलन सुरु भएको ढेड महिना भइसक्यो । यसबीचमा घटनाक्रमले नयाँ–नयाँ मोड लियो । अहिलेसम्म एकपछि अर्को बदमासी सार्वजनिक भइरहेका छन् । तर, प्रतिष्ठान कहिलेबाट र कस्तो रुपमा सुधार होला ? टुङ्गो छैन । 

देशकै नमूना स्वास्थ्य संस्था बनाउने उद्देश्यले भारतको नामी स्वास्थ्य संस्था एम्सकै शैली अपनाएर सुरु गरिएको बीपी प्रतिष्ठान भने अहिले देशकै बदनाम संस्थाका रुपमा चिनिएको छ । 

आजको ब्लाष्ट दैनिकमा अग्रपृष्ठमा बीपी प्रतिष्ठानः मूलमै छ समस्या शीर्षकमा गोपाल दाहालले लेखेको टिप्पणी प्रकाशित भएको छ । 

प्रतिष्ठानको यो हाल बनाउने काम कसले गरेको हो ? धेरैका लागि सहज जवाफ हो– ‘प्रतिष्ठानकै कर्मचारी र पदाधिकारी’ । तर प्रतिष्ठानलाई यो हदसम्म खोक्रो बनाउने काममा उनीहरु निमित्त मात्र हुन् ।  खासमा राजनीतिक दलका स्थानीय नेतादेखि केन्द्र तहसम्मका नेता हुन् प्रतिष्ठानको हुर्मत लिने । 

व्यक्तिगत फाइदाका लागि प्रतिष्ठानलाई अस्तव्यस्त रजीर्ण बनाउन उनीहरु जस्तोसुकै काम गर्न तयार छन् भन्ने त विभिन्न घटना क्रमले देखाइरहेका छन् । ....


शैक्षिक उपाधि प्रश्न उठ्नुको कारण

प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले आफ्नो नाममा अगाडि (प्रा.डा.) लेख्ने गरेका छन् । उनलाई डाक्टरका रुपमा चिन्ने जान्ने त धेरै छन् तर प्राध्यापकका रुपमा उनलाई चिनाउने आधार कतै भेटिंदैन । 

प्रतिष्ठानका हरेक कागजातमा प्राध्यापक लेख्ने गरेका उनको शैक्षिक उपाधिमाथि पहिल्यैदेखि प्रश्न उठेको हो तर पछिल्लो समय आन्दोलनकारीले यसलाई थप चर्चामा ल्याए । आन्दोलनकारीको प्रमुख मुद्दा मध्ये एउटा प्राध्यापक पदको किर्ते गरिएको भन्ने पनि हो । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले उनलाई २७ चैत २०७६ मा नियुक्ति दिंदा नै ‘डा. ज्ञानेन्द्र गिरी’ मात्र उल्लेख गरेको थियो । 

बिपी प्रतिष्ठानका समस्या र यसको अन्तर्यबारे आजको ब्लाष्ट दैनिकको अग्रपृष्ठमा खबर प्रकाशित भएको छ ।