उनी कहाँबाट आएकी हुन्, उनको नाम के हो ? कसैलाई थाहा छ्रैन । तर सबैले उनलाई माया गर्छन् । कसैको केही बिगार पनि नगर्ने, कसैले दिए खाने नदिए नखाने । आफ्नै लयमा रमाइरहने उनी गाउँलेकी प्यारी बनेकी छन् ।

अधबैंसे उमेरकी उनी बाल सुलभ ढंगमा यताउती हिंडिरहने उनको निर्दोष व्यवहारबाट खुशी भएर गाउँलेले उनको नाम छुनुमनु राखिदिएका छन् । बिहान, बेलुका, राति प्रायः हिंडिरहने छुनुमुनु कहिले यता कहिले उता, यो गाउँ, त्यो टोल भौतारी रहने उनको कुनै स्थायी बसोबास छैन । 

गाउँलेले खाना दिए खाने नभए नमाग्ने, कसैले बस्न दिए बस्ने नत्र हिंडिहाल्ने, कसैसँग कुनै फटाही नगर्ने, एवम् रितले उनको दिन बितिरहेको छ । चतरा आउने जोसुकैले उनलाई वडा नम्बर १ को चतरा बजारदेखि वडा नं. २ को हाटखोला, बयरबन, पुनरवास, रेलवेलाइन, तेह्र आरडी र जब्दीतिर सजिलै देख्न सक्छन् ।

छुनुमुनु झण्डै २० वर्ष अघि गाउँमा आएकी हुन सक्ने स्थानीय विमल राई बताउँछन् । उनी आएको लामो समय बितिसक्दा समेत उनको दैनिकी निरस र एकहोरो छ । 

Chhunumunu_Chatara1

शुरुमा आउँदा उनी शारिरीक रुपमा समेत सुन्दर थिइन् । हाल उनमा उमेरको प्रभाव परेको प्रष्ट देखिन्छ । ‘उमेरमा उनले आफूलाई सुरक्षित राख्न संघर्ष गर्नु पर्यो, दिउँसोको समयमा त उनलाई यो समाजले संरक्षण गर्यो,’ स्थानीय समाजसेवी विमल राई भन्छन्, ‘रात र एकान्तमा यही समाजका उच्छुङ्खल तत्वहरुबाट पनि चुनौती खेप्नु पर्यो ।’ 

उनी पनि कसैको परिवारको प्रिय सदस्य होलिन्, गाउँ ठेगाना, जात, धर्म केही थाहा नभए पनि हुन त आखिर मानिस नै हुन् उनी पनि । त्यसैले गाउँलेले उनलाई आफ्नै परिवारको जस्तो माया गरेर राखेको हाटखोला बजारका स्थानीय बताउँछन् । 

‘हामीले उनलाई सकेसम्म सहयोग गरेका छौं, गाउँमा रहँदा धेरै हदसम्म उनी सुरक्षित भए पनि अन्यत्र गएको खण्डमा के हुने थाहा थाहाँ हुँदैन, हामीलाई चासो र चिन्ता लागिरहन्छ ।’ समाजसेवी राई भन्छन् ।

कति सम्म भने, एक्लो देखेर उनलाई केही उदण्डले दुर्व्यवहारको प्रयास गरेको स्थानीय एक महिलाले बताइन् । धेरै समय अगाडि साविक वराहक्षेत्रमा यस्तै सडक आश्रित महिलाले बलात्कृत हुन पुगेको  र उनले बच्चालाई समेत जन्म दिएको घटना सुनाइन् ।

‘हामीले उनलाई सुरक्षा दियौं, नाम दियौं, खाना दियौं, तर उनको स्थायी बास वा संरक्षण भएदेखि  ढुक्क हुनेथ्यौं ।’ हाटखोलाकी स्थानीय सरिता राईले भनिन्, ‘हामीले कति समयसम्म उनलाई सहयोग गर्न सक्छौ र ? मानसिक रुपमा केही अस्वस्थ जस्तो देखिने उनलाई वैचारिक विकृति भएकासँग बचाउन पनि चुनौती छ, पहरा गरेर पनि साध्य हुँदैन ।’

उनलाई मानवीय शरणको आवश्यक्ता छ । प्राकृतिक घामपानी, गर्मी जाडोलाई छल्ने स्थायी छानो उनको आवश्यक्ता हो । स्थानीयले छुनुमुनुको कथा लेखिदिन ब्लाष्टकर्मीलाई आग्रह गरे । उनको यथार्थता र आवश्यक्ताबारे लेखिदिन र कुनै सामाजिक  संघसंस्था भए आश्रय दिने व्यवस्था मिलाइदिन अनुरोध गरे । 

‘छुनुमुनुलाई स्थायी आश्रय दिनसके बाँकी उमेर सुरक्षित र सरल हुने थियो ।’ स्थानीय अगुवा महिला गंगा राईले भनिन् ।