बुइँपा बसेरीका ढुंगाना धामी असाध्यै जान्ने थिए । ८५ वर्षको उमेरसम्ममा पनि उनी चार फुटमाथि उफ्रेर धामी बस्थे । पलेंटी कसेर बसेका उनको पलेंटी खुस्कँदैनथ्यो । ढुंगाना जान्ने मात्र होइन रौसे पनि थिए । बुढ्यौलीमा पनि उल्लिन छाड्दैनथे । गानो, गोला चट पार्ने मन्त्र हाने पछि फरक नखाने । जाडामा ओदान अघि बसेका बेला पनि फुक्न आउने मान्छे टुट्दैनथे ।  कोही केटी, आइमाइले फुक्न बोलाए भने– ‘कस्ती छस् ? राम्री छस् भने भित्रै आइज, नभए बाहिरै आएँ,’ भन्थे । जिस्किन जान्ने, सीपालु ।

जान्ने धामीका अघिपछि धुपौरे भइहाल्छन् । धुपौरे नभई ढुंगाना डेग नचल्ने । धामी बस्दा धुपौरे एउटै हुनुपर्छ । अरु कसैले हालेको धूप पनि चल्दैन । धामीको वाक्य, कैरन सबै बुझ्नु पर्छ धुपौरेले । धामीको आँखा सन्काइ, यसो गर्, उसो गर्, सबै र्याङको ठ्याङ मिलाउनु पर्छ । 

धामी ढुंगानाका धुपौरे पनि नातामा ज्वाइँ पर्ने । ‘लौन जेठान आज त जोडसँग मासु खाने रहर जाग्यो ।’ ज्वाइँ धुपौरेले गानैबाट रहर पोखे । ‘लौ रात– साँझसम्म त कसो जुक्ति नलाग्ला ।’ धामीले आँखा सन्काएर ओठ मुठारे । धुपौरे एक अँगालो आश्वासन लिएर घुँडा बाहिरबाट पाखुरा कसी पिंढीमा बस्यो । 

ढुंगाना धामी उहिल्यै जमान छँदा दिल्लीतिर बरालिएका कथा सुन्दैथ्यो धुपौरे । बिहारतिर बस्दा बिहारीलाई मुक्काले हानेर बङ्लङ्गै ढालेको कथा सुन्दैथ्यो धुपौरे । बेलाबेला ढुंगाना धामी कड्केर बोल्थ्यो । ‘हँ कि कसो ज्वाइँ ?’ ‘हो, जेठान ।’ तोडले ताली ठोकेर धुपौरे हिर्दय चम्काउँथ्यो । बेलाबेला ढुंगानाका कुराले खित्का छाडेर आन्द्रा भुँडीदेखि नै हाँस्थ्यो । घरघरी ढुंगानाले उजिल्याउँदा ट्वाँ पथ्र्यो । पात्लेका पातमा काँचो सुर्ती बेरेर जेठानलाई पहिले दिन्थ्यो र आफू अर्को बनाएर सर्को लाउँथ्यो ।

मध्यदिनको घाम बुइँगल नाघेर पश्चिम जाँदै थियो । तल बारीका पाटादेखि उँधो मान्छे वस्तु– बाख्रालाई पानी खुवाउँदै थिए । बाघे ढुंगो खाली थियो ।

बाघे ढुंगो बाघले घाम ताप्ने ठाउँ थियो । आहारा खोज्दै आएको बाघ ढुंगोमाथि आएर सुस्ताउँथ्यो । गाउँलेले ढुंगोको नाम बाघे ढुंगो राखिदिएका थिए । गाउँले ढुंगो देख्दै तर्सिन्थे । एक दिन ढुंगोमा आएर बाघ बस्यो । बाटा वारि, बाटा पारि बीचमा ढुंगो । वारिपारि जाने गाउँले यताको यतै उताको उतै अड्किए । तर्सिएका गाउँलेले ढुंगानालाई बोलाउन पठाए । बाबैले कुन्नी के गरे, बाख्राको पाठो टपक्क टिपेर बाघको ढाडमाथि फुत्त फालिदिएका थिए । बाघ तर्सेर बेतोडले भागेको थियो । त्यही बेलादेखि त्यो ढुंगामा बाघ आउन छाड्यो । गाउँले त्यो बाटो आनन्दले हिंड्न थाले ।

पिंढीमा बसेको धुपौरे आँखा चम्काउँदै थियो । एउटी अधबैंसे आइमाइ ‘मरें नि लौ न ढुंगाना बा’ भन्दै आई । बाबैले धुपौरेतिर हेरेर पापी मुस्कान मुस्कुराए । ‘जाउ, भित्रबाट खरानी लेरा आऊ’ बाबैले धुपौरेलाई अह्राए । एक चिम्टी खरानी लिएर धुपौरेले भुइँमा राखिदियो । 

