धरान/ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीहरूले प्रतिष्ठानको सेवामा सुधार भइरहेको दाबी गरेका छन् ।

प्रतिष्ठानले २०७६ चैतदेखि हालसम्मका संक्षिप्त कार्य प्रगति प्रतिवेदन सार्वजनिक गर्दै पदाधिकारीले प्रतिष्ठानमा सुधारका कार्य भइरहेको दाबी गरेका हुन् ।

बुधबार पत्रकारहरूसँग छलफलका क्रममा प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीले आफू नियुक्त भएयता सुधारका काम गरिरहेको दाबी गरे । प्रतिष्ठानका विभिन्न सामान खरिदमा अनियमितता भएको, कालोसूचीमा राख्नुपर्नेलाई उल्टै ठेक्का दिएको र त्यसमा उपकुलपतिको समेत संलग्नता रहेको भन्ने समाचारहरू बारम्बार सार्वजनिक हुन थालेपछि उपकुलपति गिरीसहित पदाधिकारीहरूले सुधार भइरहेको दाबी गर्दै प्रगति प्रतिवेदन सार्वजनिक गरेका हुन् ।

उपकुलपति गिरीले आफ्नो कार्यकालमा नेपालमै पहिलोपटक सय बेडको कोभिड अस्पताल सञ्चालनमा ल्याएको, अक्सिजन मनिफोल्ड पाइपलाइन जडान गरिएको, १५ वटा आइसियु बेड, २५ वटा एचडियु बेड, ६० वटा आउटलेटबाट सिधै अक्सिजन पाइपलाइन जडित जेनेरल बेडहरू र २ वटा पोर्टेबलसहित १२ वटा भेण्टिलेटर सञ्चालनमा ल्याएको दाबी गरेका छन् ।

त्यस्तै १० वटा नन्इन्भेसिभ भेण्टिलेटर, ५ वटा हाईफ्लो नसल क्यानुला सुचारु अवस्थामा रहेको, कोभिड बिरामीका लागि छुट्टै एक्स–रे, भिडियो एक्स–रेका साथै अपरेसनका लागि छुट्टै एनेस्थेसिया वर्क स्टेशनको व्यवस्था गरिएको लगायतका कुरा प्रतिवेदनमा उल्लेख छ । 

त्यस्तै अक्सिजन पाइपलाइनसहितको थप ३५ वटा नर्मल तथा २ वटा एचडियु बेड निर्माण गर्ने योजनासहित कार्य अगाडि बढाई सञ्चालन हुने अवस्थामा पुगेको दाबी गरिएको छ ।

त्यसैगरी प्रतिष्ठानका ल्यावमा रहेका पुराना उपकरणहरू अत्याधुनिक प्रविधिमा आधारित अटोएनालाइजर उपकरणहरूबाट प्रतिस्थापन गर्न लागिएको, एक महिनाभित्र नयाँ सिटीस्क्यान मेसिन जडान गरिने, एमआरआई मेसिन ल्याउन प्रक्रिया सुरु गरिएको, अन्य उपकरणहरूमा आवश्यक मर्मत सुधार गरी सञ्चालनमा ल्याइएको प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै अप्रेसन थिएटरमा उपकरणहरूको स्तरोन्नति र डायलाइसिस तथा आइसियु सेवा विस्तारका लागि काम भइरहेको दाबी गरिएको छ ।

चार सय शøयाको एमसिएच भवनको स्ट्रक्चर निर्माण पूरा भई फिनिसिङ कार्य भइरहेको, कार्डियोलोजी तथा अङ्कोलोजी भवन निर्माण कार्य सुचारु गर्न बजेटको पहल गरिएको उल्लेख छ । प्रतिष्ठानले फार्मेसी सेवा सुचारु गरिसकेको र छुट्टै फार्मेसी भवन निर्माण कार्यसमेत ८० प्रतिशत सम्पन्न भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रतिष्ठानमा नयाँ शैक्षिक कार्यक्रम सञ्चालनका लागि प्रक्रिया अगाडि बढाएको र पूर्ण चिकित्सा विश्वविद्यालयमा रूपान्तरण गर्न ऐनको मस्यौदा खाका तयार गर्ने कार्य सुरुवात गरिएको जनाइएको छ । प्रतिष्ठानले प्रशासनतर्फ पनि सुधारका लागि नियमावली संशोधन गर्न मस्यौदा लेखन कार्य भइरहेको उल्लेख गरिएको छ ।

अस्पताल सेवाबाट हुने चुहावट रोक्न, खरिद प्रक्रियालाई व्यवस्थित बनाउन, खानेपानी, विद्युत्मा सुधार गर्नका लागि पनि काम भइरहेको दाबी गरिएको छ । 

छलफलका  क्रममा उपकुलपति गिरीले खरिदको प्रतिस्पर्धामा कहिलेकाहीँ कानूनी अड्चन आउने गरेको र त्यही कारणले एक–दुईवटा ठेक्का रद्द भएको बताए । उनले आफू नियुक्त भएको १४ महिना भएकाले त्यसअघिको अनियमितता आफूलाई थाहा नभएको बताउँदै आफूले गरेको कामको महालेखाले प्रतिवेदन सार्वजनिक गरिनसकेकाले अनियमितता भन्न नमिल्ने दाबी गरे ।

छलफलमा प्रतिष्ठानका अस्पताल निर्देशक डा.गौरीशङ्कर साहले पनि प्रतिष्ठानका विषयमा पछिल्लो समय सार्वजनिक भएका कुराहरू प्रतिष्ठानभित्रैबाट फैलाइएको दाबी गरे । उनले भने, ‘१४ महिनामा सबै समस्या समाधान गर्न सकिँदैन, त्यसका लागि २ वर्ष चाहिन्छ ।’

प्रतिष्ठानका शिक्षाध्यक्ष डा.गुरु खनालले बीपीको स्वास्थ्य सेवा, अनुसन्धान र जनशक्ति उत्पादन राम्रो भए पनि अन्य राजनीतिक विवादले राम्रा कुरा ओझेलमा परेको बताए । उनले भने, ‘सबैलाई एउटै बास्केटमा हालेर हेर्न मिल्दैन, यहाँ राम्रा कुरा पनि धेरै छन् । सबै मिलेर सुधार गर्नु पर्छ ।’