बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रतिघण्टा १६ सय लिटर अक्सिजन उत्पादन गर्ने मुलुककै सबैभन्दा ठूलो अक्सिजन प्लाण्ट हुँदाहुँदै बिहीबार फेरि २० हजार लिटरको लिक्विड अक्सिजन ट्याङ्की जडान गरिएको छ ।

प्रतिष्ठानमा तीन वर्षअघि ३ करोड २४ लाख रुपैयाँ लागतमा जडान गरिएको अक्सिजन प्लाण्ट बिग्रिरहने, कहिले अक्सिजन उत्पादन नगर्ने, कहिले बुस्टर बिग्रने त कहिले तारै चुँडाएर बिगारिने भएपछि वैकल्पिक व्यवस्थापनका लागि २० हजार लिटरको लिक्विड अक्सिजन भण्डारण गर्ने अक्सिजन ट्याङ्की जडान गरिएको हो ।

प्रतिष्ठानमा अर्को मझौला अक्सिजन प्लाण्ट पनि छ । तर, त्यो पनि बिगारेर मर्मत सम्भार नगरी राखिएकाले पूर्व उपकुलपति बलभद्रप्रसाद दासले नेपालको इन्टरनेशनल डाइग्नोकेन कम्पनीका सञ्चालक विज्ञान अर्याल र भारतीय कम्पनी युनिषी इण्डियालाई शतप्रतिशत भक्तानी दिएर ठूलो प्लाण्ट खरिद गरेका थिए ।

तर, आपूर्ति गर्ने ठेकेदार कम्पनीले बेलैमा जडान नगरी ६ महिनासम्म चौरमा डम्प गरेर फाले पछि अर्का उपकुलपति राजकुमरा रौनियारको पालामा जडान गरिएको थियो । तर, त्यो पनि सञ्चालनमा आएको दुई दिनमै अक्सिजन जेनेरेटर र जियोलाइट कामै नलाग्ने गरी बिग्रिएपछि लामो समय अक्सिजन उत्पादन हुन सकेको थिएन ।

पछिल्ला उपकुलपति डा. ज्ञानेन्द्र गिरीले प्लाण्ट मर्मत सम्भारको खरिद प्रक्रिया नै सार्वजनिक खरिद ऐन तथा नियमावली अनुसार नगरी मर्मत खर्च भनेर डाइग्नोकेनका सञ्चालक अर्याललाई ५५ लाख रुपैयाँ भुक्तानी दिएपछि आधा प्रतिशत मात्र अक्सिजन उत्पादन गर्दै आएको छ । त्यो पनि बेला–बेला बिग्रिरहने र प्रतिष्ठानको इलेक्ट्रोमेड शाखाका कर्मचारीहरूले मर्मत सम्भारको नाममा खर्च निकासा हुँदा कमिसन पाउने लोभले बिगारिरहने र बनाएजस्तो गरिरहने गरेका छन् ।

उक्त प्लाण्टको मर्मत सम्भार गर्ने जिम्मेवारी इलेक्ट्रोमेड शाखा प्रमुख राहुल मिश्रले पाएका छन्, जबकी उनको योग्यता भने इलेक्ट्रोनिक्स इञ्जिनियरिङ (विद्युतीय) सामग्री मर्मत गर्ने मात्र हो । मेडिकल उपकरणको मर्मत सम्भार गर्ने र स्पेशिफिकेसनको विवरण दिने अधिकार भने बायोमेडिकल इञ्जिनियरलाई मात्र हुन्छ । ठूलो प्लाण्टको भरोसा नभएपछि प्रधानमन्त्री कार्यालयबाट सोझै प्रतिष्ठानका लागि भनेर ८० लाख रुपैयाँ लागतमा जडान गरिएको उक्त लिक्विड अक्सिजन ट्याङ्कीको बिहीबारदेखि परीक्षण सुरु भएको छ । 

८० लाख रुपैयाँ लागतको २० हजार लिटर क्षमता भएको उक्त अक्सिजन भण्डारण ट्याङ्की प्रधानमन्त्री कार्यालयले सिधै उपलब्ध गराएको हो । अरूले टेण्डर दर्ता नगरेपछि ट्याङ्की स्थापना गर्ने ठेक्का शङ्कर अग्रवालले पाएका थिए । प्रतिष्ठानमा हाल परीक्षणको रूपमा सञ्चालित उक्त ट्याङ्कीमा किनेर अक्सिजन भरेपछि पाइपलाइनमार्फत् कोभिड–१९ अस्पताल र प्रतिष्ठानका अन्य वार्डमा आपूर्ति गरिने प्रणाली अपनाइएको प्रतिष्ठानका सह–प्रवक्ता डा.चूडामणि पोखरेलले बताए ।

उनले लिक्विड अक्सिजन ट्याङ्कीबाट पाइपलाइनमार्फत् सोझै बिरामीको बेडमा पु¥याइने भएकाले सिलिण्डरहरूमा भरेर ल्याउने झण्झट नहुने उनले बताए । उनले भने, ‘हामी विस्तारै सिलिण्डरलाई रिप्लेस गर्दै जानेछौं । यसबाट बिरामीलाई अक्सिजनकै कमी भएर ज्यान जाने अवस्थामा सुधार आउने आशा गरिएको छ ।’

नयाँ अक्सिजन ट्याङ्की स्थापना गरेकाले प्रतिष्ठानको आफ्नो प्लाण्ट बिग्रिएमा ‘ब्याकअप’ को रूपमा रहेको उक्त ट्याङ्कीमा अक्सिजन खरिद गरेर भर्ने र त्यसैबाट अस्पतालका विभिन्न वार्ड, इमर्जेन्सी, कोभिड अस्पतालमा पाइपलाइनमार्फत् आपूर्ति गर्ने साथै त्यसले कम्तिमा एक सातासम्म धान्न सकिने सह–प्रवक्ता डा. पोखरेलले बताए ।