भारतीय प्रहरीले जेठ २९ गते नेपालको सीमा नाका हुँदै गएको चिनियाँ स्याउ लोड भएको तीनवटा ट्रक नियन्त्रणमा लियाे । अन्य बेला पनि तस्करी हुँदै आएको भए पनि चिनियाँ स्याउ प्रकरणमा इन्स्पेक्टरसहित चारजना प्रहरी निलम्बनमा परे ।

हालै सरुवा भएका प्रदेश १ प्रहरी कार्यालय विराटनगरका डिआईजी अरुणकुमार बिसीले ‘तस्करी  सघाउमा प्रहरीको संलग्नता रहे तत्काल कारबाही गर्ने’  पत्रकार सम्मेलनमा जानकारी गराए । प्रदेश १ मा अपराधमा तस्करी ‘हटकेक’ रूपमा अगाडि आएको छ । । तस्करी सर्वत्र चासोको विषय बनेको छ ।

 विशेषगरी प्रदेश १ को झापा, मोरङ, सुनसरी, पाँचथर, इलाम, ताप्लेजुङमा भारतीय सीमा नाका पर्छ ।

यसमध्ये पनि सबैभन्दा बढी तराईका जिल्लाबाट तस्करी हुने गरेको छ । चिनियाँ स्याउ सुनसरीको लाैकही नाकाबाट प्रवेश गरेको बताइन्छ । डिआईजी बिसीले तस्करी नियन्त्रण गर्ने अभिव्यक्तिले नयाँ तरङ्ग पैदा भएको छ । डिआईजी बिसीले भने, ‘भारतसँग सीमा जोडिएका झापा, मोरङ र सुनसरी जिल्लामा बढी तस्करी हुने गरेको जनगुनासो आउने गरेको छ ।’

तस्करी नियन्त्रण सम्भव छ ?

विशेषगरी खुल्ला सीमाकै कारण पूर्णरूपमा तस्करी नियन्त्रण गर्न प्रहरी असक्षम हुँदै आएको छ । खुल्ला सीमाका कारण दुवै देशका नागरिक सहजै आवत–जावत गर्ने गरेका छन् । भारतसँग सीमा जोडिएका क्षेत्रका नेपालीहरू दैनिक उपभोग्य वस्तुदेखि व्यावसायिक प्रयोजनका सामग्री पनि भारतबाटै ल्याउने गरेका छन् ।

सीमावर्ती क्षेत्रका नइम मन्सुरीका अनुसार सीमावर्ती क्षेत्रका नागरिकहरू कृषि पेशामा बढी संलग्न छन् । कृषिको काम सकिने बित्तिकै बेरोजगार हुने हुँदा युवाहरू बढी अवैधानिक क्रियाकलापमा संलग्न हुने गरेको मन्सुरीको भनाइ छ । मन्सुरीले भने, ‘यहाँका युवाहरू कि ऋण काढेर वैदेशिक रोजगारमा जान्छन्, कि त घरमै बेरोजगार भएर बस्छन् । बेरोजगारका कारण बाध्य भएर अवैध क्रियाकलापमा संलग्न हुन्छन् ।’

सीमा क्षेत्रमा कपडा व्यापार गर्ने एक व्यवसायीले नाम उल्लेख नगर्ने शर्तमा भने, ‘तस्करी गराउनु हाम्रो रहर मात्रै हुँदै होइन, बाध्यता पनि हुन्छ । हामीलाई समाजले तस्करको ट्याग लगाइदिएको छ ।’ उनका अनुसार केही रहरले र केही बाध्यताले सीमा क्षेत्रमा तस्करी गराउने गरेको ती व्यक्ति बताउँछन् । 

डिआईजी बिसीको ‘तस्करी नियन्त्रण’ गर्ने भन्ने भनाइबाटै पनि सीमा क्षेत्रमा तस्करी हुने रहेछ भन्ने दरिलो प्रमाण हो । खुल्ला सीमाको फाइदा उठाउँदै झापा, मोरङ र सुनसरीका विभिन्न नाका हुँदै दिनहुँ तस्करी हुँदै आएको सीमावर्ती क्षेत्रका स्थानीय बताउँछन् । तस्करी रोक्नुभन्दा तस्करहरूसँग ‘बार्गेनिङ’ गर्न र कतिपय रुपैयाँ असुली गर्न सीमावर्ती क्षेत्रहरू छ्यापछ्याप्ती रूपमा विभिन्न ठाउँमा सिभिल प्रहरी भेटिने गरेको स्थानीयको आरोप छ ।