ढुंगानाबा फुक्न थाले । हम्म्म्म्म्म्म्म् ...... साइसुइ फाइफुइ पारे । ‘लु नानी हेर् यतिले हुन्न । साँझ चिन्ता बस्नु परो । एक जोर परेवा ठीक गर् ।’ बाको विद्या झुठो थिएन । तर आज धुपौरे ज्वाइँलाई एक जोर परेवाको झोल खुवाउने विचार गरे । सन्चो भएजस्तो गरी आइमाइ ‘हस् बा’ गर्दै बाटो लागी । 

ढुंगानाबाले धुपौरेलाई पाठविद्या सिकाए । ‘मध्यरातमा बेंसीका यसका घरमा पछाडिका ठूलो चाहिं केराको बोट एकै पल्टमा छप्ल्याक्क पारेस् । पूर्वपट्टी फर्काएर लडाइदिएस्, अनि तुरुन्त दौडेर चिन्ता बसेका ठाउँमा आएस् । 

धुपौरेले वचन भुइँमा खस्न दिएन । ‘लु जेठान लागें, मेलोमेसो पनि गर्छु । गाईगोठ पनि गर्छु ।’ धुपौरे बेंसी झर्यो । 

मध्यरातमा ढुंगाना धामी चिन्ता बस्न लागे । ढोलढ्याङ्ग्रो, गजो, चमर सबै बोके । 

चिन्ता बस्ने घरमा सबै चाँजोपाँजो मिलाएका थिए । जोखाना हेर्न टाढाटाढाबाट मान्छे आउँथे । ढुंगाना धामी चिन्ता बस्ने भनेपछि गाउँमा जाग्राम हुन्थ्यो । धामी बस्दै, बिसाउँदै बीचबीचमा पुराना कुरा ल्याउँथे । ट्रेन चढेका कुरा, जोगबनी, फारबिसगञ्ज, पटना, छप्रा, मोतीहारीका कुरा ल्याउँथे । बुढाका दिल्ली– बिहारतिरका कुरा सुन्न गाउँका केटाकेटी भेला हुन्थे । तरुनी केटीलाई घोचेर भन्थे । अल्लारे केटा खित्का छाड्थे । ढुंगाना बाबैको चिन्तामा आनन्द आउँथ्यो । बुढा आज पनि चिन्ता बस्न लागे । धुपौरे टुप्लुक्कियो । धूपसुप गर्यो । 

ढुंगाना उसैगरी फुकफाक गर्दै, कैरन ल्याउँदै, बिसाउँदै, गफ हान्दै अघि बढे । ढुंगाना बुरुक्बुरुक् उफ्रेर धामी बस्थे । केटाकेटी सशंकित हुन्थे । ढुंगानाले बिरामी आइमाइलाई लडाए । नाइटानेरी कप्लक्क दारे । सेतोसेतो के जाति निकालेर भुइँमा थुके । काम्दै काम्दै ढुंगाना भक्लक्क लड्न लागे । धुपौरेले पछाडिबाट समायो । एकछिन पछि ढुंगाना खडा भए । गाउँलेका जोखाना हेरे । कसोकसो गरे । बिहान भाले बास्यो । ढुंगानाले दुम्सीको काँडोमा फुमन्तर गरे । सबैलाई देखाउँदै पूर्वतिर काँड हाने । 

‘तल बेंसीमा बान हानेको छु पूर्वपट्टी केराको बोट छप्लक्कै भाको छ भने रोग निको भो । होइन रछ, ढलेन छ भने चाहिं म भन्न सक्तिनँ ।’ एकै सासमा ढुंगानाले कुरो राखे । गाउँले मुखामुख गरे । 

‘भनेजस्तो भयो भने ढुंगाना जान्ने / नभए त उही हो ।’ भन्दै गाउँले बेंसी झरे । 

नभन्दै केराको बोट त छप्लक्कै छ ।

‘ओहो, ढुंगाना बाबै सारो जान्ने । हैट, चट्टै पार्छ है यो बाहुनले ।’ गाउँलेले ढुंगाना धामीको प्रशंसा गरे ।

‘अब यो घरकाले खान हुन्न ... ।’

धुपौरेले अघि नै धूप हाल्ने बेला नै एकजोर परेवाका टाउका काटेर जिउ चाहिं दाहिने थैलोमा हालिसकेको थियो ।