आज नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३ औं स्मृति दिवस देशभर मनाइँदैछ । 

कम्युनिष्ट पार्टीहरुले विविध कार्यक्रम आयोजना गरी उनको योगदानको चर्चा गर्दैछन् ।

दाजु गंगालाल श्रेष्ठलाई राणा शासकले मृत्युदण्ड दिएपछि पुष्पलालमा क्रान्तिकारी चेतना जागृत भएको थियो । 

२००६ साल वैशाख १० गते उनले नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरेका थिए ।

पूर्वी पहाडी रामेछापको भँगेरीमा १९८१ असार १५ गते जन्मिएका पुष्पलाल श्रेष्ठको भारत प्रवास रहेकै अवस्थामा २०३५ साल साउन ७ गते निधन भएको थियो ।

नेकपा खोल्नुभन्दा अगाडि विसं १९९८ मा उनले प्रेमबहादुर कंसकार, शम्भुराम श्रेष्ठ, सूर्यबहादुर भारद्वाज र रामराजासंँग मिलेर नेपाली प्रजातान्त्रिक सङ्घ गठन गरेका थिए । 

राणा विरोधी आन्दोलनका शहीद गङ्गालाल श्रेष्ठका माइला भाइसमेत रहेका श्रेष्ठ दाजुको हत्या भएपछि १५ वर्षकै उमेरमा राणा शाही विरोधी आन्दोलनमा सक्रिय भए । 

छोरा राजनीतिमा लागेकै कारण पिता भक्तलालको सुब्बाको जागिर खोसिएको थियो ।

आफ्नो जीवनभर सङ्गठन विस्तारमा लागेका उनले विश्व कम्युनिस्ट घोषणापत्रलाई २००५ सालमा नेपालीमा अनुवाद गरी कम्युनिस्ट सिद्धान्तलाई नेपाली मार्क्सवादी विश्लेषकको पहिचान उनले दिएका थिए। २०१७ सालको राजाको कदम पछाडि उनले भूमिगत निर्वासित जीवन बिताएका थिए ।

त्यसपछि पञ्चायती निरङ्कुशताको अन्त्यका लागि ‘संयुक्त जनआन्दोलनको कार्यदिशा’ २०२५ सालमा अगाडि सार्ने उनी पहिलो नेता बने । 

उनले स्थापना गरेको नेकपा विभिन्न चिरामा भए पनि नेपालका प्रायः सबै कम्युनिस्ट पार्टीले पुष्पलालप्रति श्रद्धा राख्ने गरेका छन् ।

नेपाली काङ्ग्रेस लगायत प्रजातान्त्रिक शक्तिसँग मिलेर संयुक्त जनआन्दोलन गरी पञ्चायत व्यवस्था ढाल्नुपर्छ भन्नेमा पुष्पलाल सधैँ लागिरहे । 

यसकारण पनि उनी कम्युनिस्टका लागि मात्र होइन सबै राजनीतिक सिद्धान्तहरूका लागि आदरणीय व्यक्तित्व हुन् । 

स्मृति दिवसका अवसरमा आज नेपाल कम्युनिष्ट पार्टी(एमाले) एवम् एमाले निकट विभिन्न भ्रातृ सङ्गठनहरूले देशभर विभिन्न कार्यक्रमहरूको आयोजना गरेका छन् । कोरोना महामारीका बाबजुद कार्यक्रमहरू स्वास्थ्य मापदण्ड अपनाई केही कार्यक्रमहरू भौतिक उपस्थितमा हुने भएका छन् भने भर्च्युयल प्रविधि मार्फत पनि हुने भएका छन ्।

स्मृति दिवसकै अवसरमा आज एमाले निकट (केपी खेमा)राष्ट्रिय युवासंघ जिल्ला कमिटी सुनसरीले, राष्ट्रिय युवासंघ धरानको व्यवस्थापनमा सर्दु जलाधार क्षत्रमा वृक्षारोपण कार्यक्रमको आयोजना गरेको छ । 

सो कार्यक्रम आज बिहान ७ बजे देखि सुरु भएको छ ।

नेपाली क्रान्तिका सिद्धान्तकारका रूपमा परिचित पुष्पलालले आफ्नो जीवनभर जनताको स्वतन्त्रताका लागि सङ्घर्ष गरे । 

व्यक्तिगत जीवनमा कठोर निर्वासित जीवन बिताउन, अभाव अभावमा बाँच्न र कष्टपूर्ण अवस्थामा मृत्युवरण गर्न परे पनि उनले राष्ट्र र जनताप्रतिको निष्ठालाई कहिल्यै कमजोर हुन दिएनन् ।

नेपालमा साम्यवादी विचारको प्रचार गर्नका लागि पहिलो पटक कम्युनिस्ट पार्टीको घोषणापत्रको नेपालीमा अनुवाद गरेका पुष्पलालको विसं २०३५ साउन ७ गते भारतको नयाँ दिल्लीमा उपचारका क्रममा निधन भएको थियो ।