दैनिक, साप्ताहिक र मासिक रूपमा नजराना बुझाउने तस्करहरूलाई खुलेआम रूपमा सीमावर्ती क्षेत्रमा तैनाथ सुरक्षाकर्मीले सामान ल्याउन दिने गरेको ती व्यवसायी बताउँछन् । उनका अनुसार समयमा रकम नबुझाउनेको मात्रै सामान नियन्त्रण लिने गरेको छ । 

तस्करीसँगै लागूऔषध प्रमुख चुनौती

१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको पछिल्लो तीन वर्षको तथ्याङ्कअनुसार प्रदेश आपराधिक घटना, चोरी तस्करी, लागूऔषध कारोबारीको सङ्ख्या बढेको देखिन्छ ।

१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको तथ्याङ्कअनुसार २०७५ साल वैशाखदेखि चैतमसान्तसम्म विभिन्न मुद्दातर्फ ७ हजार ७ सय ८७ मुद्दा दर्ता भएकोमा ७ हजार ४ सय ६४ फछ्र्यौट भएका छन् । यसैगरी २०७६ सालको सोही अवधिमा ७ हजार ७ सय ६३ मुद्दा दर्ता भएकोमा ५ हजार ३ सय ४९ मात्रै फछ्र्यौट भएका छन् भने २ हजार ४ सय १४ फछ्र्यौट हुन बाँकी छन् । त्यसैगरी २०७७ सालको सोही अवधिमा ६ हजार ८ सय ७६ मुद्दा दर्ता भएकोमा २ हजार ६ सय ४४ फछ्र्यौट भयो देखिन्छ भने ४ हजार २ सय ३२ फछ्र्यौट हुन बाँकी छन् । 

प्रदेश १ मा भन्सार चोरी निकासीतर्फ २०७५ सालको वैशाखदेखि चैतमसान्तसम्म ७ करोड २२ लाख ६३ हजार ४ सय १७ रुपैयाँ बराबरको विभिन्न सामान बरामद गरिएकोमा २०७६ सालमा सोही अवधिमा १० करोड ६९ लाख ६१ हजार ४ सय ७५ रुपैयाँ बराबरको अवैध सरसामान बरामद गरिएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको तथ्याङ्कले देखाउँछ । यसैगरी २०७७ सालमा सोही अवधिमा १८ करोड ७९ लाख ८ हजार ६९ रुपैयाँ बराबरको सरसामान बरामद गरिएको देखिन्छ ।

त्यस्तै प्रदेश नम्बर १ मा लागूऔषध नियन्त्रणतर्फ २०७५ साल वैशाखदेखि चैतमसान्तसम्म २ सय ५ दशमलव ५४ किलोग्राम गाँजा, चरेस १५ सय ११ ग्राम, अफिम ३ हजार ३४ बोट, ब्राउन सुगर २८ सय ९५ ग्राम, विभिन्न मनोद्दिपक चक्की २७ हजार १ सय ७, विभिन्न मनोद्दिपक सुई २४ हजार ६ सय ३६ र अन्य विभिन्न मनोद्दिपक औषधि ७ सय ६५ बरामद गरिएका छन् ।

यसैगरी २०७६ सालमा सोही अवधिमा गाँजा ४ सय ४३ दशमलव १ सय ३३ किलोग्राम, चरेस १७ दशमलव ६२ ग्राम, अफिम १५ सय ग्राम, ब्राउन सुगर ३२ सय ९९ ग्राम, विभिन्न मनोद्दिपक चक्की १९ हजार ९ सय ६६, विभिन्न मनोद्दिपक सुई १५ हजार ४ सय ३७ र अन्य विभिन्न मनोद्दिपक औषधि ६ सय ९६ बरामद गरिएका छन् भने २०७७ सालमा सोही अवधिमा गाँजा १ हजार २ सय १३ दशमलव १ सय ९९ किलोग्राम, अफिम दुई सय ग्राम, ब्राउन सुगर ३४ सय ८८ ग्राम, विभिन्न मनोद्दिपक चक्की ५३ हजार १ सय ११, विभिन्न मनोद्दिपक सुई ७ हजार १ सय ४२ र अन्य विभिन्न मनोद्दिपक औषधि तीनहजार ८९ बरामद गरिएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

डिआईजी बिसीले भने, ‘अपराध अनुसन्धानमा पारदर्शी, निष्पक्ष भएर अपराध नियन्त्रणमा आफू लागिपर्छु । अपराधरहित समाज निर्माण गर्नु मुख्य उद्देश्य हो ।’ उनले प्रहरीलाई आर्थिक पारदर्शी कायम गराउन लागिपर्ने बताए ।