इटहरी। इटहरीकै अधिकांश सामुदायिक विद्यालयहरूमा विद्यार्थीको खडेरी छ । तर, इटहरीकै पुरानो जनता माध्यमिक विद्यालयमा भने विद्यार्थीको चाप थामी नसक्ने गरी बढेको छ ।

केही वर्ष अगाडिसम्म अङ्ग्रेजी माध्यम खोज्दै बोर्डिङ स्कुल जानेहरूको अहिले जनता मावि रोजाइ बन्न थालेको छ । इटहरीको पुरानो सामुदायिक विद्यालयको रूपमा रहेको जनता माध्यमिक विद्यालयले आफूलाई समयानुकूल परिवर्तन गर्दै आएपछि विद्यालयप्रति विद्यार्थीहरूको आर्कषण बढ्न थालेको छ ।

अहिले वर्षमा भर्ना खुल्दा मात्र हजारौं विद्यार्थीहरू आउने गरेको विद्यालय व्यवस्थापन समितिले जनाएको छ । जनता माध्यमिक विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पढाइ हुन थालेपछि अभिभावकहरू आफ्ना छोराछोरीलाई जनता माध्यमिक विद्यालयमा भर्ना गर्न तँछाड मछाड गर्छन् ।

अहिले वार्षिक लाखौं रुपैयाँ शुल्क तिरेर निजी विद्यालयमा छोराछोरी पढाइरहेका अभिभावकहरू सरकारी विद्यालयमा आफ्नो विद्यार्थी भर्ना गर्न सोर्स–फोर्स लगाउने गरेको विद्यालय व्यवस्थापन समितिले जनाएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काशीनाथ दङ्गाल भन्छन्, ‘विद्यालयमा प्रत्येक कक्षामा ७ जना विद्यार्थी माग गरेका थियौं, थामिनसक्नु विद्यार्थी आए ।’

१० दिन मात्र भर्ना खोल्दा ६ सय ३१ जना विद्यार्थीहरूले फारम भरेको अध्यक्ष दङ्गालले बताए । ‘विद्यालयमा पर्याप्त कक्षा कोठा नहुँदा धेरै विद्यार्थी पढाउन सक्ने अवस्था छैन’–उनी भन्छन् । 

हाल विद्यालयमा २ हजार ३ सय ९५ विद्यार्थी छन् । ‘१२ कोठे भवन धमाधम निर्माण भइरहेको छ । २ वर्षभित्र ५ हजार विद्यार्थी हुन्छन्’–उनी भन्छन् । सबै विद्यार्थीहरू बोर्डिङबाट आउने गरेको उनको भनाइ छ । ‘भवन अभावको कारण विद्यार्थीहरू भर्ना लिन सकिएको छैन, केही वर्षभित्र भवनको व्यवस्थापन पनि भइहाल्छ’–उनले भने ।

आधुनिक शिक्षा प्रणाली अन्तर्गत अघिबढिरहेको विद्यालयले ४८ कोठाको पक्की भवन निर्माण गरी पठन–पाठन गराइरहेको छ । सामुदायिक विद्यालयहरूमध्ये नमुना विद्यालय बनाउने सङ्कल्पका साथ अघि बढिरहेको विद्यालयले एउटा स्कुल बसको व्यवस्था गरी सबै कक्षामा अध्ययनरत विद्यार्थीलाई विभिन्न स्थानहरूमा शैक्षिक भ्रमणसमेत गराउने गरेको छ । विद्यार्थीलाई व्यावहारिक विषयगत ज्ञान दिलाउन विद्यालयले इटहरीमै पहिलो मोबाइल क्लाससमेत सञ्चालन गरिरहेको छ ।

विद्यालयले ५० थान कम्प्युटर र १० थान ल्यापटपको मद्दतले विद्यार्थीहरूलाई कम्प्युटर शिक्षा दिनुका साथै ७ थान इन्टरेक्टिभ बोर्ड, १० थान प्रोजेक्टरको सहयोगमा वैज्ञानिक शिक्षामा जोड दिइरहेको छ । अङ्ग्रेजी माध्यमबाट कक्षा नर्सरीदेखि ११ सम्म सञ्चालन भइरहेको जनता माविमा शिक्षक कर्मचारीको सङ्ख्या ३८ बाट बढाएर ८५ जना पु¥याइएको छ ।

विद्यालयका शिक्षक शिवराज दाहाल भन्छन्, ‘विद्यार्थीहरूलाई राम्ररी पढाए सरकारीमा विद्यार्थी आउँछन् भन्ने उदाहरण हो । हामी विद्यार्थीलाई घोकन्ते विद्या मात्र नभई व्यावहारिक शिक्षासमेत दिन्छौं’–शिक्षक दाहाल भन्छन् । 

देशकै नमुना सामुदायिक विद्यालय बन्ने अभियान अन्तर्गत विद्यालयले अर्को शैक्षिक सत्रमा कक्षा ११ देखि विज्ञान सङ्काय र प्राविधिक धारतर्फ सिभिल इञ्जिनियरिङको कक्षा सञ्चालन गर्ने योजनाका साथ तयारी सुरु गरेको विद्यालय व्यवस्थापन समितिले जनाएको छ ।